|

काठमाडौं : पाइलट एवं संचार उद्यमी क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक कृति ‘बारुदमाथि उड्दा’ एक साताअघि बजारमा आएको छ। ‘फ्लाइङ करिअर’मा नौ हजार घण्टा बढी समय आकाशमा उडेका क्याप्टेन थापा माओवादी ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका व्यक्ति हुन्।

रामेछापको बेथानदेखि सिन्धुलीको भीमान, रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुलेलगायत ४० बढी स्थानमा भएका आक्रमणको घटना र त्यसबेलाको अवस्था र उद्धारमा हुँदा आफूले अनुभव गरेका कुरा पुस्तकभित्र राखेको क्याप्टेन थापा बताउँछन्। काभ्रेपलाञ्चोकको सामान्य किसान परिवारमा जन्मिएका क्याप्टेन थापा हेलिकोप्टर पाइलट बनेर व्यावसायिक रूपमा हेलिकोप्टर उडान गर्दा देश ‘जनयुद्ध’मा होमिसकेको थियो। यसै दौरानमा उनले गरेका जोखिमपूर्ण अनुभव र रोचक किस्सा पुस्तकमा समेटेको उनले बताए।

नेपालमा तत्कालीन नेकपा माओवादी र सरकारबीच भएको द्वन्द्व आफूले नजिकबाट नियालेको हुँदा आउँदो पुस्तालाई पनि यस विषयमा कुनै अनुसन्धान र ज्ञान लिन खोजे पुस्तकले महत्त्वपूर्ण सहयोग गर्ने उनले बताए। 'यो पुस्तक विशेष गरेर २०५२ देखि १० वर्ष चलेको द्वन्द्वमा आफूले गरेको उद्दारमा खटिँदा भोगेका र देखेका घटनाहरूको सार हो', उनी भन्छन्, ‘बारुदमाथि उड्दा दर्शन वा राजनीतिक कृति होइन। मेरो लेखनको उद्देश्य व्यक्ति वा राजनीतिक समूहप्रति लक्षित होइन। यो हामीले भोगेका दुःखद क्षणको वर्णन हो।'

हेलिकोप्टर उडाएर युद्धस्थलमा जाँदा जति बेला पनि ज्यान गुमाउन सक्ने सम्भावना पनि उस्तै रहेको उनले बताए। यस कारण आफू कता जाँदै छु, कतिखेर आउँछु भनेर कहिल्यै आफ्नो परिवारलाई पनि नभनेको उनले बताए।

उनले पुस्तक लेखनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेरणा दिएको पनि भन्न छुटाएनन्। ‘शान्ति प्रक्रियापश्चात ओलीले मलाई सशस्त्र भीडन्तका बारे देखे भोगेका कुराहरूलाई लिपिबद्ध गर्न पटक पटक भन्नुभएको थियो। हरेक भेटमा तपाईंले लेखेर कहाँ पु‍र्‍याउनुभयो भनी सोध्ने गर्नुहुन्थ्यो', उनी भन्छन्, 'उहाँको त्यो घचघचाहटयुक्त उत्प्रेरणा एवम् शुभेच्छुकहरूको आग्रहका कारण मेरो भोगाइले पुस्तकको रूप पाएको छ।’ उनी ओलीप्रति पनि अनुगृहीत बने।

यस पुस्तकलाई पत्रकार राजाराम गौतमले सम्पादन गरेका हुन्। १० वर्ष अगाडिको कुरा हो, जुन बेला राजाराम गौतम कान्तिपुर दैनिकसँग आबद्ध थिए। त्यसबेला क्याप्टेन रामेश्वर थापा आफूलाई भेट्न आएको गौतम सम्झिन्छन्। द्वन्द्वकालको समयमा धेरै ठाउँमा गएर रिपोर्टिङ गरेको यही पृष्ठभूमिमा रहेर रिपोर्टिङ गरेको हुनाले थापाको किताब सम्पादन गर्न उत्साहित बनेको उनले बताए। क्याप्टेन थापा एक व्यावसायिक पाइलटको रूपमा कार्यरत हुँदा उनले सेनाको हेलिकोप्टर पनि चलाएका थिए। त्यो कुराले पनि उनलाई धेरै आकर्षित गरेको थियो। उनी भन्छन्, 'त्यस बेलाको समयमा सामान्य नागरिकले सेनाको हेलिकोप्टर चलाउनु ज्यादै नौलो कुरा थियो।' एउटा साधारण नागरिकले राज्यका लागि तत्कालीन अवस्थामा यस्तो काम गर्नु त्यति सहज थिएन। यिनै अनेक अनुभवहरूलाई सँगालेर पुस्तकको रूपमा जनतासम्म आउन सके रोचक हुन सक्थ्यो भन्ने उनलाई लाग्यो।

१० वर्षे जनयुद्धलाई जुन हिसाबले आमजनताले हेरिरहेका छन्, त्यसभन्दा फरक तरिकाले पनि मान्छेले बुझ्न सक्छन् भन्ने आफूलाई लागेको उनले बताए। यसले पछिल्लो पुस्ताका लागि अनुसन्धान गर्न पनि सहज भूमिका खेल्न सक्छ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। आगामी पुस्ताले नयाँ कोणबाट पनि जनयुद्धलाई बुझ्न सक्छन् भन्ने लागेर नै थापाले आफूलाई यस पुस्तक लेखनको हिस्सा बनाएका हुन् कि भन्ने आफूलाई लागेर सहकार्य गर्न आफू सहमत भएको गौतमले बताए।

क्याप्टेन थापाले आफूले भोगेका अनुभवहरू डायरीमा लेखे पनि आफूलाई बढी नै जोखिम रहेकाले सबै डायरी जलाइदिए। उनको स्मृतिमा रहेका कुरा मात्र यस पुस्तकभित्र रहेको गौतमले बताए। 'केही घटनाहरू फिल्मका दृश्य जस्ता पनि रहेका छन्। यस पुस्तकका सबै घटनाहरू यथार्थ नै हुन्', गौतमले भने। यसलाई झन् गहिराइमा पुर्‍याउन र घटनाहरूको पुष्टिका लागि थापाका टिम मेम्बरसँग पनि आफूले भेटेर कुराकानी गरेका छन् गौतमले। सेना प्रहरीका उच्चअधिकारीहरूदेखि लिएर सामान्य त्यस बेलाका घाइते जवानहरूसँग भेटेर कुरा गरिसकेपछि यो किताब तयार भएको गौतम बताउँछन्।

पुस्तक लेख्न लामो समय लागेको उनले बताए। झण्डै १० वर्ष लागेको र आफ्ना साथी सर्कलले पनि यो पुस्तक कहिले आउँछ भनेर घच्घच्याइरहेको उनले सम्झिए। सुरुवातका एक-दुई वर्ष काममा तीव्रता दिए पनि। आफू अन्नपूर्ण पोस्ट्को सम्पादक भएर गएपछि व्यस्तताले गर्दा पुस्तकको काममा ढिलासुस्ती भएको उनी स्वीकार्छन्। क्याप्टेन थापाको जीवनका धेरै रङहरू तर यस पुस्तकमा दुई पाटाहरू रहेको उनले जानकारी दिए। एउटा, उनी सामान्य परिवारमा जन्मिएर कसरी हेलिकोप्टर पाइलट बने? अर्को, हेलिकोप्टर पाइलट बनिसकेपछि जनयुद्ध हुँदा उद्धार कार्यमा कसरी जोडिन आइपुगे भन्ने फेरिहस्त नै यस पुस्तक रहेको गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.