|

काठमाडौं : अवैध डलरको पछि लाग्दा दुई जनाको १४ लाख ५० हजार नेपाली रुपैयाँ गुमेको छ। बालाजुका नरेश संग्रौला र कुन्दन पौडेलको उक्त रकम गुमेको हो। उनीहरूले ३० हजार डलर पाउने आशमा १४ लाख ५० हजार रुपैयाँ अपरिचित चार जनालाई बुझाएका थिए।

डलर ल्याउने समूह र उनीहरूले झोलामा राखेको रुपैयाँ साटासाट गरेका थिए। साटासाट गर्नासाथ डलर ल्याउने समूह पैसाको झोला लिएर भागेका थिए। संग्रौला र पौडेलको झोलामा भने डरलको साटो नेपाली २० रुपैयाँको पाँचदेखि १० हजार रुपैयाँको बन्डल मात्र रहेको ललितपुर प्रहरीको भनाइ छ।

यसरी भएको थियो घटना

डलर साट्ने समूहसँग संग्रौला र पौडेलको भेट एक महिना पहिलेबाट नै भएको थियो। सिन्धुपाल्चोक घर बताउने उनीहरूले नाम भने कहिले के त कहिले के बताउँदै आएका थिए।

उनीहरूले संग्रौला र पौडेललाई भूकम्पको समयमा आएका विदेशीहरूले छाडेको झोलामा डलर भेटेको र साट्न खोजेका बताएका थिए। संग्रौला र पौडेलले आफैँ साटिदिने बताए- त्यो सस्तो मूल्यमा दिने सर्तमा।

उनीहरूको सर्तअनुसार नै ३० हजार डलर १४ लाख ५० हजार रुपैयाँमा दिने सहमति गरेपछि संग्रौला र पौडेलले डलरको लोभमा १४ लाख ५० हजार तयार पारेका थिए। डलर साट्ने समूहले ५० रुपैयाँका डलरका केही थानसमेत देखाएको प्रहरीको भनाइ छ। त्यति हुँदा पौडेल र संग्रौला ढुक्क भएका थिए।

पूर्व सहमतिअनुसार नै मंसिर ४ गते डलर साट्न संग्रौला र पौडेल पैसाको झोला बोकेर ललितपुरको इमाडोल पुगे। इमाडोल पुग्दा डलर साट्ने समूहले २० रुपैयाँका बन्डल तयार पारेका थिए। पौडेल र संग्रौला दुवै जना बालाजुबाट सार्वजनिक बस चढेर हौसिँदै इमाडोल पुगेका थिए तर उनीहरू इमाडोल पुगेको केही समयमै छाँगाबाट खसेझैँ भएका थिए।

मोटरसाइकलमा आएका उनीहरूले संग्रौला र पौडेलले बोकेको १४ लाख ५० हजार रुपैयाँ लिएर उनीहरूलाई नेपाली २० रुपैयाँको बन्डल दिएर भागेका थिए।

पैसा लुटियो भन्दै प्रहरीलाई गुहार

डलरको लोभमा परेर १४ लाख ५० हजार रुपैयाँ ठगिएपछि पौडेलले ललितपुर प्रहरीलाई आफ्नो झोलामा रहेको १४ लाख ५० हजार रुपैयाँ लुटिएको खबर गरेको थिए। खबर पाएको ३० मिनेटभित्र पुगेको प्रहरीले बुझ्दा पैसा लुटिएको भन्दा अर्कै शंका लागेपछि प्रहरीले संग्रौला र पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। प्रहरीको अनुसन्धानबाट उनीहरू ठगिएको प्रमाणित भएको हो।

ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले पैसा लुटियो भनेर प्रहरी घटनास्थल पुग्दा लुटिएको भन्दा ठगिएको खुलेको बताए। हाल ठगी गर्ने चार जना फरार रहेको र खोजी कार्य भइरहेको उनको भनाइ छ।

केही समयअघिसम्म विभिन्न प्रलोभन देखाएर कागजको पैसा बोकेर ठगी गर्ने समूहले अहिले सस्तो मूल्यमा डलर दिने भन्दै ठग्ने गरेको प्रहरीले बतायाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.