|

काठमाडौं : नेपाली कांग्रेसको आइतबार राती बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको म्याद थप गरेपछि संस्थापन र इतर समूहका नेताबीच किचलो बढेको छ। संस्थापन समूहले इतर समूहका नेताहरूले असहमति जनाउँदा जनाउँदै नेविसंघमा दुई महिना म्याद थप गर्ने निर्णय गरेसँगै नेताहरूबीच किचलो भएको हो। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसीलगायतले निर्णयका विषयमा फरक मत राखेका छन्। आइतबारको बैठकमा सहभागी नभएका महामन्त्री डा. शशांक कोइरालाले पनि यो निर्णयमा असहमति जनाउँदै आएका छन्। संस्थापन समूहको निर्णयमा असहमति जनाउने इतर समूहका नेताबीचमा पनि एक मत भने छैन। पौडेल समूह तदर्थ समिति गठन गर्ने पक्षमा छ भने सिटौला र केसी समूह दुई महिना अपुग हुने भन्दै छ महिना म्याद थप गर्नुपर्ने पक्षमा छन्। यद्यपि, बैठकपछि भने उनीहरू सभापति शेरबहादुर देउवाविरुद्ध एक छन्। 

संस्थापनको यो निर्णयसँगै वरिष्ठ नेता पौडेलले संस्थापनइतर समूहका नेविसंघ पदाधिकारीलाई राजीनामा दिन दबाब दिन सुरु गरेका छन्। आफू निकटका केही पदाधिकारीलाई पौडेल र नेता नवीन्द्रराज जोशीले राजीनामा दिन दबाब दिएको एक पदाधिकारीले थाहाखबरलाई जानकारी दिए। पौडल नेविसंघको यो समितिलाई भंग गर्न चाहन्छन्।

उनी नेविसंघमा कमजोर भएका कारण तदर्थ समिति गठन गरेर आफू अस्तित्वमा आउन चाहन्छन्। यसका लागि उनले शनिबार र आइतबार बोलाइएको केन्द्रीय समिति बैठकअघि पनि अन्तिमसम्म उनले नेविसंघ विघटन गरेर तदर्थ समिति गठन गर्न हदैसम्मको लविङ गरे तर उनी सफल भएनन्।

पौडेल नेविसंघमा तदर्थ समिति बनाउँदै नेविसंघको ११ महाधिवेशनमा अध्यक्षमा पराजित मनोजमणि आचार्यलाई संयोजक बनाउन चाहन्थे। यदि संयोजक नपाए उनले दीपक भट्टराई र हिमालदत्त श्रेष्ठमध्ये एक जनालाई महामन्त्री बनाउने तयारी गरिरहेका थिए। 

तर उनको पक्षमा पार्टी केन्द्रीय समितिबाट निर्णय नभएपछि उनी तनावमा छन्। विकल्पका लागि उनले आफू निकटका पदाधिकारीलाई राजीनामा दिएर अध्यक्षमाथि नैतिक दबाब दिने तयारी गर्न सुरु गरेको नेविसंघ संस्थापनइतर समूहका एक पदाधिकारीले बताए। यसका लागि उनले आफू निकट केही पदाधिकारीलाई बोलाएर राजीनामा दिन दबाब दिइसकेका छन्। 

दुई महिनामा महाधिवेशन हुन नसक्ने भन्दै संस्थापनइतरका युवा नेताहरू पनि केही निर्णय गर्नका लागि लागिपरेको स्रोतले बतायो। ‘गगन थापा, नवीन्द्रराज जोशी र प्रदीप पौडेल अब विकल्प के हुन्छ भनेर खोजी गरिरहनु भएको छ’, एक विद्यार्थी नेताले भने, ‘अहिले शीर्ष नेता राजधानीबाहिर भएकाले निर्णय आउन सकेको छैन।’ 

तर नेविसंघका अध्यक्ष नैनसिंह महरले भने केन्द्रीय समितिभन्दा बाहिर रहेका नेताहरूले धम्की मात्र दिएको बताए। ‘संगठनको समितिभन्दा बाहिर रहेकाले अवसरका लागि राजीनामाको हल्ला गरेका हुन्’, उनले भने, ‘तपाईंहरूले पनि धेरै नकारात्मक समाचार नलेखिदिनुस्। केन्द्रीय समितिका सबै साथीहरू महाधिवेशनका लागि लागिपर्नुभएको छ।’

अध्यक्ष महर पार्टीले म्याद थप्ने निर्णय गरेपछि बैठक बोलाउनुको सट्टा सदूरपश्चिम प्रदेश गएको भन्दै पार्टीभित्र आलोचना भइरहेको छ तर महरले भने फर्कनेबित्तिकै नेविसंघको बैठक बोलाउने बताउँछन्। ‘दुई महिना म्याद थप्ने निर्णय अवैज्ञानिक भए पनि महाधिवेशन गरेर देखाउनुपर्छ’, उनले भने, ‘यो आपतकालीन अवस्था हो। म काठमाडौं आएपछि पदाधिकारी वा केन्द्रीय समितिकै आपतकालीन बैठक डाक्छु।’

स्रोतका अनुसार अध्यक्ष महरले केन्द्रीय समिति बैठकलगत्तै सभापति देउवा र उपसभापति विमलेन्द्र निधिलाई भेटर दुई महिनामा महाधिवेशन गर्न नसक्ने बताएका थिए। सभापति देउवाले उनलाई २०-२५ जिल्लाको अधिवेशन गर्न र त्यसपछि फेरि म्याद थप्ने आश्वासन दिएका थिए। 

संस्थापनइतर समूहले भने नेविसंघको महाधिवेशन दुई महिनामा कुनै हालतमा हुन नसक्ने बताएको छ। सभापति देउवा समूहले महासमिति बैठकमा नेविसंघको विषयलाई लिएर हुन सक्ने घेराबन्दी टार्नका लागि यो निर्णय गरेको बताउँदै आएको छ। 

सिटौला समूहका महामन्त्री कुन्दनराज काफ्ले भने राजीनामाको तयारीमा रहेको उनी निकट स्रोतले बताएको छ। पार्टीले आफूहरूलाई अक्षम देखाउन यस्तो निर्णय गरेको भन्दै राजीनामा या समानान्तर समिति दुईमध्ये एक गर्ने गरी तयारी थालेको बताइएको छ। ‘दुई महिनामा महाधिवेशन गर्न सकिँदैन। पार्टीले हामीलाई अक्षमको तक्मा भिराउन खोज्यो’, महामन्त्री काफ्लेले भने, ‘अहिले नै यही गर्छु भन्ने त छैन तर साथीहरूसँग छलफल गर्दै छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.