|

काठमाडौं : सिंहदरबारको पूर्वी गेटमा एक बालक खेलिरहेका छन्। सिंहदरबारको गेटमा ड्युटी गरिरहेकी महिला प्रहरी जवान बारम्बार बालकतर्फ नजर राख्छिन्। सिंहदरबारमा आउजाउ गर्ने कर्मचारी र सेवाग्रहीको जाँच हुँदै गर्दा प्रहरी जवानसँगै बालक पनि देखिन्छन्।

प्रहरी जवान हुन्, अनिता श्रेष्ठ। दगुर्दै आएका बालकलाई काखमा लिएर उनी केही खानेकुरा दिन्छिन्। यी बालक उनका छोरा हुन्। अनिताले काखमा छोरा बोकर ड्युटी गरिरहेकी छिन् अनिता। छोरालाई काखमा बोकेरै गेटमा छिर्ने र निस्कनेमाथि उनले निगरानी गर्नु उनको दैनिकी बनेको छ।

'छोरा पनि सँगै ल्याउनुभएको?' प्रश्न पूरा हुन नपाउँदै उनले मुस्कुराउँदै जवाफ दिइन्, ‘बाबु तीन महिनाको हुँदादेखि नै यसरी ड्युटी गरिरहेकी छु।’उनको मुस्कानले सरकारी योजना र शिशु स्याहारको अवस्थालाई गिज्याउँछ।

किनकी सरकारले कार्यस्थल महिलामैत्री बनाउने योजनासहित शिशुस्याहार र स्तनपान कक्ष राख्न मातहतका कार्यालयलाई निर्देशन दिएकोे छ। यो वर्षभित्र विमानस्थल, अस्पताललगायत विभिन्न क्षेत्रमा कम्तिमा पनि ३० वटा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउने घोषणा भएको छ। तर, देशकै मुख्य प्रशासनिक निकाय सिहंदरबारमा कार्यस्थलमा स्तनपान कक्ष नै छैन। भएको शिशु स्याहार केन्द्र पनि राम्रो छैन। दिवा शिशु स्याहार केन्द्र, सिंहदरबार परिसरमा कार्यरत महिला कर्मचारीका लागि प्रयाप्त छैन। 

अझ अनिताजस्तै ड्युटीमा खटिने सुरक्षाकर्मीलाई सिहंदरबारभित्रको दिवा शिशु स्याहार केन्द्रमा राख्ने अनुमति छैन। सुरक्षा निकायका कर्मचारीका लागि बग्गीखानामा शिशु स्याहार केन्द्र छ तर बग्गीखानामा छोरा राखेर सिंहदरबारका ड्युटी गर्न अनितालाई सहज भएन्।

‘बग्गीखानामा राख्दा असहज भएकाले यतै ल्याएकी,’ उनले भनिन्, ‘भोकाएको बेलामा दूध खुवाउन जाने समय पनि मिल्दैन, यहाँको केन्द्रमा निजामती कर्मचारीले मात्रै बच्चा राख्न पाइन्छ।’ उनले आफूलाई ड्युटी गर्दै गर्दा छोरालाई स्तनपान गराउन समस्या हुने गरेको बताइन्। ‘छेउ लागेर बाबुलाई दूध खुवाउनुपर्छ,’ उनले भनिन्, ‘यसै गरेर छोरा हुर्किन लागिसक्यो, अहिले डेढ वर्षको भयो।’

अनिता मात्र होइन्, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत नायव सुब्बा अमृता भट्टराई काखमा बच्चा च्यापेरै कार्यालय पुग्छिन्। सिहंदरबारभित्र भएको दिवा शिशु स्याहार केन्द्रमा बच्चालाई राखेपनि बच्चालाई भोक लागेको बेला स्तनपान गराउन समस्या हुने अमृताले सुनाइन्।

‘बच्चा ल्याएर छोडेर काममा गयो, उता बच्चा भोकाउँछ, आफू जतिबेला पनि निस्कने कुरा भएन,’ उनले भनिन्, ‘खाजा खाने बेलामा जाँदा कहिले बच्चा निदाएको हुन्छ, कहिले त्यहीको खाना खाइसकेको हुन्छ। सिंहदरबार भित्र बच्चाहरूलाई खासै राम्रो अवस्था छैन।’ उनले कार्यस्थलमै स्तनपान कक्ष राखिए सजिलो हुने बताईन्। काम गर्ने ठाउँमै स्तनपान गराउन पाए बच्चा भोकाएको बेलामा खुवाउन पाइने उनले बताइन्।

ड्युटीमा खटिने सुरक्षाकर्मीलाई सिहंदरबारभित्रको दिवा शिशु स्याहार केन्द्रमा राख्ने अनुमति छैन। सुरक्षा निकायका कर्मचारीका लागि बग्गीखानामा शिशु स्याहार केन्द्र छ तर बग्गीखानामा छोरा राखेर सिंहदरबारका ड्युटी गर्न सहज भएन्।

आमा कर्मचारीका लागि यो नियती नै हो। सिंहदरबारभित्र कुनै पनि मन्त्रालयमा शिशु स्याहार कक्ष छैनन्। भएको एउटै शिशु स्याहार कक्षमा संख्या बढी भए राख्न पाइँदैन। महिला तथा बालबालिका मन्त्रालयमा कार्यरत शाखा अधिकृत पवित्रा ढकालका अनुसार अहिले त्यहाँ शिशु राख्नका लागि गर्भमा रहदैँ नाम टिपाउनुपर्छ।

ढकालले अहिले सोही केन्द्रमा बच्चा राखेकी छिन्। एक सातादेखि केन्द्र बन्द छ। केन्द्र आडिको सडक निमार्ण भैरहेकाले बन्द भएको उनले सुनाइन्। सिंहदरबारभित्र काम गर्ने आमा कर्मचारीहरू बच्चा स्याहार गर्नै समस्या भएपछि बिदा बस्न पनि बाध्य छन्। ‘एक जना म्याडमले त बिदै लिएर बस्नुपरेको छ,’ बालबालिका मन्त्रालयमा कार्यरत उषा थापाले भनिन्। 

सिहंदरबारभित्रको शिशु स्याहार केन्द्रमा काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न विभाग र कार्यालयमा कार्यरत कर्मचारीले शिशु राख्छन्। केन्द्रले महिलालाई सजिलो हुनुको सट्टा अप्ठ्यारो भएको कर्मचारीहरू बताउँछन्। बिहान बच्चा केन्द्रमा राखेर टाढा–टाढा जाने महिलाहरू बेलुकी लिन आउँछन्। कार्यालय र स्याहार केन्द्र टाढा हुँदा कसैले काखैमा बोकेर काम गरिरहेका छन्। केहीले असहज हुँदा हुँदै केन्द्रमा बच्चालाई छाडेर काम गरिरहेका छन्।

नेपालमा गरिएको पछिल्लो जनसांखिकीय स्वास्थ्य सर्वोक्षणअनुसार बालबालिकामा स्तनपानदर घट्दो छ। २५ वर्षअघि स्तनपानदर ७५ प्रतिशत रहेकामा अहिले घटेर ६६ प्रतिशतमा आएको छ। बजारमा पाइने बट्टाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता पनि घट्दै गएको अनुसन्धानहरूले देखाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.