मुख्य न्यायाधीश पनि सचिवालय तानिए

|

विराटनगर : ३८ क्विन्टल सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरणमा आरोपितबारे विवादास्पद थुनछेक आदेशलाई लिएर न्यायाधीशमाथि नै शंका गर्दै न्यायपरिषद्ले धमाधम कारबाही गरिरहेको छ।  

पछिल्लो पटक न्याय परिषद्ले शंकाको घेरामा परेका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई पनि कारबाहीस्वरुप सचिवालयमा तान्ने निर्णय गरेको छ। यसअघि न्यायपरिषदले न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई सचिवालय तानेको थियो। 

जिल्ला अदालतले सुन काण्ड र सनम शाक्य हत्याको मुद्दामा गरेको फैसलाको उच्च अदालतले धमाधम उल्ट्याएको थियो। उल्लेखित चार न्यायाधीशहरूले आफ्नो बेन्चमा मुद्दा नपारेको भन्दै उच्च अदालत बार इकाईको सहयोग लिँदै वेञ्च बहिष्कार गराउनेसम्मका भूमिका खेलेको चर्चामा आएको थियो। त्यसपछि उनीहरूकै बेञ्चमा मुद्दा पारेपछि धमाधम दोषीलाई धरौटीमा छाड्ने आदेश आएको थियो। उच्च अदालतले पहिलो पटक जिल्ला अदालतको आदेश सदर गर्दै डिएसपी सञ्जय राउतलाई थुनामै राख्न आदेश दिएपछि न्यायाधीशहरूले चलखेल सुरु गरेका थिए। 

मुख्य न्यायाधीशलाई ‘ट्र्याप’ मा पारेर न्यायाधीशहरूले अन्य व्यक्तिको मुद्दामा आफ्नो बेञ्चमा पार्ने गरी दबाब दिएको सार्वजनिक भएको थियो। त्यसपछि अदालतको आदेशमा जिल्ला अदालतका सरकारी वकिलको कार्यालयका कतिपय कानुन व्यवसायीले आशंका समेत गरेका थिए। न्याय परिषदले यसबारे छानविन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडालाई तोकेको छ। 

सुन तस्करी र हत्यासम्बन्धी घटनामा प्रहरीद्वारा अदालतमा पेश गरिएका अभियुक्तमध्ये उच्च अदालत विराटनगरको आदेशमा अहिलेसम्म १२ जना रिहा भएका छन्। १२ जनाको मुद्दामा फैसला हुन बाँकी छ। १५ जना अभियुक्तलाई जिल्ला अदालतले गरेको फैसला नै सदर भई पुर्पक्षमा थुनामा छन्। भरिया भनिएकालाई पुर्पक्षका लागि थुनामा राखिएको छ। उच्च ओहदाका प्रहरी अधिकृत, योजनाकार र लगानीकर्ता भनेर अभियोग लगाइएकाहरू भने थुनामुक्त भएका छन्।

७५ जनाविरुद्ध मुद्दा चलाइएकोमा प्रहरीले जिल्ला अदातल मोरङ समक्ष ४५ जनालाई पेश गरेको थियो। उनीहरूमध्ये ४२ जनाले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा साधारण तारेखमा छाड्न माग गर्दै अदालती बन्दोबस्तीको १७ नम्बर पुनरावेदन गरेका थिए। घटनामा संलग्न भएको अभियोग लगाउँदै जिल्ला प्रहरी कार्यालय मोरङले २०७४ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी १७ अर्ब एक करोड ८० लाख मूल्य बराबरको करिब ३८ क्विन्टल सुन तस्करी गरेको आरोपमा चूडामणि उप्रेती (गोरे), प्रहरीका बलावाला र पूर्वउच्च अधिकृतसहित ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।

पुरक अभियोग लगाइएका समेत प्रहरीले विभिन्न समयमा ४५ जना अभियुक्तलाई अदालतमा पेश गरेको थियो। तर जिल्लाको अदालतको आदेश उल्टयाउँदै उच्च अदालतका न्यायाधीहरूले प्रहरीको उच्च तहका प्रहरी अधिकारीहरूलाई साधारण तारखेमा विभिन्न मितिमा छोड्न आदेश दिएका थिए। मुद्दा चलाइएका बहालबाला र पूर्वप्रहरी अधिकृतमध्ये पाँचजना साधारण तारेखमा छुटेका छन्। दुई जनालाई पुर्पक्षमै राख्न आदेश भएको छ। यसअघि भएको जिल्ला अदालतको आदेशमा उल्ट्याउँदै पाँच हजार धरौटीमा छुटेका विष्णु खड्का र साधारण तारेखमा छुटेका अमरबहादुर थापामगरलाई भने उच्च अदालतले थुनामै राख्न आदेश दिएको छ। खड्का एसएसपी श्याम खत्रीका ड्राइभर र थापामगर बडीगार्ड हुन्।

उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स कर्मचारी अमरमान डंगोललाई थुनामै राख्न बिहीबार आदेश दिएको छ। मुख्य न्यायाधीश कुलरन्त भुर्तेल र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङकै आदेशलाई सदर गरिदिएका हुन्।

गत २०७४ मंसिरमा थाई एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारिएको साढे ३३ केजी सुन गायब भएको थियो। २०७४ फागुन १८ गते यसका नाइके चूडामणि उप्रेती (गोरे) का सहयोगी मोरङ उर्लाबारीका युवा सनम शाक्य हत्या भएपछि घटना बाहिर आएको हो। सुन पठाउने क्रममा माघ ९ गते बाटोबाटै गायब भएको थियो। गोरेले आफ्ना लेखापाल सनम शाक्यलाई करेन्ट लगाएको भिडियो पनि सार्वजनिक भएको थियो। घटनापछि प्रहरीले गरेको अनुसन्धानको क्रममा संगठित रुपमा विभिन्न समयमा करिब साढे ३८ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

सरकारले यो घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.