‘मुद्दा हामीले जित्ने, जग्गा देउवाजीले पाउने जस्तो भयो’

|

काठमाडौं : नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाविरुद्ध असन्तुष्ट खेमाका नेताहरू एक भइरहेका छन्। संस्थापनबाहेकका नेताहरू कहिले वरिष्ठ नेता रामचन्द्र पौडेल, कहिले अर्जुनरसिंह केसी त कहिले सुजाता कोइराला, महामन्त्री डा. शशांक कोइरालाकहाँ गुटगत छलफलका लागि बसिरहेका छन्। 

सधैँ यसरी नै गुटगत छलफल गरिरहने असन्तुष्ट समूहका नेताहरू कुनै निष्कर्षमा पुगेका छैनन्। एक भएर देउवाविरुद्ध छलफल गरिरहने यी नेताहरू केन्द्रीय समितिको बैठकमा समेत एक मतका साथ आउन सक्दैनन्।

पार्टी सभापतिविरुद्ध खनिएर विभिन्न गुटमा विभाजित भएका संस्थापनइतर समूहका नेताहरू अब भने महासमिति बैठक र केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुन लागेको विधान मस्यौदामा साझा धारणा तय गर्न बैठक बस्न सुरु गरेका छन्। त्यही क्रममा मंगलबार सुजाता कोइराला निवास मण्डिखाटारमा नेताहरू भेला भएर महासमिति र देउवाविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेका छन्। उनीहरूले त्यहीँ ‘लञ्च’ गरेका थिए। 

‘म सुरुमै के स्पष्ट पार्न चाहन्छु भने कुनै व्यक्तिगत इच्छा छैन। मलाई केही पद र प्रतिष्ठा पनि चाहिएको छैन। पार्टी एकदमै कमजोर भएको हुँदा मैले यो भेला बोलाएको हुँ’, बैठकको सुरुमै कोइरालाले भनिन्, ‘हाम्रो समूहमै रहेका धेरै नेता एक हुनुहुन्न। कतिपयको एकअर्काबीच संवाद पनि भएन। सबैलाई एक बनाऔँ भनेर मैले यो छलफल राखेको हो।’ 

यसरी बैठक बस्दै गर्दा अलिक बढी महासमिति बैठक र विधान मस्यौदामा केन्द्रित भएको बैठकमा सहभागी नेता गगन थापाले जानकारी दिए। ‘उहाँले सबै एक ठाउँमा आऔँ, छलफल गरौँ भनेर लञ्चका लागि बोलाउनुभएको थियो’, थापाले भने, ‘त्यही क्रममा हामीले महासमिति र विधानका बारेमा पनि छलफल राख्यौँ।’ बैठकले महासमिति बैठक र केन्द्रीय समिति बैठकमा एक भएर अघि बढ्ने कुरा भएको बताए।

थापाले नेताहरूबीच भइरहेको बैठकको शृंखला भएको बताए। विधान समितिले समस्याको हल गर्न नसकेको बेलामा सभापति देउवाले अग्रसरता नलिएको विषयमा पनि बैठक छलफल भएको थापाले बताए। ‘विधानमा सहमति नजुटेको अवस्थामा सभापतिले अग्रसरता लिएर छलफलको वातावरण बनाउनुपर्ने हो। कसैलाई पनि उहाँले छलफलका लागि केही भन्नुभएको रहेनछ’, उनले भने, ‘हामीले केन्द्रीय समिति बैठकमा एक भएर जाने र महासमितिमा पनि एक भएर अघि बढ्ने सल्लाह गर्‍यौँ।’

बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महत, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, कमला पन्त, जीवन परियार र प्रदीप पौडेललगायत पुगेको नेता गुरुराज घिमिरेले जानकारी दिए। 

‘लञ्च’ बैठकमा कसले के भन्यो?

लञ्च बैठकमा कांग्रेस नेता सिटौलाले विधान पेस भइसकेको आस्थामा अब आफूहरूको समूह एक भएर अघि बढ्नुपर्ने बताए। उनले सबैका कुरा सुनेर छलफलमा सहभागी हुनुपर्ने धारणा राखेको स्रोतले बताएको छ। असन्तुष्ट समूहमा पनि गुटगत समस्या भएकाले अब केन्द्रीय समिति बैठक र महासमिति बैठकमा एक भएर अघि बढ्नुपर्ने बताएका थिए। 

यस्तै, नेता अर्जुनरसिंह केसीले देउवाविरुद्धको समूहले निश्चित एजेण्डा बनाएर पार्टीलाई एक बनाएर अघि बढ्नुपर्ने बताएका थिए। हेटौँडामा भएको जिल्ला सभापतिको बैठकदेखि महासमितिसम्मको फोरमलाई भाषण गर्ने थलो मात्र बनाउन नहुने बताएको मण्डिखाटार स्रोतले बताएको छ। उनले देउवाको एकलौटी विरुद्ध एक भएर अघि बढ्नुको विकल्प नभएको बताए। यसमा असन्तुष्ट समूहको स्पष्ट एजेण्डा हुनुपर्ने बताएका थिए। 

यस्तै, नेता बलबहादुर केसीले आफूहरूको एजेण्डामा सभापति देउवाले रजाइँ गरेको स्रोतले बताएको छ। ‘मुद्दा हामीले जित्ने, जग्गा देउवाजीले पाउने जस्तो भएको छ’, उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो टिम एक हुनुपर्‍यो। चुनावमा टिकट बेचेको हल्ला आइरहेको छ। यस्तालाई कारवाही गर्नुपर्‍यो।’

युवा नेता गगन थापाले केपी शर्मा ओलीको दुई तिहाईको सरकार र देउवाको बहुमतको डटेर सामना गर्नुपर्ने बेलाआएको बताए। जनता कांग्रेस भूमिकासँग पनि असन्तुष्ट रहेका कारण जिम्मेवार भएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो। 

नेता गुरुराज घिमिरेले ‘लञ्च’ बैठकमा पार्टीलाई हतियार बनाएर आफ्नो ‘मिसन’ पूरा गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा राखेको कांग्रेस स्रोतले बताएको छ। 
बैठकमा नेता प्रदीप पौडेलले विधान मस्यौदामा असहमति पनि रहेकाले यसमा आफूहरू एक भएर अघि बढ्नुपर्ने बताएको स्रोतले जानकारी दियो। ‘हामी यसरी सधैँ बस्छौँ। मिडियामा चर्चा हुन्छ। निचोड केही आउँदैन। अब रणनीतिक हिसाबले अघि बढ्नुपर्‍यो’, स्रोतले भन्यो। 

असन्तुष्ट समूहको बैठक बुधबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगंजमा बस्ने तय भएको नेता थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.