|

विराटनगर : कानेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरणसिंह गुरुङलाई चन्दा असुलीको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ। गुरुङले क्रसर उद्योग, ढुंगागिट्टी, बालुवा निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीको अनुमति दिएको आरोप छ।

अवडाध्यक्ष गुरुङले कानेपोखरी–५ को चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ भन्दै रसिद बनाएर ट्रयाक्टर र ट्रिपरबाट पैसा असुल गर्न अनुमती पत्र दिएको पाइएको छ। उनले प्रतिट्रिपर चन्दा स्वरुप १०० रुपैयाँसम्म स्थानीय उपभोक्तालाई दिनुपर्ने क्रसर उद्योगी र सर्वसाधरणसँग सहमति गराएका थिए। गुरुङ आफैं क्रसर व्यवसायी हुन्।

यसअघि पनि पदको दुरुपयोग गरी अवैध ढंगले नदीजन्य वस्तुको निकासी गर्ने गरेको स्थानीयको आरोप छ। चन्दा असुलीको आरोपमा दुई जना पक्राउ परेको विषयमा स्थानीयले विरोध गर्दै खोलाबाट खोलाजन्य पदार्थ निकासीमा रोक लगाएका छन्। 

कानेपोखरी–५ र बेलबारी नगरपालिका–८ को बीचमा पर्ने समिर नाका र शान्ति टोल नाकाबाट अवैध चन्दा असुली गरेको भन्दै प्रहरीले कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो। उनीहरु धरौटीमा रिहा भएका छन्। उनीहरुले वडाध्यक्षकै अनुमतिमा चन्दा असुल गरेको बताएपछि गुरुङलाई पूर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

अवैध ढंगले चन्दा असुल गराउने र दुई जनालाई पक्राउ गराउने पनि वडाध्यक्ष गुरुङ नै रहेको स्थानीय मोहन कटुवालले दाबी गरे। उनले भने, ‘क्रसरको व्यापार गर्ने र अवैध निकासी गर्ने पनि उनै अध्यक्ष हुन्, उनलाई हदैसम्मको कारबाही हुनुपर्छ।’

वडाध्यक्ष गुरुङ तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्। प्रहरीले पक्राउ पूर्जी काटेसँगै उनी शुक्रबारदेखि फरार रहेको प्रहरीले जनाएको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पक्राउ परेका युवाहरुले अध्यक्ष गुरुङकै आदेशमा चन्दा उठाएको बताएपछि उनलाई खोजी गरिएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.