|

तेह्रथुम : लालीगुराँस नगरपालिकाको वसन्तपुरमा निर्माण गरिएको चोलुङ्ग पार्कमा सोमबारदेखि लागेको उँधौली मेला सम्पन्न भएको छ। मेलामा लिम्बू जातिका झाँकीहरुका साथ स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट सांगीतिक तथा साहित्यिक कार्यक्रम गरेर समापन भयो। 

लिम्बू जातिको पहिचान झल्काउने उँधौली मेला गत सोमबार उद्घाटन भएको थियो। मेलाको उद्घाटन गर्दै प्रदेश एकका प्रमुख गोविन्दबहादुर तुम्बाहाङ्गले लिम्बू समुदायको जन्म, मृत्यु, विवाह, उँधौली उँभौली जस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित कार्यहरु गर्नका लागि चोलुङ्ग पार्कको महत्व रहेको बताए। पार्कमा यी पर्व र संस्कारका लागि चाहिने आवश्यक सामानसमेत राखिएको छ। लिम्बू जाति प्रकृतिपूजक मानिन्छन्। 

उँधौलीमा भाग लिन स्थानीय गाउँसहरका साथै धरान, विराटनगर, काठमाडौं, भारत, बेलायत, सिंगापुरलगायतका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली भाषी लिम्बू र अन्य किराँत समुदायका अगुवाहरुको सहभागिता रहेको थियो। लालीगुराँस नगरपालिकाको सहयोगमा लिम्बु जातिको संस्कारमा आधारित अन्तर्राष्ट्रिय स्तरको यो पार्क नेपालमा नै निर्माण गरिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताएका छन्। 

ढुङ्गालाई विशेष देवताको रूपमा पूजा गर्ने लिम्बू जातिको धेरै पुरानो परम्परा रही आएको नगर प्रमुख माबाहाङ्गले बताए। लिम्बू समुदायको धर्म ग्रन्थको रूपमा लिइने मुन्धुममा ढुंगालाई विशेष महत्व दिइएको छ।  जन्मँदा होस् वा मृत्यू हुँदा लिम्बु जातिले ढुंगालाई विशेष महत्व दिएको पाइन्छ। विश्वका सम्पूर्ण लिम्बूहरुले जन्मेदेखि मृत्युपर्यन्तका कार्यहरु सम्पन्न गर्नको लागि यो पार्क नै एक मात्र स्थान हुने कुरा लिम्बू मुन्धुमविदहरुको भनाइ रहेको छ। लिम्बू संस्कारमा प्रयोग हुने ढुङ्गा, धनुकाँण, बन्दुक, सिमाला लगायतका ऐतिहासिक सामानहरु संकलन गरेर राख्ने काम भैरहेको नगर प्रमुख माबोहाङले बताए। पार्कलाई लिम्बूहरुको चोलुङ्ग (सिद्धिस्थल) को रुपमा विकास गर्ने लक्ष्यका साथ काम गरिएको उनको भनाइ छ। 

लिम्बु जातिको विशेषता झल्काउने यो पार्कमा लागेको मेलामा कोदाको रोटी, फापरको रोटी, मकैको रोटी, सेलरोटी, मकैभटमास, गुन्द्रुकको अचार, टिमुरको अचार, याङ्गवेन, ढिंडो, तोङ्वा, सुकुटी, उसिनेका आलुलगायत अर्गानिक खानेकुराहरु राखिएका थिए। यस किसिमका अर्गानिक र मौलिक खानेकुरा खान पाएकोमा आफूहरु आल्हादित भएको मेलाका सहभागीहरुले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.