|

लहान : सप्तरी प्रहरीले स्वतन्त्र मधेस गठबन्धन (डा.सि.के.राउत) सम्बद्ध चारजना कार्यकर्तालाई पोष्टर टाँस्दै गरेको अवस्थामा पक्राउ गरी सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मधेस केन्द्रीत दलहरुले माघ ५ गते मनाउँदै आएको बलिदानी दिवसको सन्दर्भमा पोष्टर टाँस्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरिएको हो। स्वतन्त्र मधेस गठबन्धनमा सक्रिय चार जनालाई राजविराज नगरपालिका ११ कोशी नहरको झलही पुल आसपासको क्षेत्रमा पोष्टर टाँस्दै गरेको अवस्थामा पोष्टर र फ्रि मधेस लेखिएको ब्यानरसहित पक्राउ गरिएको हो। 

पक्राउ पर्नेहरूमा सप्तरीको राजविराज नगरपालिका ११ फर्सेट बस्ने २३ वर्षीय श्यामकुमार यादव, १९ वर्षीय सरोजकुमार यादव रहेका छन्। त्यस्तै सप्तकोशी नगरपालिका १० फत्तेपुरका १९ वर्षीय अविनास पण्डित र तिलाठी कोइलाडी गाउँपालिका २ का २८ वर्षीय सुशील मण्डललाई पोष्टर टाँस्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले विद्यालय उमेरका किशोरलाई प्रलोभनमा पारी कार्यक्रममा सहभागी गराउन पोष्टर टाँस्न लगाएको हुन सक्ने जनाएको छ। पक्राउ परेकालाई आइतबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी बालबालिका ऐन २०७५ बमोजिम बालबालिका दुरुपयोग कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.