|

मोरङ : मोरङको मिक्लाजुङ-१ स्थित टाँडी माध्यमिक विद्यालयमा पुस्तकालयको स्थापना गरिएको छ। टाँडी माविका पूर्वविद्यार्थी हेमन यात्रीको सक्रियतामा स्थापना गरिएको पुस्तकालयको एक कार्यक्रमका बीच उद्घाटन गरिएछ।

राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पुस्तकालय उद्घाटन तथा मिक्लाजुङ गाउँपालिकाव्यापी कविता प्रतियोगिताको आयोजना समेत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि व्याकुल माइलाले विश्वका जुनसुकै मानिसहरू पनि अध्ययन गरेर शक्तिशाली भएको बताउँदै निरन्तर रूपमा पुस्तक अध्ययन गर्नुपर्ने बताए। उनले आफ्नो गाउँमा पुस्तकालय स्थापना गर्नु सराहनीय रहेकाले कवि हेमन यात्रीको प्रशंसा गर्दै भने, 'आफू पढेको स्थानमा सहयोग गर्नु अनुकरणीय छ, परिवर्तनको नाममा आफैँ सुरुवात गर्नु महत्वपूर्ण हो।' मानिस पढेरै शक्तिशाली भईने र पुस्तक पढ्नैपर्ने उनको तर्क थियो।

कार्यक्रममा कवि मनु मञ्जिलले आफैँबाट पढ्ने बानीको विकास गर्नुपर्ने बताए। विद्यालयको किताबभन्दा पनि अन्य पुस्तकहरू पढ्न जोड दिँदै मञ्जिलले भने, 'हामीले दिनको ३० पेज किताब पढ्ने बानीको विकास गर्न सक्यौँ भने जीवन सार्थक हुन्छ।' शिक्षकले विद्यालयको किताब मात्रै पढाउनुभन्दा पनि विद्यार्थीलाई सधैं आफूभन्दा अगाडि पुर्‍याउनका लागि पढ्नुपर्नेमा जोड दिए। 'भवन ठड्याएर मात्रै केही हुन्न, चौरमा पढ्नुस् तर पढ्न नछाड्नुस्,' उनले भने, 'पढ्ने मानिस संसारकै शक्तिशाली हुन्छ।'

विद्यार्थीले कोर्सको किताब मात्रै नभएर अन्य पुस्तकहरू पढ्नुपर्नेमा उनको जोड थियो।

पुस्तकालय स्थापना गर्नका लागि सक्रिय रहेका विद्यालयका पूर्वविद्यार्थी तथा कवि हेमन यात्रीले आफूले नयाँ पुस्तक संकलन गर्नका लागि करिब डेढ लाख खर्च गरेको र अन्य पुराना गरि दुई हजार बढी पुस्तक संकलन गरि पुस्तकालय स्थापना गरिएको बताए। 'यो पुस्तकालय स्थापना गर्नका लागि सहयोग गर्ने मानिस नभएको भए पुस्तकालय स्थापना हुने थिएन,' यात्रीले भने, 'करिब ६ लाख रुपैयाँ मूल्यका किताब यो पुस्तकालयमा संग्रहित छन्।'

कार्यक्रममा सञ्जीब राई, प्रकाश थाम्सुहाङ, सुन्दर कुरूप र देवान किराँती कविता वाचन गरेका थिए भने स्थानीय गायक नितेश राईले गीत गाएका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमृतकुमार राई, कार्यक्रम संयोजक पर्वत राई, मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी लगायतले बोल्दै गाउँमा पुस्तकालय उद्घाटन गरेर उदाहरणीय काम भएको बताएका थिए।

त्यस अवसरमा अन्तर विद्यालयस्तरीय कविता प्रतियोगिताको आयोजनासमेत गरिएको थियो। प्रतियोगितामा अनुरा पौडेल प्रथम, सुबासना राई द्वितीय, सुस्मिता राई तृतीय र नलिना बास्तोला शान्तवना भएका थिए। उनीहरूले क्रमशः पाँच हजार, तीन हजार, पन्ध्र सय र पाँच सय रुपैयाँसहित प्रमाणपत्र हात पारेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.