दुई प्रस्ताव तयार हुँदै

|

नुवाकोट (ककनी) : नुवाकोटको ककनीमा भेला भएका नेपाली कांग्रेस जिल्ला सभापतिहरूले एक मत भएर प्रस्ताव ल्याउने प्रयास थालेका छन्। पार्टीमा देखिएको गुटगत विवादलाई चुनौती दिन उनीहरू एक मत भएर जाने प्रयासका साथ अघि बढेका हुन्। भेलामा उपस्थित ६४ जिल्ला सभापतिहरु गुटगत राजनीतिबाट अछुतो छैनन्। तर पार्टीलाई एकताको सन्देश दिन भए पनि बैठकको अन्त्यमा एउटै सन्देश दिने गरी प्रयास थालिएको हो।

 ‘पार्टीलाई महासमिति बैठकमा एक भएर जान दबाब दिन भए पनि हामी यहाँबाट एउटै प्रस्ताव लिएर एक मतका साथ अघि बढ्ने प्रयत्नमा छौँ’, नवलपरासी सभापति विष्णु लामिछानेले भने, ‘यसका लागि हामी हदैसम्मको लचकता अपनाउन तयार छौँ।’

भेलामा आएका सुझावलाई संकलन गरी एकीकृत गर्नका लागि १७ सदस्यीय समितिसमेत बनाएका छन्। उक्त समितिमा प्रत्येक प्रदेशबाट दुई/दुई जना र दुई महिला सभापतिलाई अँटाइएको नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए। उक्त समितिले बैठकमा प्रस्ताव ल्याउनका लागि बुधबार रातिदेखि नै काम थालेका छन्। सभापतिहरू बिहीबार पनि बिहानैदेखि छलफलमा जुटेका छन्।

जिल्ला सभापतिको सुझाल पार्टीलाई एक बनाएर लाने गरी तयार गर्न लागिएको उनको भनाइ छ। ‘हामी गुटगत स्वार्थभन्दा माथि उठ्ने गरी सबैका सुझावलाई संकलन गरेर एक मत गर्ने छौँ’, उनले भने, ‘यसले गुटगत विवादको सिकार बनेको पार्टी नेतृत्वलाई पनि एक ढिक्का हुन दबाब पुग्नेछ। हाम्रो उद्देश्य महासमिति बैठकबाट पार्टी एक भएको सन्देश नेताहरूले आम कार्यकर्तालाई दिउ‍न् भन्ने हो।’

ककनी भेला सभापति शेरबहादुर देउवाले नचाहँदा नचाहँदै भएको हो। गत असारमा हेटौँडामा भएको जिल्ला भेलामा आलोचित बनेपछि उनी फेरि जिल्ला सभापतिहरूको भेला चाहँदैन थिए। तर जिल्ला सभापतिहरूले स्वतस्फूर्त रूपमा यो भेला आयोजना गरेका हुन्। भेलाललाई जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय समितिमा पेस भएको विधान मस्यौदामाथि केन्द्रित गरेका छन्।

बिहीबारबाट विधान मस्यौदा समितिले पार्टीलाई बुझाएको मस्यौदामाथि केन्द्रीय समिति बैठकमा छलफल हुँदैछ।

उक्त विधानमा जिल्ला सभापतिहरूले केही विषय स्पष्ट नभएको भन्दै आपत्तिसमेत जनाएका छन्। पार्टीको सबै तहमा मर्यादाक्रम लथालिङ भएको भन्दै आपत्ति जनाएका हुन्। विधानमै स्पष्ट गरेर मर्यादा क्रम राखिनुपर्ने जिल्ला सभापतिहरूको माग छ। ‘हाम्रो पार्टीमा मर्यादाक्रम कसको के हुने भन्ने स्पष्ट छैन’, नवलपरासी सभापति लामिछाने भन्छन्, ‘यसले समस्या भएको छ। विधानमै मर्यादा क्रम स्पष्ट बनाइनुपर्छ।’

यस्तै, जिल्ला सभापतिहरूले निर्वाचनका समयमा उम्मेदवार छनोट गर्नका लागि कुन तहको उम्मेदवार छनोट गर्ने कसले हो भन्न स्पष्ट हुनुपर्ने धारणा राखेका छन्। ‘निर्वाचनमा उम्मेदवार छनोट गर्दा कुन तहको निर्वाचन हुँदैछ, त्योभन्दा एक तह माथिको पार्टी समितिलाई उम्मेदवार छान्ने जिम्मेवारी दिइनुपर्छ’, ललितपुर सभापति मदन अमात्यले भने, ‘नभए आफ्नो योग्यताले त्यो तहको पार्टी नेतृत्वले टिकट पायो भने टिकट नपाउने हराउनतर्फ लाग्छ।’

विधानमा कसको काम कर्तव्य के हुने भन्ने स्पष्ट नहुँदा पार्टीमा योगदान गरेका धेरै जिम्मेवारविहीन भएकाले उनीहरूलाई पनि जिम्मेवारी दिन विधानमा नै स्पष्ट गरिनुपर्ने जिल्ला सभापतिहरूको माग छ। ‘पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसद अहिले जिम्मेवारविहीन छन्। उनीहरूलाई पार्टी संगठन विस्तारको पूर्ण अनुभव छ’, नवलपरासी सभापति लामिछानेले भने, ‘उनीहरूलाई विधामै उल्लेख गरेर जिम्मेवारी दिइनुपर्छ र सल्लाहकार राखिनुपर्छ।’

यस्तै, कतिपय जिल्ला सभापतिहरूले पार्टीको प्रदेश समिति सभापतिलाई केन्द्रीय समितिका पदेन सदस्य बनाउनुपर्ने पनि माग गरेका छन्।

बिहीबार सकिने जिल्ला सभापतिहरूको भेलाले ककनी घोषणा पत्र जारी गर्ने पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङले जानकारी दिए। जिल्ला सभापतिहरूले छुट्टाछुट्टै दुई विषयमा प्रस्ताव तयार पारिरहेका छन्। पार्टीलाई विधानबारे सुझाव दिन विधानसम्बन्धी प्रस्ताव र निर्मल हत्याकाण्ड, महँगी र सरकारका पछिल्ला गतिविधिलाई समेटेर प्रस्ताव तयार गर्ने बताइएको छ।

विधानबारे तयार परिने प्रस्ताव भने बिहीबार नै पार्टी केन्द्रलाई बुझाउने छन्। उक्त घोषणा पत्रले विधान मस्यौदामा पार्टी केन्द्रीय समिति बैठकमा विधान संशोधनका लागि मार्गदर्शन गर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.