|
म्यान अफ दि म्याच पुरस्कार लिँदै रुपन्देहीका दीपक राई

सुरुङ्गा : झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप अन्तर्गत आइतबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तरले हराउँदै रुपन्देही–११ सेमिफाइनलमा प्रवेश गरेको छ।

रुपन्देहीका लागि दुबै गोल दीपक राईले गरे। स्थानीय कनकाई क्याम्पसको मैदानमा जारी नकआउट चरणको प्रतियोगितामा रुपन्देहीले सुरुदेखि नै आर्मीलाई दबाबमा राखेको थियो। खेलको ३४ औँ मिनेटमा रुपन्देहीले गोलको खाता खोलेको हो। असिमजङ्ग कार्कीको पासलाई दीपकले सुन्दर ढंगले गोलमा परिणत गरेका हुन्।

दोस्रो हाफमा रुपन्देही अझ आक्रामक बन्यो। ४६ औँ मिनेटमा विजय धिमालले प्रहार गरेको बल रिबाउन्ड हुँदा त्यसलाई दीपकले नै गोलमा परिणत गरे। त्यसपछि भने आर्मीले लय समातेको थियो। ८० औँ मिनेटमा आर्मीका कप्तान भरत खवासले टिमका लागि पहिलो गोल गरे। दीपक गुरुङको फ्रि–किकलाई उनले गोलमा परिणत गरेका हुन्।

आर्मीका आशलाग्दा खेलाडी नवयुग श्रेष्ठले कप्तान भरतसँग तालमेल मिलाउन खोजे पनि सफल भएनन्। खेल अवधिभर आर्मीका कप्तान भरतले गोल गर्ने थुप्रै अवसर खेर फाले। दोस्रो हाफमा रुपन्देहीका मोउसाले भरतलाई लडाएपछि आर्मीले फ्रि–किक पाएको थियो। तर, सन्तोष तामाङले प्रहार गरेको फ्रि–किक बाहिरियो।

चारआली व्यारेकका नेपाली सेनाको हुटिङमा हौसिएको आर्मीले इञ्ज्यूरी समयमा खेल बराबरी गर्न कडा मेहनत गरेपनि त्यो व्यर्थ रह्यो। खेलमा रुपन्देहीका मौसा, शुसील केसी र मेयोङ तथा आर्मीका कप्तान भरतले पहेँलो कार्ड पाए। 

खेलको म्यान अफ द म्याच रुपन्देहीका दीपक राई घोषित भए। उनले धनलक्ष्मी इन्टरप्राइजेजका तर्फबाट इन्फोकस स्मार्ट फोन पाए। खेलमा पहिलो गोल गरेवापत उनलाई बिर्तामोडका युवा व्यवसायी एसपी प्रसाईले नगद दुई हजार प्रदान गरे।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले मिसपास बढी भएका कारण खेल गुमाउनु परेको प्रतिक्रिया दिए। उनले भने, ‘रुपन्देहीको स्ट्राइकिङ लाइन राम्रो रह्यो, दीपक र असिमले राम्रो खेले।’ आर्मीको मिडफिल्डर नचलेको र पाएका अवसर पनि गुमाएको प्रशिक्षक न्यौपानेले बताए।

रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले टिमवर्क राम्रो भएकाले आफ्नो टोलीले जित निकालेको प्रतिक्रिया दिए । अर्को खेलमा विमल घर्तीमगरलाई स्ट्राइकिङ लाइनमा उतार्ने उनले जानकारी दिए।

प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा घरेलु टोली झापा–११ ले विभागीय टोली एपीएफको सामना गर्ने आयोजक सुरुङ्गा जेसीजकी अध्यक्ष सरला पोखरेलले बताइन्। शनिबारको उद्घाटन खेलमा आयोजक सुरुङ्गालाई ४–० गोलअन्तरले पाखा लगाउँदै नेपाल पुलिस क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार र उपविजेताले २ लाख ५१ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.