|

उदयपुर : पर्यटन प्रवर्द्धन र विकासका लागि पहिचान गरिएका १०० गन्तव्यमा उदयपुर जिल्लाको एक मात्र उदयपुरगढी समावेश भएको छ। जिल्लाको रौता पोखरी, चौदण्डीगढी, ताप्ली पोखरीलगायतका क्षेत्रलाईलाई पछि पार्दै उदयपुरगढी गनतव्यको रूपमा दर्ज भएको हो।

उदयपुरगढी पर्यटनकम लागि देशकै नयाँ गनतव्य घोषित हुन सफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई समतमअघि घोषणा गरेको १०० गन्तव्यमा उदयपुरको पर्यटकीय क्षेत्र पहिलो पटक समावेश भएको हो। सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा उदयपुरगढीलाई पनि दिइएको छ। आर्थिक वर्ष २०७५/०७६ देखि भौतिक पूर्वाधारतर्फको विकास गर्ने गरी घोषणा गरिएका गन्तव्यमा परेको उदयपुरगढीले मुहार फेर्छ कि फेर्दैन, त्यो भने हेर्न बाँकी छ।

उदयपुरगढी गाउँपालिका- ५ मा पर्ने उदयपुरगढीमा विगतमा करोडौँ रुपैयाँ खर्च भइसकेको छ। ‘अब नेपाल सरकारकै प्राथमिकतामा परेको भन्ने मन्त्रालयको सूचीमा उदयपुरगढीको नाम भेटिएको छ’, स्थानीय पत्रकार होमबहादुर बस्नेतले भने, ‘विगतमा धेरै लगानी खेर गइसकेको छ, त्यहाँ गरिएका लगानीले केही होमस्टे र निर्माण हुँदै गरेको भ्यु टावरबाहेक केही देख्न पाउँदैनौँ। अबचाहिँ मुहार फेर्छ कि?’

उदयपुरगढी उदयपुरको पुरानो सदरमुकाम पनि हो। पृथ्वीनारायण शाहाले नेपाल एकीकरण गरेको कालखण्डमा र राणाशासनको अन्त्यका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उदयपुरगढी हालसम्म ओझलमै थियो। ‘गढीको इतिहास हेर्दा पुरातात्त्विक र साँस्कृति हिसाबले भरिपूर्ण छ’, स्थानीय बोधकुमार घिमिरेले भने, ‘उदयपुरको पर्यटकीय क्षेत्रभन्दा एक नम्बरमा नाम आउने उदयपुरगढीमा संघीय सरकारको नजर परेपछि खुसी लागेको छ।’

नेपाल सरकारले पहिचान गरेको नयाँ देशभरका १०० गन्तव्यमा उदयपुरगढी समावेश भएपछि परिवर्तन हुने धेरैको बुझाइ छ। उदयपुरले पनि एउटा पर्यटन क्षेत्रको परिचय बनाएको छ। उदयपुरको नामसँग उदयपुरगढीको मातृसम्बन्ध रहेको पाइन्छ।

यस्तो छ उदयपुरगढीको इतिहास

उदयपुर जिल्लाको नामकरणदेखि सदरमुकामसम्मको इतिहास उदयपुरगढीसँग जोडिएको छ। झण्डै ५० दशकपछि सदरमुकाम रहेको ठाउँमा सदरमुकाम नै कायम भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणपछि गरिएको स्थानीय तहको पुनर्संरचनाले पुरानो सदरमुकाम रहेको पञ्चावती- १ उदयपुरगढी र हाल उदयपुरगढी- ५ मा गाउँपालिकाको केन्द्र अर्थात् सदरमुकाम पुगेको छ।

उदयपुरगढी गाउँपालिका गढीका ७२ वर्षीय धनबहादुर मगरका अनुसार राजा उदयसिंह नामका सेन वंशका राजाले राज्य गरेको स्थान हो। पछि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उदयपुरगढी राज्य गोर्खा राज्यमा समावेश भएर अहिलेको नेपाल निर्माण भएको हो। राजा उदय सेनका बारेमा जिल्लाका विभिन्न विद्वानका विभिन्न धाराणहरू सुन्न पाइन्छ। प्रा.डा. सोमप्रसाद खतिवडाका अनुसार ई.सं. १३२४ तिर मिथिलाको तिरहुत राज्य पतन भएको हुनाले त्यसको केही समयपछि उदयपुर गढी स्थापना भएको हो। ‘उदयपुरगढी सँस्कृति र पुरातात्त्विक हिसाबले भरिपूर्ण छ’, उनले भने, ‘यसको संरक्षण र विकासका लागि राज्यले ध्यान दिन जरुरी छ।’

पृथ्वीनारायण शाहका फौजले सन् १७७३ जुलाई १६ मा उदयपुरको चौदण्डीगढीमाथि आक्रमण गरेका हुन। त्यसको ठीक दुई दिनपछि १८ जुलाईमा उदयपुरगढी आक्रमण गरी पृथ्वीनारायण शाहका फौजका कमाण्डर अमरसिंह थापा, स्वरूपसिंह कार्की, अभिमानसिंह बस्नेतलगायतले उदयपुरगढीमा आक्रमण गरे। किम्वदन्तीअनुसार त्यसपछि राजा उदय सेन आफ्नो प्यारो वस्तु मादल लिएर गढी नजिकैको जंगलको ओडारमा लुक्न गई अलप भएका हुन। पछि तिनै उदय राजाको नामबाट उदयपुरको नाम रहन गएको बताइनछ। वि.सं. २०२८ अगाडि उदयपुर जिल्लाको सदरमुकाम हालको पञ्चावती गाविसमा पर्ने त्यही उदयपुरगढीमा थियो। २०२८ सालबाट यता सदरमुकाम गाईघाटमा सारिएको हो।

जीर्ण छन् गढीमा देवी देवताका मन्दिर

सरमुकाम गाईघाट र दोस्रो व्यापारिक केन्द्र कटारी दुवैतर्फबाट नेपालटार हुँदै पुग्न सकिन्छ यस स्थानमा। गढीमाई मन्दिरको स्थापना वि.सं. १९७५ मा भएको ताम्रपत्रहरूमा उल्लेख गरिएको छ। तत्कालीन पञ्चावती गाविस- ७, चुलाढुंगाका मगर थरका स्थानीयले जंगलमा पाँच देवीहरूको मूर्ति भेटेर पूजाआजा गर्न थालेपछि उक्त मन्दिरको नाम पञ्चावती भएको उदयपुरगढी- ५ का ७८ वर्षीय शेषराज खतिवडा बताउँछन्।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले मन्दिरलाई ताम्रपत्रसहितका केही महत्त्वपूर्ण सामान चढाएको तर आज ती सबै हराएको स्थानीयबासी बताउँछन्। ती सबै मन्दिरहरू अहिले जीर्ण बन्दै गएका छन्। गढीमा मुसलमानको आक्रमणबाट बच्न तिनै उदयदेव नाम गरेका राजाले बनाएका दरबार तथा युद्धकिल्लाका अवशेषहरू अझै भेटिने गरेका छन्।

उदयपुरगढीमा अवस्थित पञ्चावती गढीमाईको पुरानो मन्दिर संरक्षण र उचित रेखदेखको अभावमा मन्दिरका महत्त्वपूर्ण देवीका मूर्तिलगायत ताम्रपत्र तथा धातुका वस्तु चोरी हुँदै गएका छन्। पौराणिक महत्त्व बोकेका सम्पदाहरू भग्नावेश अवस्थामा हुनु तथा संरक्षण गर्न नसक्दा ओझेलमा पर्दै गएको छ। मन्दिरका महत्त्वपूर्ण पाँच मूर्ति यसअघि नै चोरी भइसकेको र ताम्रपत्रसहितका अन्य धातुका सामानसमेत उचित संरक्षणको अभावमा चोरी भएको स्थानीयबासी सिएम गुरागाईं बताउँछन्। गढीमा उदय सेनको कुलदेवीको रूपमा रहेको पञ्चावती देवीको मन्दिर पनि जीर्ण छ। गढी क्षेत्रमा पर्यटन विकासका लागि पनि उदय सेनको दरबार परिसरलाई पुरातात्त्विक विभागले संरक्षणमा खासै चासो नदिएको स्थानीयको आरोप छ।

यस्तो छ पर्यटनको संभावना

समुद्री सतहबाट करिब एक हजार ३०० मिटरको उचाइमा अवस्थित छ यो स्थान। उत्तरमा सेत्ताम्य हिमालहरू र दक्षिणमा समतल तराईका फाँटहरूका दृश्य अवलोकन उदयपुरगढीबाट गर्न पाइन्छ। उदयपुरगढी संरक्षण विकास समाजका अध्यक्ष उद्धव मोते गढीलाई प्रदेश १ कै पर्यटकीय केन्द्र बनाउन सकिने बताउँछन्। ‘गढीको इतिहास खोजी हुँदै छ’, उनले भने, ‘हामी पर्यटन विकास गर्न गुरुयोजनासमेत बनाइरहेका छौँ, अब गाउँपालिकाको केन्द्र भएकाले पनि स्थानीय सरकारले पनि विशेष महत्त्वमा राखेको थियो, त्यसैले पनि नेपालकै एक पर्यटन गन्तव्य बनेको छ।’ 

गढीलाई पुरातात्त्विक र पौराणिक सम्पदाको खोजी गर्दा गढी झनै महत्त्वपूर्ण रहेको उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर बताउँछन्। ‘सरकारले ढिलै भए पनि गढीलाई पर्यटनको गन्तव्यको रूपमा लिएको छ’, उनले भने, ‘हामी गढीबासी सबै हर्षित छौँ। स्थानीय सरकारको सानो सहयोगभन्दा पनि संघीय सरकारको लगानी आउँदा विभिन्न दृष्टिकोणले पर्यटकीय केन्द्र बनाउन सकिन्छ।’ अध्यक्ष मगर भन्छन्, ‘यो गढी क्षेत्र उदयपुरको मात्र होइन, प्रदेश १ र नेपालको नै ऐतिहासिक महत्त्व बोकेको स्थान भएकाले हराएको सामानको खोजी गर्ने, मन्दिरको भवन अझै पुनः मर्मत गरेर बलियो र सुन्दर बनाउने, मन्दिर संरक्षणका लागि रेखदेख गर्ने, पर्यटक तान्ने पुराना गढीका कलात्मक संग्रहालय बनाउँदा गढीमा पर्यटन बढ्ने संभावना छ।’

गढीका चुनौतीहरू

गढीमा खानेपानी, विद्युत, सडक, संचारका मुख्य समस्या छन्। उदयपुरगढी गाउँपालिका- ५ का वडा अध्यक्ष कुमार अधिकारीले भने, '२०२५-०२६ सालतिर मोटरबाटो पुगेको ठाउँ र अहिले हेर्दा अरू गाउँसरह नै पिछडिएको देखिन्छ। त्यसबेलाका अड्डा अदालतका पुराना भग्नावशेषहरू अझै पनि यत्रतत्र छरिएका छन्। त्यसले पर्टकलाई देखाउने गतिलो माध्यम बनाउन सकस छ', उनले भने।


यहाँ विद्युत् विस्तार हुन सकेको छैन। सडक सुविधा नहुँदा गढीका जनताले उचित सेवा पाउन सकेका छैनन्। गढीमा खानेपानीका लागि दुई घण्टा पैदल हिँड्नुपर्छ। गाउँपालिकाका अध्यक्ष केप्छाकी मगर स्थानीय सरकार गढी क्षेत्रलाई पर्यटन विकासका साथै खानेपानी, बिजुली विस्तारको योजना तयारीका लागि द्रुत गतिमा लागिपरेको बताउँछन्। टेलिकमद्वारा संचालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल बेलाबेला अवरुद्ध भइरहन्छन्। इन्टरनेट अवरुद्ध हुँदा बैंकिङ सेवामा समेत समस्या छ। 

यस्ता छन् गढीका आकर्षणहरू

उदयपुरगढीको मुख्य आकर्षण भनेको गढी मन्दिर, पञ्चावती माई मन्दिर, केउरेनी मन्दिर, चुला ढुंगा शिवपार्वती हुन्। पुरानो गढीको भग्नावशेष, टुँडिखेलको गणेशथान, संसारी माईथान, गढीकै पुरानो वरपीपलको बोट, ऐतिहासिक पोखरीको वर्षौं पुरानो इतिहास छ। यस्तै, घ्याम्पा थुम्काको सिद्धथान मन्दिर, बज्ने ढुंगा मन्दिर, हाडेटार शिवजी गुफा, केउरेनी महादेव मन्दिर हेर्नलायक रमणीय ठाउँ छन्।

ब्रह्मचारीधारा, जोगीधारा, उदयपुरगढीमा संग्रहालय बनाउन सके पर्यटकलाई थप आकर्षित गर्नेछ। भारतबाट समेत देखिने र पूर्वाञ्चलको धेरै स्थानबाट देखिने गढीको डाँडामा रहेको यस मन्दिरबाट उत्तरमा सगरमाथाको रेन्जमा रहेका हिमशृङ्खला, दक्षिणमा चुरे शृङ्खलाका साथै तराईको समथर जमिनसमेत देख्न सकिन्छ। 

प्रत्येक वर्ष दशैँ, रामनवमीलगायत अन्य तिथिमा जिल्लाका सम्पूर्ण क्षेत्रबाट ठूलो संख्यामा पञ्चावतीगढी देवीको पूजा तथा आराधना गर्न भक्तजन जाने गर्छन्। मन्दिर संरक्षणका अभावमा जीर्ण बनेर मन्दिरका सबै सामग्री चोरी भए पनि देवीप्रति अहिले पनि भक्तजनको आस्था उत्तिकै रहेका कारण दैनिक पूजाआजा र आराधना गर्न भक्तजन जाने गरेको स्थानीयबासी दीपककुमार मगर बताउँछन्। 

गढीमा १६ होमस्टे दर्ता, १० मात्र संचालन

उदयपुरगढी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीय महिलाले होमस्टे संचालनमा ल्याएका छन्। झण्डै छ वर्षदेखि संचालित १६ वटा होमस्टे दर्ता भए पनि १० वटा मात्र संचालनमा छन्। होमस्टेमा पानी, बिजुलीको समस्याले पर्यटकलाई लामो समयसम्म टिकाई राख्न नसकिएको होमस्टे संचालक गीता धमला बताउँछिन्। ‘पानी र बिजुलीको समस्या छ’, उनले भनिन्, ‘पानीको भरपर्दो व्यवस्था नहुँदा पाहुनाको बसाइ छोटो हुने गरेको छ।’

होमस्टेमा करिब ३० पर्यटकलाई सेवा उपलब्ध हुने सक्ने व्यवस्था छ। ‘स्थानीयस्तरमा उपलब्ध गुन्द्रुक, कोदोको ढिँडो, मकै-भटमास, स्थानीयस्तरमा उत्पादित खसी र कुखुकाको मासुसहित स्थानीय जनजातिले उत्पादन गरेको मदिराले पाहुनालाई स्वागत गरिने होमस्टे संचालन समितिका सचिव रीताकुमारी धमलाले बताइन्। ‘पोखरा र बन्दीपुरका होमस्टे हेर्दा धेरै गर्न सकिन्छ जस्तो लागेको छ’, धमलाले भनिन्, ‘नेपालटार-उदयपुरगढी सडकको स्तरोन्नतिसँगै प्रशस्त मात्रमा पानी उपलब्ध नहुँदा केही गर्न सकिएको छैन।’ पर्यटनका लागि प्रचुर संभावना बोकेको गढी क्षेत्रका होमस्टेलाई आधुनिक तवरले विकास गर्न जरुरी रहेको स्थानीयको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.