|

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रियामा नअल्झिइ विकास निर्माणका कामलाई तीव्रता दिन निर्देशन दिए। 

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाका बारेमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समीक्षा बैठकमा उनले मन्त्री र सचिवलाई काममा केन्द्रित हुन र जवाफदेही हुन निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने, काम नगर्ने तर प्रतिवेदन मात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभूति नगर्ने भएकाले परिणाम देखिने गरी काम गर्न निर्देशन दिए। तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समीक्षा नभई कार्यान्वयनको अवस्थाको जानकारीका लागि भएको बताउँदै उनले वर्तमान सरकार गहन जिम्मेवारीसहित सफल हुनैपर्ने भएकाले त्यसैअनुसार काम गर्न सबैमा आग्रह गरे। 

'यो बैठक परिकल्पनाको समीक्षा होइन। सरकारका नीति, कार्यक्रम र बजेटको हालसम्मको कार्यान्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो', प्रधानमन्त्री ओलीले भने, 'मन्त्रालय केही न केही रचनात्मक हुन खोजेका छन्। कार्यान्वयनको राम्रै शुरुवात भएको छ। तर यसलाई तीव्रता दिनु पर्दछ।' 

प्रधानमन्त्री ओलीले सफल हुनका लागि सबै अवयवलाई चुस्त बनाउनु पर्ने र हरेक कुराको परिणाम देखिनु पर्नेमा जोड दिँदै अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिवलाई निर्देशन पनि दिए। सरकारले मितव्ययी नीति लिएकाले हरेक कुरा कम खर्चमा सम्पन्न गर्नु जरुरी रहेको पनि उनले बताए। 

आजको समीक्षा बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आ आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गरेका थिए। यसैगरी रक्षा सचिव विष्णुप्रसाद लम्साल, संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतम र अर्थ मन्त्रालयका सचिव राजन खनाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले मन्त्रालयको प्रगति विवरण पेश गरे। 

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले पनि आफ्ना भनाइ राखेका थिए। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री डा. खतिवडाले आयोजनामा बजेट विनियोजन गर्दा कही अपूरो भएको, कहिँ नपुगेको भए मन्त्रालयले आफ्नै बजेटबाट रकमान्तर गरेर भए पनि तत्काल परिणाम दिने काम गर्न सकिने विषयमा छलफल भएको जानकारी दिए। 

प्रथम चौमासिकमा देखिएको समस्या समाधान गरेर दोस्रो चौमासिकमा परिणाम निकाल्ने गरी काम गर्न जरुरी रहेको भन्दै उनले बैठकमा निर्णय गर्ने, फाइल बनाउने विषयलाई गति दिने र छिटो सम्पन्न गर्ने, प्रक्रियागत झन्झटमा नअल्झिने विषयमा छलफल भएको जानकारी दिए। 

'निश्चित समयभन्दा बढी समय नलगाइ सरकारको निर्णय प्रक्रियालाई कार्यान्वयनमा लैजाने विषयमा गम्भीर छलफल भएको छ', उनले भने, 'मन्त्रिपरिषद् र मन्त्रीस्तरबाट भएका निर्णयलाई शीघ्र कार्यान्वयनमा लैजानुपर्नेमा बैठकले जोड दिइएको छ।' अर्थमन्त्री डा. खतिवडाले मन्त्रालयगत रुपमा विनियोजन गरिएको बजेटलाई कार्यान्वयन दिनुपर्ने तर बजेट खर्च नहुने तथा बजेट माग्ने अवस्थाको अन्त्यका लागिसमेत प्रभावकारी कार्यान्वयन प्रक्रिया जरुरी रहेको आवश्यकता बैठकमा आैल्याइएको बताए। 

तत्काल कार्यान्वयनमा लैजान सकिने आयोजना, बजेटको व्यवस्था भइसकेका आयोजनालाई गति दिन कसरी सकिन्छ भन्ने विषयमा समेत गम्भीर छलफल भएको भन्दै उनले सरकारको काम कारवाहीलाई थप प्रभावकारी बनाइनेछ पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.