|

काठमाडौं : नेपाली कांग्रेसको नयाँ विधानअनुसार अब सदस्यता नवीकरणका लागि निकै झन्झट हुने भएको छ। कांग्रेसमा अब सदस्य बन्नका लागि पार्टीको हरेक गतिविधिमा संलग्न हुनुपर्ने बाध्यता भएको छ।

विधान मस्यौदा समितिले छलफलका लागि केन्द्रीय समितिमा बुझाएको विधानअनुसार पार्टी सदस्य बन्न अब त्यति सहज नहुने भएको छ।
विधानमा मस्यौदामा उल्लेख भएअनुसार पार्टीमा दुई प्रकारका सदस्य हुनेछन्। पार्टीमा नेपाली कांग्रेसको सदस्य र क्रियाशिल सदस्य गरी दुई प्रकारका सदस्य राख्ने मस्यौदामा उल्लेख छ। तर यसमा भने मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले फरक मत राखेका छन्। 

उनले पार्टीलाई बुझाएको फरक मतमा कांग्रेसको सदस्यता सहज बनाउनुपर्ने उल्लेख छ। कांग्रेसमा नेपाली कांग्रेसको सदस्य भनेर एक प्रकारको सदस्य मात्र बनाउन प्रस्ताव गरेका छन्। 

यद्यपि विधान मस्यौदामा भने दुई प्रकारको सदस्यता व्यवस्था गरिएको छ। नेपाली कांग्रेसको सदस्यबाट क्रियाशिल सदस्य हुनका लागि निकै मुस्किल हुने विधानमा उल्लेख गरिएको छ। कांग्रेसको विधान मस्यौदाअनुसार नेपाली कांग्रेसको सदस्य भएकाले सदस्यता नवीकरणका लागि आफू प्रतिनिधि सदस्य भएको अधिवेशन र सम्मेलनमा वा उपस्थितहुनु पर्ने बैठक, अधिवेशन, सम्मेलन तथा पार्टीले उपस्थित हुन निर्देशन गरेको स्थान र कार्यक्रममा अनिवार्य भाग लिएको हुनुपर्ने व्यवस्था रहेको छ। 

कांग्रेसको सदस्य भएको एक वर्षमा नवीकरण गर्दा स्वतः क्रियाशील सदस्य हुने विधानमा उल्लेख छ। तर त्यका लागि भने केही सीमाहरु पार गर्नुपर्ने बाध्यता छ। त्यो सीमा निकै झन्झटिलो छ। कांग्रेस सदस्यले क्रियाशील हुनका लागि एक वर्षसम्म जिल्लाभित्र पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमध्ये कम्तीमा ७० प्रतिशत सहभागीता हुनुपर्ने उल्लेख गरिएको छ।

‘सदस्यता नवीकरणका लागि जिल्लाभित्र पार्टीको आयोजनामा सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमध्ये कम्तिमा ७० प्रतिशत कार्यक्रममा अनिवार्य उपस्थित भई सक्रियता पूर्वक जिम्मेवारी पूरा गरेको हुनुपर्नेछ’, प्रस्तावित विधान मस्यौदामा भनिएको छ। सदस्यता नवीकरण भएका सदस्यलाई केन्द्रीय सभापति, प्रदेश सभापति र जिल्ला सभापतिको हस्ताक्षर भएको पार्टीको क्रियाशील सदस्यताको प्रमाणपत्र दिइने मस्यौदामा उल्लेख छ।

तर, पार्टीको अन्य जिम्मेवारीमा जिल्ला बाहिर रहनुपर्ने सदस्यका हकमा र प्रजनन् अवधिमा बसेको महिलाको हकमा यो व्यवस्थाले लागू नहुने कांग्रेसको विधान मस्यौदामा उल्लेख छ। कांग्रेसमा हाल  ४ लाख ७० हजार ६४४ क्रियाशिल सदस्य छन्।

तर पार्टी विधान मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले भने यो प्रक्रिया निकै झन्झटिलो र जटिल भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले सबैले पार्टीको सदस्यता सहजै पाउने र नवीकरण हुने व्यवस्था हुनुपर्ने धारणा राखेका छन्। ‘यसरी ७० प्रतिशत कार्यक्रममा सहभागी गराएर सदस्यता नवीकरण गराउने प्रक्रिया वैज्ञानिक हुँदैन’, उनले भने, ‘सेमेस्टर सिस्टममा पढाइ हुने कलेज हो र हाजिर गर्नलाई? यो त कार्यक्रममा गएर नेतालाई सदस्यता किताब देखाउँदै हाजिर गरेर आउनुपर्ने जस्तो भएन र?’

नेता पौडेलले वडाका सदस्यहरुले आफूमध्येबाट २० प्रतिशत सदस्यलाई निर्वाचित गरी सदस्यहरुको निर्वाचन मण्डल बनाई क्षेत्रीय अधिवेशन प्रतिनिधि र कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। 

पार्टीको उद्देश्य, नीति, कार्यक्रमलाई निरन्तर सहयोग पु¥याउँदै आएको, निर्वाचनमा पार्टीको निर्देशनमा सक्रियता पूर्वक संलग्न रहेको र निर्वाचनको समयमा पार्टी र उम्मेदवारको पक्षमा काम गरेको तथा पार्टीका विभिन्न कार्यक्रम, अभियान वा आन्दोलनको क्रममा कष्ट, यातना, जेल वा निर्वासन भोगेको व्यक्तिलाई सदस्यता दिने विधान मस्यौदामा उल्लेख छ। 

सदस्यता अनलाइनबाटै नवीकरण
कांग्रेसले सदस्यताको आवेदन फारम अब अनलाइनबाट पनि भर्न मिल्ने व्यवस्था गर्ने भएको छ। नयाँ विधानअनुसार पार्टीले विद्युतीय प्रणाली मार्फत समेत सदस्यता वितरणको प्रबन्ध मिलाउनेछ। विद्युतीय प्रणाली मार्फत सदस्यता वितरणको व्यवस्था तोकिए बमोजिम हुने कांग्रेसको विधानमा उल्लेख छ। 

यस्तै,  कांग्रेसमा कानुन बमोजिम विलय हुने राजनीतिक दलका सदस्य वा पार्टीका शुभेच्छुकलाई केन्द्रीय कार्यसमितिले पार्टीको क्रियाशील सदस्यता प्रदान गर्न सक्ने विधान मस्यौदामा उल्लेख छ। 

यसरी क्रियाशील सदस्यता पाएकाले पार्टीको निर्वाचनमा भाग लिने वा पार्टीको कुनै पदमा मनोनयन गर्ने सम्बन्धमा केन्द्रीय कार्यसमितिले निर्णय गरे विधान मस्यौदामा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.