|

संयुक्त राज्य अमेरिकाको ४५ औँ राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन्। ७० वर्षीय ट्रम्पले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी रोधाम क्लिन्टन (६९) लाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका हुन्।

ट्रम्पले कुल ५३८ इलेक्टोरल भोटमा २८९ मत हासिल गरेका छन्। हिलारीले २१८ मत मात्र प्राप्त गरेकी छन्। मतगणना अझै नसकिए पनि २७० भोट पुर्‍याएपछि ट्रम्प विजयी बनेका हुन्।

को हुन् ट्रम्प?

सन् १९४६ जुन १४ मा न्युयोर्कको क्विन्स सहरमा जन्मेका डोनाल्ड ट्रम्पको बाल्यकाल न्यूयोर्क सहरमै बित्यो। उनी रियल स्टेट व्यापारी फ्रेड ट्रम्प र मेरी एनी मेकलियोडका ५ सन्तान मध्ये काइँला सन्तान हुन्।

बाल्यकालमा चञ्चल र ऊर्जावान ट्रम्पलाई बुबा आमाले १३ वर्षको उमेरमा अनुशासन र व्यवहारमा सुधार होस् भनेर सैन्य प्रतिष्ठानमा भर्ना गरेका थिए। उनले सन् १९६८ मा पेन्सलभेनिया विश्वविद्यालयको ह्वार्टन कलेजबाट अर्थशास्त्रमा स्नातक सम्मको अध्ययन गरेका थिए।

बुबा फ्रेड ट्रम्पको नाममा रहेको कम्पनी ओरालो लागेका बेला डोनाल्ड ट्रम्पले व्यापारमा हात हालेका थिए। सन् १९७१ मा उनी प्रत्यक्ष व्यापारमा संलग्न भएर फ्रेड ट्रम्प नामक कम्पनीलाई 'ट्रम्प अर्गनाइजेसन' मा परिवर्तन गरेका थिए।

ट्रम्प अर्गनाइजेसनका अध्यक्ष डोनाल्ड ट्रम्पले रियल स्टेटको व्यापारबाट अर्बौं कमाएका थिए। उनको विश्वभर गगनचुम्बी भवन निर्माण, होटेल, क्यासिनो, गल्फ कोर्ट, र अन्य ब्रान्डेड सामाग्रीको व्यापार रहेको छ।

रियल स्टेटको व्यापारका अलवा मिस युएसए र मिस यूनिभर्सका मालिक बने ट्रम्प। सन् १९९६ देखि २०१५ सम्म ट्रम्प मिस युएसए र मिस युनिभर्सको स्वामित्व ट्रम्पको हातमा थियो।

साथै उनले सीप सिकेर व्यापार व्यवसायमा लाग्न प्रेरित गर्ने टेलिभिजन शो 'द एप्रिनटेस' सञ्चालन गरेर चर्चित बने। सन् २००४ देखि २०१५ सम्म एनबीसी टिभीबाट सञ्चालन भएको उक्त टीभी शोबाट ट्रम्पले व्यापक चर्चा कमाएका थिए।

रियल स्टेट र टिभी शोबाट कमाएको पैसाबाट बिलिनियर बनेका ट्रम्प फोर्ब्स म्यागजिनद्वारा सूचीबद्ध विश्वका ३२४ औं धनी हुन् भने अमेरिकाका १५६ औं धनी व्यक्ति हुन्।

राजनीति

२०१५ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपति उम्मेदवारी जितेका ट्रम्पको राजनीतिक यात्राको बहाव सलल बगेको छैन। पार्टी छोड्ने र फेरि त्यहीँ पार्टीमा फर्किने देखि नयाँ पार्टी गठन गर्नेसम्मका कृयाकलाप गरेका छन् उनले।

सन् १९८७ देखि राजनीतिमा लागेका ट्रम्प सुरुमा रिपब्लिकन थिए। १९९९ मा रिपब्लिकन छोडेर ट्रम्पले 'रिफर्म पार्टी' जन्माए। जहाँ उनी ३ वर्ष पनि टिकेनन् र डेमोक्रेटिकमा लागे। उनको डेमोक्रेटिकको यात्रा ८ वर्षको मात्र रह्यो र उनी फेरि रिपब्लिकन बने। २ वर्ष रिपब्लिकन बनेका उनी फेरि स्वतन्त्र बने। तर राजनीतिमा हामफालिसकेका उनले २०१२ मा फेरी पार्टी प्रवेश गरे। अनि २०१५ मा पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरे।

ट्रम्पको पारिवारिक अस्थिरता

ट्रम्पको राजनीति जस्तै पारिवारिक जीवन पनि स्थिर रहेन। सन् १९७७ मा इभाना जेल्नी कोभासँग विवाह गरे। न्यूयोर्क मोडेल समेत रहेकी इभानासँग ट्रम्प लामो समय बस्न सकेनन्। उनीहरु ३ ओटा सन्तानका मातापिता भएपछि १९९२ मा डिभोर्स भयो।

एकवर्षपछि उनले मार्ला मेलपसँग विवाह गरे। एक सन्तानकी आमा बनेकी नायिका मेलपसँग सन् १९९७ मा डिभोर्स भयो। डिभोर्स गरेवापत ट्रम्पले मेलपलाई २ मिलियन डलर तिर्ने सम्झौता गरे।

ट्रम्प त्यसपछि पनि एक्लो रहन सकेनन्। उनले सन् २००५ मा तेस्रो विवाह गरे मिलिनिया नउससँग। जो अहिले उनीसँगै छिन्। ट्रम्पले आफूभन्दा झन्डै २० वर्ष कान्छी मिलिनियासँगको विवाह समारोह भव्य रुपमा गरेका थिए। जुन विवाह समारोहमा हिलारी क्लिन्टन र उनका पती बिल क्लिन्टन समेत उपस्थित थिए।

मिलिनियाबाट २००६ मा बैरन विलियम ट्रम्प को जन्म भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.