|

भोजपुर : मुख्य नगदेबालीको रूपमा लिइने अलैँची खेतीमा रोगको प्रकोप बढ्न थालेपछि पछिल्लो केही वर्षयता भोजपुरका कृषकहरू चिन्तित बनेका छन्। धेरै मिहिनेतले लगाएको अलैँचीको पातमा कीरा लाग्ने, छिर्के फुर्के, गानो कुहिने, पात कालो भएर सुक्ने जस्ता रोग र ढुसीजन्य प्रकोप देखिएपछि खेती नै मासिने अवस्थामा पुगेको भोजपुर नगरपालिका- १० भैँसीपंखा खुरिलाका देवराज राईले बताए।

रोग पहिचान भए पनि विविध जैविक कीटनासक औषधि प्रयोगले पनि रोग नियन्त्रणमा नआउनाले अधिकांश अलैँची बगानहरू खाली हुने क्रममा रहेको राईको गुनासो छ। राईले भने, ‘अलैँचीबाट राम्रो आम्दानी हुन्छ भनेर खेती सुरु गरेको थिएँ तर अलैँचीमा अनेकथरी रोगको प्रकोप बढेपछि बगान खाली हुने अवस्थामा छ।’ 

यसरी दिन प्रतिदिन बढ्दै गएको रोगको प्रकोपले अलैँचीको बगान नै पूरै मासिने संभावना बढेको र बगान खाली हुने भएको भोजपुर नगरपालिका- १० भैँसीपंखा खुरिलाका मनाहाङ राईको गुनासो छ। 'यसरी दिनदिनै रोगको प्रकोप बढेको बढ्यै छ। रोगलाई निर्मूल पार्न धेरै प्रयत्न गरेँ तर पनि सकिनँ। विस्तारै पूरै बगानमा फैलिएको रोगले सबै अलैँचीका बोटहरू धमाधम मर्न थालेका छन्', राईले भने, 'अब भने यो खेतीलाई विस्थापित गरेर अलैँचीको सट्टा अन्य बाली लगाउने तयारीमा छु।'

अलैँचीमा रोग देखा नपर्दा करिब ४ वर्ष अघिसम्म बगानमा कम्तीमा पनि सातदेखि आठ मनसम्म फलाएको भोजपुर नगरपालिका- १० का रामकुमार राईले बताए। तर अहिले रोग देखा पर्न थालेपछि यो वर्ष अलैँचीको उत्पादन ह्वात्तै घटेर त्यही अलैँची बगानमा झण्डै दुई मन मात्रै फलेको राईले जानकारी दिए।

यता, कृषि ज्ञान केन्द्र भोजपुरले अलैँचीमा लागेको रोग नियन्त्रण गर्ने क्रममा रहेको जनाएको छ। अलैँचीमा देखिएको रोगको प्रकोपलाई नियन्त्रण गर्न बगान व्यवस्थापन र प्रांगारिक मलको प्रयोग गर्नुपर्ने केन्द्रका सूचना अधिकारी युकमणि भट्टराईले बताए।  सूचना अधिकारी भट्टराईका अनुसार अलैँचीमा लागेको रोगका कारण जिल्लाको अलैँची उत्पादनमा समेत ह्रास ल्याएकाले रोग नियन्त्रण गर्न कार्यालयले प्राविधिक सहयोग गरिरहेको र दक्ष प्राविधिकहरू त्यस क्षेत्रभित्र खटाइरहेको छ। भट्टराईले भने, 'जिल्लाका अधिकांश कृषकहरू बगानमा देखिएका विविध खालका रोगको समस्या लिएर कार्यालयमा आउने गरेका छन्।कृषकहरूले उठाइरहेको समस्यालाई समाधान गर्न हाम्रा स्थानीय तहका कृषि शाखामा रहेका कृषि प्राविधिकहरू लागिरहेका छन्।

साविकको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लाका दोभाने, खावा, ओख्रे, तिम्मा, श्यामसिला, षडानन्द नगरपालिका, कोट, सिद्धेश्वर, चम्पे, बोखिम, भैँसीपंखा, बोया, गोगने, खार्ताम्छा, कुदाककाउले, हेलौछालगायत करिब ३६० हेक्टर क्षेत्रमा अलैँची खेती गरिँदै आइएको छ।

रोगको प्रकोपसँगै बाँदर आतंकले हैरान

रोगको प्रकोप बढेर अलैँची उत्पादनमा एकातिर ह्रास आयो, अर्कोतिर पछिल्लो केही वर्षयता अत्यधिक मात्रामा बढेको बाँदर आतंकले समेत खुरिलाका अलैँची कृषकहरू चिन्तित बनेका छन्। विशेषगरी खोला बगरका क्षेत्रमा रहेको अलैँची बगानमा दिनरातै बाँदरले अलैँचीको नल च्यातेर नष्ट पार्न थालेपछि कृषकहरू चिन्तित बनेका हुन्। वर्ष दिनसम्ममा गोडेमेल गरी मलजल, स्याहारसुसार गरेको अलैँची बाँदरले बगानमै आएर अलैँचीको गुबो (नयाँ उम्रिएको टुसो) नै खाने, अलैँचीको नलको बीचैमा च्यातिदिने गरेर दुःख दिएको कृषकको गुनासो छ।

अलैँचीको आम्दानीले खर्च धान्नै मुस्किल

तीन वर्षअघिसम्म जिल्लाको हरेक गाउँगाउँमा अलैँचीको मूल्य प्रति मन ८५ हजारदेखि एक लाख १० हजार रुपैयाँसम्म भएपछि घरैमा अलैँचीका ठेक्कावालहरूले अलैँची किनेपछि भोजपुर नगरपालिका- १० भैँसीपंखा जिमीगाउँका दुर्योधन राई दंग परेका थिए। आफूले खेती गरेको पाँच रोपनी जग्गामा फलेको साढे सात मन अलैँचीले राम्रो भाउ पाएपछि उनले हर्षित हुँदै सयौँ मुरी धान फल्ने १९ रोपनी खेतमा फेरि इलामबाट विभिन्न राम्रा जातका अलैँची ल्याएर लगाए। तर अलैँचीले राम्रो भाउ पाउला र अझै माथि उकास्ला भन्ने हेतुले पसिनाको खोलो बगाउँदै अलैँची खेतीमा तल्लीन भएर लागेका राईको पछिल्लो दुई वर्षयता अलैँची फलाइको तुलनामा बजार मूल्य आधाभन्दा धेरै घट्यो। अलैँचीबाट राम्रो लाभ लिने उनको त्यो सपना र मिहिनेतलाई खोलामा बगेको पानी जस्तै बनाइदियो।

मूल्य घटे पनि गत वर्षहरूमा अलैँचीबाट घाटा नहुने आशले अलैँचीमै दिनरात बिताएका दुर्योधनलाई पछिल्ला वर्षहरूमा अलैँचीको बजार दिन प्रतिदिन घट्दै जान थालेपछि झनै चिन्तित बनायो। कडा मिहिनेतले दिनरात झरी बादल नभनी अलैँची पेसामा पसिनाको खोलो बगाए पनि अन्ततः मूल्यमा आएको दिन प्रतिदिनको गिरावटले अहिले उनलाई अलैँची खेती काउसो जस्तै लाग्न थालेको छ।

‘प्रत्येक वर्ष अलैँचीको भाउ घटेको घट्यै छ। फलेको अलैँचीबाट काम गर्ने श्रमिकलाई दिने ज्यालासम्म धान्ने आम्दानी बन्न सकेको छैन। खै खेती छोडौँ भने यतिका धेरै धान मकै फल्ने खेतबारी बरबाद पारेँ, अब गरौँ भने पनि अलैँचीको आकाशिएको बजार मूल्य अहिले धर्ती चुम्न लागिसक्यो’, उनले भने, ‘सुरुमा दलालहरू अलैँची घरैमा किन्न आएपछि आउने वर्ष झन राम्रो भाउ होला भनेर सबै खेत मासेर अलैँची लगाइयो। अन्तिममा भाउ एकाएक घटेपछि पहिला जस्तो अलैँची लिन दलालहरू पनि गाउँ पस्न छाडे।’

गत २०७२ सालमा अलैँचीको बजार मूल्य आकाशिएपछि भोजपुरका अलैँची कृषकहरू कडा मिहिनेतका साथ लगातार अलैँची विस्तारमा लागे। तर वर्सेनि आएको अलैँचीको बजार मूल्य गिरावटले सारा मिहिनेत खेर गएपछि उनीहरू अलैँची खेतीबाट हतोत्साहित बने। राम्रो बजार मूल्य पाएपछि छोराछोरीको पढाइ र घरखर्च राम्ररी धान्ने हेतुले भएको आलु, मकै, कोदो र धान खेतीलाई थाँती राखेर अलैँची लगाएका भैँसीपंखाकै अर्का किसान प्रेमकुमार राईलाई पनि उस्तै पीडा आइपरेको छ। अलैँचीबाट राम्रो लाभ लिएपछि ज्यालादारीमा काम लगाएको श्रमिकलाई ज्याला तिर्छु भनेर छरछिमेकमा ऋण लिँदै श्रमिकको ज्याला तिर्दै आएको बताउँदै उनले भने, ‘भाउ नभएपछि श्रमिकहरूलाई ज्याला छरछिमेक र आफन्तमा हारगुहार गर्दै ऋणपान गरेर चलाउनुपरेको छ। के गर्नु, अलैँचीको आम्दानीले श्रमिक ज्याला नै धान्न छाडिहाल्यो। आफ्नो कडा मिहिनेत मात्रै हुन्छ, अलैँचीको बजार भाउ दंग पर्ने खालको छैन।’

अन्तर्राष्ट्रिय बजारमै नेपालबाट निर्यात गरिने अलैँचीको मूल्यमा आएको गिरावटले गर्दा आम्दानीभन्दा धेरै श्रम हुने गरेको किसानहरूको गुनासो छ। अलैँचीको उत्पादनअनुसारको बजार मूल्य नभएपछि सिजनका बेला ३५-३६ दिनसम्म लगातार कडा मिहिनेत गरेर बगानमा अलैँची टिप्ने, छोडाउने, सुकाउने, ओसार्ने, गोडमेल गर्ने, पानी लगाउने काममा श्रमिकलाई दिइने ज्याला मात्रै दुइृ लाखदेखि तीन लाख रुपैयाँसम्मको हाराहारीमा आउने गरेको अलैँची कृषकहरूले बताए।

उत्पादन घटेर आम्दानीभन्दा ज्याला बढी तिर्नुपरेको पीडा एकातिर छ, अर्कोतिर भाउ लगाउने ठेकेदारले अलैँची कमसल भयो भन्दै अलैँची नउठाइदिने भएकाले आफ्नो कडा मिहिनेत बालुवामा पानि खन्याएजस्तै भएको खुरिलाकै अर्का अलैँची कृषक मिलन श्रेष्ठको गुनासो छ। श्रेष्ठका अनुसार गाउँमा एक जनाको अलैँची बगानमा करिब सय-डेढ सयको हाराहारीमा अलैँची टिप्ने खेतालाहरूलाई प्रति व्यक्ति कम्तीमा पनि ५०० रुपैयाँ ज्याला दिएर मेलामा काम गर्न लगाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.