तयारी अन्तिम चरणमा

|

डडेल्धुरा : ‘परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५’ को तयारी अन्तिम चरणमा पुगेको छ। डडेल्धुराको भित्रमधेशमा पर्ने परशुराम नगरपालिका ५ परिगाउँमा अवस्थित परशुराम धामा आयोजना गरिन लागेको महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो।

यही पुस ३० गतेदेखि माघ ८ गतेसम्म आयोजना हुने महामहोत्सवको तयारी ९० प्रतिशत सकिएको आयोजनक परशुराम नगरपालिकाका नगर प्रमुख तथा परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५ का संयोजक भीमबहादुर साउँदले जानकारी दिए। नगर प्रमुख साउँदले परशुराम धामको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि महामहोत्सव आयोजना गरिएको बताए। चार धाममध्ये एक प्रमुख धामका रूपमा रहेको परशुराम क्षेत्रको पुरातात्त्विक धार्मिक महत्त्व तथा इतिहासबारे प्रचारप्रसार गरी प्रवर्द्धनमा टेवा पुर्‍याउन महोत्वसको आयोजना गर्न लागिएको उनको भनाइ छ।

‘यो देशकै ठूलो धार्मिक पवित्रा धार्मिक स्थल हो। यसलाई भगवान विष्णुको छैठौँ अवतारका रूपमा लिइन्छ। भगवान परशुरामले यहीँ क्षेत्रमा तपस्या गरेको र यसै क्षेत्र उहाँहरू पनि जन्म भएको पुराणमा उल्लेख छ’ नगरप्रमुख साउँदले भने, ‘यो ओझेलमा परेको क्षेत्रलाई पहिचान गर्नुका साथै परशुराम धाम क्षेत्रलाई सांकृतिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न र यसको महत्वलाई देश विदेशमा चिनाउन महामहोत्वसको आयोजना गर्न लागका हौँ।’

बिहीबारसम्म गेट निमार्ण, स्टल वितरण, महाज्ञयको लागि स्टेजलगायतका महत्वपूर्ण कार्य अन्तम चरणमा पुगेको नगर प्रमुख साउँदले जानकारी दिए।

महामहोत्सवको देउवाले उद्घाटन गर्ने

परशुराम धार्मिक, पर्यटन महामहोत्सवको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने जनाइएको छ। डडेल्धुरा देउवाको गृहजिल्ला पनि हो। महामहोत्सवमा महास्नान, गंगा आरती, मकर महास्नान, योग विज्ञान शिवीर, नित्य पुजन, संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, देउरा दर्शन, दिवा कार्यक्रम, रात्रि कार्यक्रमहरू प्रस्तुत हुने मुल आयोजकले जनाएको छ।

'सबै तीर्थ पटक–पटक परशुराम एक पटक’ स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त वचनले नै परशुराम तीर्थको धार्मिक महत्व दर्शाउँछ। भगवानका दश अवतारमध्ये परशुराम अवतार भएको उक्त धाम डडेलधुराको परशुराम नगरपालिका–५ महाकाली किनारमा रहेको छ।

श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जगदग्नि र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरूमा वर्णन गरिएको छ। एला र श्यामाको संगममा जगदग्नि पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ। हैयेय वंशी क्षत्रीले पिता जगदग्निको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयको अत्याचार कम गर्न क्षत्रीय विनास गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ।

परशुराम धाममा संगम, कुण्ड, विष्णुमन्दिर, चक्रतीर्थ, धर्मद्वार, वरपीपल, छत्रशीला, महालिंग, महाकाली नदी, एला, रेणुकालगायतका प्रमुख धार्मिक स्थलहरू रहेका छन्। परशुराम तीर्थमा स्नानको निकै ठूलो महत्व रहेको बताइन्छ। परशुराम धाममा मकर स्नान अर्थात् माघ स्नानको निकै ठूलो महत्व रहेको छ।

परशुराम क्षेत्रमा वामघाट (वाङघाट), परशुराम घाट, देवघाट, परीकुण्ड, श्रीकुण्ड, सप्तहृद, एलाथीर्थ, परीतीर्थ, देउराहरू रहेका छन्। त्यस्तै, रेणुका मन्दिर, लिंगा, परशुराम मन्दिर, शिव मन्दिरलगायतका मन्दिर तथा संरचना रहेको छ।

माघे संक्रान्तिमा भव्य मेला

परशुराम धाममा पुस महिनाको मसान्त तथा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्छ। परशुराम धाममा रहेका चुनढुंगा भगवान् परशुरामले तपस्या गरेपश्चात होम गरेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ।

पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जाग्राम बस्ने गर्दछन्। माघ १ गते बिहान ४ बजेदेखि महाकाली किनारमा नुहाउने भक्तजनहरूको पनि भिड लाग्छ। माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ।

मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आउने गरेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेमचन्द ठकुरीले जानकारी दिए। सबै तीर्थ पटक–पटक परशुराम एकपटक’ स्कन्द पुराणको मानसखण्डमा उल्लिखित उक्त वचनले नै परशुराम तीर्थको धार्मिक महत्व दर्शाउँछ। परशुरामा २२ वटा देउराहरुले स्नान गरी महाकालीको लैजाने गर्दछन्।

हिन्दु देवीदेवताका तेत्तीसकोटी मठ मन्दिरमध्ये परशुराम तीर्थ मात्र एउटा यस्तो पवित्र धाम हो जस्को संसारमा अन्यत्र कहीँ पनि मन्दिर पाइँदैन। स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णा्गिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए। पछि ईश्वरीय अवतारका लागि यही भूमिमा परशुरामले तपस्या सफल पारे। परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन्।

सम्बन्धित समाचार

गंगास्‍नानको समान पुण्य प्राप्त हुने ‘परशुराम धाम’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.