|

उदयपुर : सप्तकोसीमा जेटबोट सञ्चालनमा आएपछि अन्तरिक पर्यटक बढ्दै गएका छन्। जेटबोट सञ्चालनसँगै आन्तरिक र बाह्य पर्यटकको संख्या बढेका छन्। प्रदेश १ कै धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको क्षेत्रमध्ये बराहक्षेत्र पनि एक हो। त्यही बराहा क्षेत्र जाने धार्मिक पर्यटक जेटबोट सञ्चालनमा आएपछि बढेको बेलका नगरपालिका–७ का अध्यक्ष सुरेन्द्र राईले बताए।

मैनामैनी, कोसीटप्पु वन्यजन्तु आरक्ष, बराहा क्षेत्रलगायतका स्थानमा वनभोजदेखि घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको हो। रमाइला दृश्यहरुको अवलोकनका साथै जलयात्राको अनुभव गर्ने उद्देश्यले आउने पर्यटकहरु बढ्दै गएको नेपाल कम्युनिष्ट पार्टी नेकपा बेलका नगर समितिका नेता रमण भट्टराईले बताए। ‘आन्तरिक र बाह्य पर्यटकको संख्या बढेको छ,’ उनले भने, ‘पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्यटकीय महोत्सवको समेत आयोजना भइरहेको छ।’

अहिले दैनिक करिब एक हजारको संख्यामा पर्यटक जेटबोबाट आवतजावत गर्दै आइरहेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए। उनले भने, ‘अरुण, तमोर र दुधकोसीको संगम त्रिवेणीको मनोरम दृश्यावलोकनका लागि जल यातायात मार्फत घुम्ने पर्यटकको संख्या दिनहुँ बढिरहेका छन्।’

पर्यटकलाई जल यातायातमार्फत घुमाएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको उनले बताए। उनले भने, ‘पर्यटन विकासको पूर्वाधारका रुपमा सप्तकोसी नदीको जल यात्रालाई महत्त्व दिएका छौं।’

उदयपुर र सुनसरीको सिमाना भएर बग्ने सप्तकोसी नदीमा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको समन्वयमा स्थानीय युवाहरुले वरुण वाटरवेज प्रालि र नेपाल रिभर ट्रान्सपोर्ट प्रालि नामको कम्पनी दर्ता गरी जेटबोट सञ्चालनमा ल्याइएका छन्। करिब छ करोड रुपैयाँको लगानीमा कम्पनीले भारतको पुनाबाट जेट ल्याएर ल्याएको चालक चन्द्रबहादुर राईले बताए। ‘जेटबोटले दुईवटा काम गर्दै आएको छ,’ उनले भने, ‘आन्तिरिक पर्यटकको संख्या बढाउँदै लगएको छ भने कोसी किनारमा रहेकालाई यातयातको सेवा समेत दिएको छ।’

लोकप्रिय हुँदै जलयात्रा

सडकको बाटोबाट समय र इन्धन बढी लाग्ने भएपछि भोजपुरको उत्तरपश्चिमी क्षेत्रका वासिन्दाको रोजाइमा जेटबोट परेको छ। त्यसैले उनीहरुले यात्रा गर्नदेखि ढुवानी पनि जेटबोटबाट गर्दै आएका छन्। जेटबोटबाट मोटरसाइकल बोकाएर जाँदै गरेका तेजेन्द्र राईले भने, ‘विराटनगरबाट आएको गाडीको बाटोबाट जाँदा सुनसरी, धनकुटा हुँदै घर पुग्दा झण्डै एक हजारको पेट्रोल लाग्छ, जेटबोटबाट मात्र ७००  रुपैयाँ भए पुगिन्छ।’

जेटबोट सञ्चालनमा आएपछि कोसी किनारका स्थानीले राहात पाएका छन्। बर्खाको चार महिना नदीमा पानीको बहाव बढेपछि बन्द भएको जेटबोट पानीको बहाव घटेसँगै सञ्चालनमा आएको छ।

कहाँ कहाँ पुग्न सकिन्छ ?

उदयपुर, सुनसरी, धनकुटा हुँदै भोजपुरको त्रिवेणी स्थल सिम्लेसम्मको १६ किलोमिटर जल यात्रा गर्न सकिन्छ। उक्त दूरी पार गर्न झण्डै २० मिनेट लाग्छ। एउटा जेटबोटले २० जना बोक्छ।

यस क्षेत्रमा अहिले दुई वटा जेटबोट सञ्चालनमा छन्। सवारी साधनबाट ४५ मिनेटको समय लाग्ने चतारा बराहाक्षेत्रसम्मको यात्रामा जेटबोटबाट तीन मिनेट २५ सेकेण्डमा पुग्न सकिने भएको छ। तर, जेटबोटको भाडा महँगो भएको सर्वसाधरणको गुनासो छ।

जलयात्राको सम्भावना

सुनकोसीको दोलालघाट र संखुवासभाको तुम्लिङटारसम्म जेटबोटबाट जल यातायात सञ्चालन गर्न सकिने सञ्चालक राई.बताउँछन्। ‘सप्तकोसी नदीको बीच बीचमा रहेका ठूलठूला ढुङ्गाले अवरोध गर्न सक्छ,’ उनले भने, ‘सरकारले लगानी गरी नदीका बीचमा रहेका ठूला ढुंगा पन्छाएर बाटो खोलिदिए एक घन्टामा तुम्लिङटार र दुई घण्टामा दोलालघाटसम्म सहजै पुग्न सकिन्छ।’

व्यावसायिकरुपले सप्तकोसी नदीमा पहिलो पटक सञ्चलनमा ल्याइएको जेटबोट चढ्न उल्लेख्यरुपमा यात्रुहरु आउने गरेका छन्। जेटबोट सञ्चालनबाट दैनिक २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको सञ्चालकहरुले बताए। जेटबोट सञ्चालनसँगै कोसी किनारामा बिश्राम कक्ष, होटेल खुल्न पनि थालेको स्थानीय युवा ज्ञानदीप राईले बताए। ‘जलयातायात सुरु भएसँगै यस क्षेत्रको आर्थिक गतिविधि समेत बृद्धि भएको छ,’ उनले भने, ‘स्थानीय यसलाई संघीय सरकार र प्रदेश सरकारले दिगो व्यवस्थापनको लागि ध्यान दिनु पर्‍यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.