|

  • नमिन ढकाल-

इलाम : १० वर्षअघि एक किलो चियाको मुना बिक्री गर्दा ४० रुपैयाँ पाउने भएपछि साखेजुङ ७ कि मिलनकुमारी खत्रीले खाद्यबाली मासेर चिया खेती सुरु गरिन्। सुरुमा बिक्रीबाट आम्दानी राम्रै भयो। तर धेरै टिकेन। हरियो पत्तिको मूल्य किलोको ८ रुपैयाँमा झर्‍यो। 'त्यो पनि राम्रो मुना भएन भन्दै कारखानाको दिनैपिच्छेको गाली गर्न थाल्यो' मिलनकुमारीले सम्झिइन्।

उनले खेतबारीमा अरु बाली मासेर चिया लगाइसकेकी थिइन्। अब चिया बगान मास्न मन लागेन। बरु आफै चिया प्रशोधन गर्ने साहस गरिन्। तर उनीसँग चिया प्रशोधन गर्ने ज्ञान र उपकरण केही थिएन, थियो त केबल आँटमात्र।

'पैसा नभएपनि हिम्मत नहारी चियाको मुनालाई दिनभर घाममा र बेलुकी चुलोमा सुकाएर तयारी चिया बनाएँ। चैत -वैशाखमा घाममा सुकाएर तयार पारेँ जेठ, असार र साउनमा चुल्होमा सुकाएर बनाएँ' उनले भनिन्।

दुख गरेर बनाएको चिया खेर भने गएन। बिक्री गर्न टाढा पनि जानु परेन, गाउँमा नै किलोको २ सय रुपैयाँसम्ममा बिक्री भयो। त्यसले झन् हौसला दियो। 'अनुमानका भरमा बनाएको चियापनि राम्रो मूल्यमा बिक्री भएपछि उत्साह झन् बढदै गयो,  त्यसपछि टिनको पातामा चिया सुकाएर तयार गरेँ' उनले शुरुको वर्ष तीन सय किलो तयारी चिया बिक्री गर्न सफल भइन्।

शुरुमा लेकको आलु, छुर्पी र घ्यूसँग चिया साटेर भएपनि आफ्नो लगानी उठाउने योजना थियो उनको।  तर इलाम घुम्न आउने स्वदेशी र विदेशी पर्यटकले उनको चिया मन पराइदिएपछि बिक्री नै गर्न पाइन्। घरेलु तथा साना उद्योग विकास समितिले गरेको प्रदर्शनीमा पनि सहभागी हुन पाइन्।

उनको मेहनतलाई सम्मान गर्दै  घरेलु तथा साना उद्योग विकास समितिले चिया निर्माणका लागि रोलिङ मेसिन सहयोग गर्‍यो।

यसरी फड्को मार्‍यो ब्यवसायले

दैनिक ५० किलो हरियो मुना सुकाएर चिया बनाउन थालेकी मिलनकुमारी खत्रीले अहिले दैनिक एक हजार किलोसम्म प्रशोधन गर्न सक्ने उद्योग स्थापना गरेकी छन्। सुरुमा आफ्नै बारीमा उत्पादन हुने हरियो मुना मात्र प्रशोधन गर्ने उनले अहिले ३ सय जना किसानबाट हरियो मुना  संकलन गर्छिन्। उनको उद्योगले लेकाली कृषि सहकारी संस्था, प्रगतिशील कृषक समूह र सिर्जनशील कृषक समूहमा आवद्ध किसानबाट हरियो चियाको मुना खरिद गर्छ।

हरियो मुना बिक्री गर्ने किसानलाई ठूला चिया कारखानाले भन्दा बढी मूल्य दिने गरेको उनी बताउँछिन्। पूर्ण जैविक तरिकाले उत्पादन भएको हरियो चियापत्ती प्रशोधन गरी तयार पारेको चिया सुरुमा रुसमा निर्यात हुदै आएकोमा अहिले ताइवान, बेलायत, अमेरिका लगायतका मुलुकमा समेत ठूलो परिमाणमा निर्यात हुँदै आएको छ। उद्योगबाट बार्षिक झन्डै ५० हजार केजी चिया उत्पादन हुने मिलनकुमारीले बताइन्।

'विदेशबाट त वर्षमा ३० टनको माग आउँछ तर इलाममा अर्गानिक उत्पादन छैन त्यसैले माग अनुसार निर्यात गर्न सकिएको छैन' उनले भनिन्। उनको उद्योगमा ग्रीन टि, ह्वाइट टी र ब्लायक टि तयार हुन्छ। उद्योगमा तयार पारेको ह्वाइट टि नेपाली तीन हजार पाँच सयमा बिक्री हुने गरेको छ। किसानहरुले रासायनिक बिषादी प्रयोग गरेर चिया उत्पादन गर्न थालेपछि भने चियाको अन्तर्राष्ट्रिय बजार घटदै गएको उनको गुनासो छ ।

मिलनकुमारीले उद्यमी मात्र नभएर गाउँमा जैविक चिया उत्पादनका लागि अभियान चलाएकी छन्। जुनबेला ठूला कारखानाबाट उत्पादित चिया भारतका बजारमा बिक्री हुन मुश्किल थियो त्यहीबेला उनको चिया रुस निर्यात हुन्थ्यो। रासायनिक मल प्रयोग गरेको चिया तेस्रो मुलक निर्यात ठप्प भएका बेला रुसमा चिया निर्यातबाट राम्रो आम्दानी भएको उनी बताउँछिन्।

उद्योग स्थापना भएपछि गाउँका १० जनाले नियमित रोजगार पाएका छन्। सिजनमा २५ जनालाई रोजगार दिएकी छन्। उनी भन्छिन् 'अरुको भर पर्नुभन्दा आफै केही गर्ने प्रयास गरे अवश्य सफल भइनेछ।' हालै मनाइएको ३६ औं विश्व खाद्य दिवसको अवसरमा उनलाई उत्कुष्ट चिया उद्यमीको रुपमा पुरस्कार समेत प्रदान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.