|

बनेपा : भक्तपुरको पर्यटकीय स्थल नगरकोटमा दोहोरो कर हटाउने विषयमा दुई जिल्लाका चार नगरपालिकाले चारबुँदे निर्णय गरेका छन्। कर व्यवस्थापन गर्ने विषयमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा भक्तपुरको चाँगुनारायण र शङ्खरापुर नगरपालिकाबीच सहमति भएको हो।

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र नगरकोटमा जाने विदेशी पर्यटकलाई दुवै सिमानामा पर्ने नगरपालिकाले दुवैतिरबाट करीब २०० मिटरको दूरीमा दोहोरो कर उठाउँदै आएका थिए।

मण्डनदेउपुर नगरपालिकाले सार्क राष्ट्रका नागरिकका लागि प्रतिव्यक्ति २२६ र रार्क राष्ट्रबाहेकका नागरिकका लागि ३३९ रुपैयाँ लिने गरेको थियो भने चाँगुनारायण नगरपालिकाले सार्क राष्ट्रका नागरिकका लागि प्रतिव्यक्ति २०० र रार्क राष्ट्रबाहेकका नागरिकका लागि रु ३०० रुपैयाँ लिने गरेको थियो । 

नगरकोट जाने विदेशी पर्यटकका लागि दोहोरो कर लिएको भन्दै होटल व्यवसायी र स्थानीय बासिन्दाले विरोध गरिरहेका वेला सीमामा पर्ने चार नगरपालिकाले बिहीबार चार बुँदे निर्णय गरेका हुन्। 

नगरकोट नगरपालिकाले भने यही २६ गतेबाट लागू हुने गरी तत्कालका लागि कर उठाउने काम बन्द गर्ने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए। ‘मण्डनदेउपुरले पनि कर उठाउन थालेपछि करको विषयमा धेरै विवाद निस्केका कारण तत्कालकf लागि नउठाउने निर्णय गरेका छौँ”, नगरप्रमुख मिश्रले भने।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाका अनुसार दुई जिल्लाबीचका चार नगरपालिकाले समेटेका सिमाना छुट्याउन नापी विभागमा अनुरोध गर्ने, नगरकोट एकीकृत नगर विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउने सहमति भएको छ। त्यसका लागि मण्डन देउपुर र चाँगुनारायण नगरपालिकाले खर्च व्यहोर्ने, नगरकोट पर्यटन क्षेत्र घोषणा गर्न नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डलगायत सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको छ।

यस्तै भक्तपुरबाट नगरकोट जाने सडक ठेक्का लिएको चार वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले काम नगरेको  सन्दर्भमा सडक विभागलगायत निकायको ध्यानाकर्षण गराउन पहल गर्ने निर्णयसमेत भएको छ ।  

हिमशृङ्खला र बिहानको अवलोकन गर्न नगरकोटमा बाह्य तथा आन्तरिक पर्यटकको घुइँचो लाग्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.