|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक शनिबारदेखि जारी छ। नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा विशेषतः बैठकको पहिलो दिन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित छ।

राजनीतिक प्रतिवेदनमाथि नेताहरूले टिप्पणी गर्नेक्रम जारी छ। नेकपाको स्थायी कमिटी ४५ सदस्यीय रहेको छ। जसमध्ये आमन्त्रितसहित झण्डै ५० सदस्य स्थायी कमिटीमा रहेका छन्। बुधबारसम्म नेकपाका २६ जना नेताले मात्र आफ्नो धारणा तथा टिप्पणी राख्ने मौका पाएका छन्। सबै नेताहरू धारणा राख्ने पर्ने भएकाले बैठक अझै केही दिन लम्बिने देखिन्छ।

नेकपाको बैठक खासगरी अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी संगठनको काम, सरकारको कामकारबाहीमा केन्द्रित हुने कार्यसूची छ तर हालसम्म बैठक राजनीतिक प्रतिवेदनमा मात्रै छलफल भइरहेको छ। साथै आफ्नो बोल्ने पालो आउदै गर्दा नेताहरूले आफ्नो फरक धारणा लिखित वा मौखिक रूपमा राखेर सञ्चारमाध्यमलाई तरंगित बनाउँदै छन्।

गुटगत आधारले जिम्मेवारी नबाँडौँ

बैठकको पहिलो दिन नेकपाका सचिवालय सदस्य बामदेव गौतमले १६ पेजको आफ्नो विचार बैठकमा प्रस्तुत गरे। नेता गौतमको विचार पार्टीको काम तथा सरकार सञ्चालनका लागि सहयोगी बन्न भनेर नेताहरूले अर्थ्याता पनि त्यो फरक मतकै रूपमा आएको थियो।

मंगलबारको बैठकमा अर्का नेता भीम रावलले लिखित टिप्पणी राखेर बैठकलाई थप तरंगित बनाए। १४ पेजमा ३५ वटा विभिन्न बुँदामा नेता रावलले पार्टी नेतृत्व, सरकारको काम, पार्टी संगठन, पार्टी एकता लगायतका विषयमा चर्को टिप्पणी गरे। उनले नेता गौतमले राखेको विचारको समर्थनसमेत गरेका छन्।

अहिलेसम्म बैठकमा आफ्नो धारणा राख्‍ने नेताहरूले पार्टीले न्यायोचित ढंगले जिम्मेवारी बाँडफाँड गर्न नसकेको गुनासो गरेका छन्।

बैठकको पहिलो दिन आफ्नो लिखित विचार राख्दै नेता गौतमले पार्टी विरोधी तथा कम्युनिस्ट विरोधीहरूमा अवसरहरू खोजिरहेको बताएका छन्। उनले पार्टीका निम्ति दुःख गरेका नेता कार्यकर्ता अवसरबाट बञ्चित भएको टिप्पणी गरेका छन्। उनले यस्तै अवस्था रहेमा भोलिका दिनमा पार्टी जनताबाट अस्वीकृत हुने आशंकासमेत राखेका छन्। 'कुनै निश्चित क्षेत्र र आग्रहमा अवसरको केन्द्रीकरण भइरहेको आवाज उठ्न थालेको छ', गौतमले भनेका छन्, 'यस्तै अवस्था रहेमा आगामी निर्वाचनमा पार्टी जनताबाट अस्वीकृत हुनेछ।'

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वले जिम्मेवारी बाँडफाँड गर्दा काखापाखा गरेको बताइन्। पार्टी नेतृत्वले सबैलाई समान व्यवहार गरेर जिम्मेवारी बाँडफाँड गर्नुपर्ने तर त्यस्तो नभएको उनले गुनासो गरिन्। उनले 'कसैलाई खातैखात कसैलाई रित्तोहात' गरिएको गुनासासमेत गरिन्। 'पार्टी नेतृत्वले नै गुटगत व्यवहार गर्नुभएन। नेतृत्व गुटमा संलग्न छ। आफ्नो आफ्नो मान्छे मात्र तानेको छ', उनले भनिन, 'योग्यता क्षमता भएकालाई वास्ता छैन। यसरी कसरी हुन्छ। त्यसैले गुटबन्दी अन्त्य गरौँ। कसैलाई खातैखात छ। कोही जिम्मेवारीविहीन छन्।'

उनले पार्टी एकताको मर्म र भावना नेतृत्वले बोक्न नसकेको गुनासोसमेत गरिन्। उनले एकता प्रकृया माथिदेखि तलसम्म तत्काल टुंग्याउनुपर्ने बताइन्। उनी भन्छिन्, 'पार्टी एकता भएको यत्रो समय भइसक्यो। सबैतिर बहुमत छ तर पार्टी एकता भएको सात महिनासम्म पनि एकता टुंगिन सकेन।'

नेकपाका अर्का नेता योगेश भट्टराई योगेश भट्टराईले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यवहारसँग जोडेर कडा टिप्पणी गरेका छन्। उनले पनि नेतृत्वले गुटका आधारमा पार्टी चलाइँदा कसैलाई जिम्मेवारीको खातैखात दिएको र कसैलाई बेवास्ता गरेको भट्टराईले आरोप लगाए। 'पार्टीभित्र कसैलाई जिम्मेवारीको खातैखात र जिम्मेवारीको हिसाबले कसैको छिँडीमुनिको बास भएको छ', नेता भट्टराईले भने। खासगरी यो समस्या पूर्वएमालेभित्र रहेको उनको भनाइ छ।

पार्टी विधानको भावनाअनुसार र सरकार जनताको अपेक्षाअनुसार नचलेको भन्दै भट्टराईले पार्टी नेतृत्व र सरकारको आलोचना गरे। नेता भट्टराईले पार्टी सिद्धान्तका आधारमा नभई केवल गुटका आधारमा चलाइएको दाबी गरे। पार्टी नीति, विधि, विधानअनुसार नचलेको भन्दै उनले अब नयाँ मापदण्ड बनाएर शिरदेखि पुछारसम्म एकीकरण गर्नुपर्नुपर्ने बताए। 'को मन पर्छ, को मन पर्दैन, व्यक्तिको अनुहार हेरेर जिम्मेवारी दिनतिर नलागौँ, प्रणालीबाट जाऔँ,' नेता भट्टराईले भने 'त्यसो गर्न सकियो भने पुस महिनाभित्रमा एकीकरण टुंग्याउन सकिन्छ। एकएकजना छान्न थाल्दा त्यसले अन्तरविरोध निम्त्यायो।'

नेकपाका सचिवालय सदस्य भीम आचार्यले पार्टीभित्र लोकतान्त्रिकरण जरूरी भएको औँल्याए। उनले पार्टी नेतृत्वले विधानअनुसार सबैलाई न्याय हुने ढंगले काम गर्नुपर्ने बताए। 'पार्टीभित्र बैठक, छलफल नहुने परम्परा तोडौँ। पार्टीमा लोकतान्त्रिकरण जरूरी छ', उनले भने, 'बामदेवको विचारमा मेरो समर्थन छ। त्यसका राम्रा कुरालाई सुधार गरेर जाऊँ। कम्युनिस्ट पार्टीको सरकार सफल हुने हिसाबले जानुपर्‍यो।'

यसबाहेक उनीहरूले पार्टी नेतृत्वको सरकारले जनभावनाअनुसार काम गर्न नसकेको भन्दै सरकारको कामको मूल्यांकन गरेर मन्त्रिपरिषद् पुर्नगठन गर्नसमेत माग गरेका छन्। बुधबारको बैठकमा आफ्नो धारणा राख्दै नेता रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरेका हुन्। 'सरकारको कामको समीक्षा प्रधानमन्त्री स्वयम्ले गर्नुपर्‍यो,' उनले भने, 'सरकारको गतिशीलता देखा परेन। प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर मन्त्री हेरफेर गर्नुपर्‍यो।' पार्टीमा काम गर्न सवल, सक्षमहरू एकसेएक रहेको बताउँदै उनले अक्षम, विवादमा परेकालाई मन्त्रिपरिषदमा राखिरहन नहुनेमा जोड दिए।

यो पनि पढ्नुस्ः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.