|
प्रियंका गान्धी र राहुल गान्धी

भारतमा लोकसभा निर्वाचनको पूर्वार्धमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले पार्टीको आन्तरिक संगठनमा महत्वपूर्ण फेरबदल गरेको छ।

कांग्रेसले निर्वाचनको केही पहिले मात्रै अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंका गान्धीलाई आधिकारीक रूपमा राजनीतिक मैदानमा उतारेको छ। कांग्रेसले प्रियंकालाई महासचिव नियुक्त गरेर पूर्वी उत्तर प्रदेशको जिम्मेवारी दिएको छ।

बुधबार महासचिव नियुक्त भएकी प्रियंकाले उक्त जिम्मेवारी फेब्रुअरी पहिलो हप्ताबाट सम्हाल्ने बीबीसीले लेखेको छ। प्रियंकासँगै मध्यप्रदेशका युवा नेता ज्योतिरादित्य सिन्धियालाई पनि महासचिवमा नियुक्त गरिएको छ। सिन्धियालाई पश्चिमी उत्तर प्रदेशको जिम्मेवारी दिइएको छ।

प्रियंका र ज्योतिरादित्यलाई महासचिव नियक्त गरिएकोबारे अध्यक्ष राहुल गान्धीले भनेका छन्, 'प्रियंका र ज्योतिरादित्यलाई दुई महिनाका लागि मात्रै उत्तर प्रदेश पठाइएको होइन। मैले दुवैलाई युपीको विकासका लागि काम गर्न पठाएको हुँ। यसबाट युपीका युवाका आवश्यकता पूर्ति गर्न काम गर्न सकियोस् भन्ने हो। बहिनी राजनीतिमा सक्षम भएकोमा मलाई धेरै खुसी लागेको छ। युपीलाई नम्बर एक प्रदेश बाउनेछौँ।'

राहुलले प्रियंका लोकसभा चुनाव लड्ने संकेत पनि गरेका छन्। उनले ब्याकफुटमा नभएर फ्रन्टफुटमा खेल्ने भन्दै उक्त संकेत गरेका हुन्।

त्यस्तै, यसअघि युपीको जिम्मेवारीमा रहेका गुलाम नबी आजादलाई हरियाणा पठाइएको छ। त्यसैगरी केसी वेणुगोपाललाई प्रभावबाट संगठन महासचिवमा सरुवा गरेको छ। वेणुगोपाललाई अशोक गहलोत राजस्थानका मुख्यमन्त्री बनेपछि खाली रहेको स्थान दिइएको हो।

प्रियंका यसअघि पार्टीको आधिकारीक रूपमा पार्टी राजनीतिमा सक्रिय थिइनन्। उनले आमा सोनिया र दाइ राहुलको निर्वाचन क्षेत्र क्रमशः राय बरेली र अमेठीको चुनाव प्रचारको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। उनलाई पहिलोपटक पार्टीको महासचिवजस्तो ठूलो जिम्मेवारी दिइएको हो।

कांग्रेसभित्र भएको यो सांगठनिक परिवर्तनले उसको चुनावी माहोल थप मजबुद बनाउने विश्वास गरिएको छ।

भारतीय जनता पार्टीले भने यो नियुक्तिलाई लिएर आलोचना गरेको छ। भारतीय जनता पार्टीका प्रवक्ता संवित पात्राले भनेका छन्, 'सबैतिरबाट अस्वीकृत भएपछि परिवारभित्र नै सहयोगी खोजी भइरहेको छ। भाजपा र कांग्रेसमा एक अहम् फरक छ। भाजपामा पार्टी नै परिवार हो भने कांग्रेस परिवार नै पार्टी हो।'

प्रियंकाको यो नियुक्तिलाई लिएर भारतीय राजनीतिमा विविध प्रतिक्रिया आइरहेका छन्। उनलाई सोनिया गान्धीको निर्वाचन क्षेत्र राय बरेलीबाट लोकसभा निर्वाचन उम्मेदवार बन्ने अड्कल काट्न थालिएको छ। सोनियाले भने पार्टीको औपचारिक राजनीतिबाट सन्यासको घोषणा गरिसकेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.