|
तस्वीरः  रमन शिवाकोटी

काठमाडौं : नेपाली क्रिकेट टोलीले भोलि शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स युएईसँग एकदिवसीय शृंखला सुरु गर्दै छ। नेपाल र युएईबीच भोलि शुक्रवार पहिलो एकदिवसीय क्रिकेट हुनेछ। खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। खेल अनलाइन टेलिभिजनमार्फत हेर्न सकिनेछ। पर्सि शनिबार दोस्रो र आउँदो सोमबार तेस्रो तथा अन्तिम एकदिवसीय हुनेछ। नेपाली क्रिकेट टोलीले बिहीबार आज पनि मैदानमा अभ्यास गरिरहेको छ।

एकदिवसीय शृंखलापछि नेपाल र युएईबीच तीन म्याचको ट्वान्टी ट्वान्टी शृंखला सुरु हुनेछ। युएईकै मैदानमा हुने शृंखला नेपाली क्रिकेट टोलीका लागि निक्कै महत्वपूर्ण छ। जिम्बावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिताबाट सन् २०२२ सम्म ओडिआई स्टाटस पाएको नेपालका लागि  युएईसँगको शृंखला निकै महत्वपूर्ण छ।

ओडिआई र्‍याङकिङमा सामेल हुनका लागि यो शृंखलाले ठूलो अर्थ राख्छ। नेपालले एकदिवसीय मान्यता प्राप्त गरेको एकवर्ष पनि  भएको छैन। तर, युएईले सन् १९९४ मा पहिलोपटक एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो। तुलनात्मक रुपमा बलियो युएईसँग प्रतिस्पर्धाका लागि नेपालले कस्तो तयारी गर्‍यो त? नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले तयारी राम्रो भएकाले शृंखला जित्नेगरी आफूहरुले ब्‍याटिङ लाइन सुधार गरेको बताएका छन्।   

नेपाली क्रिकेट टोली जहिल्यै बलिङमा बलियो र व्याटिङमा कमजोर मानिँदै आएको छ। यसपटक आइसिसीले भारतको मुम्बई क्रिकेट टोली र अफगानस्तानको राष्ट्रिय टोलीमा प्रशिक्षक भइसकेका उमेश पट्वाललाई ब्‍याटिङ कोचका रूपमा खटाएको छ। क्रिकेटको मुख्य आधार ब्याटिङ हो। एक दिवशीय मान्यता पाइसकेको नेपाली टोलीको ब्याटिङ पक्ष पहिलेभन्दा फरक भइसकेको दाबी क्रिकेटर सोमपाल कामीको छ। उनी पहिले जस्तो नभएर अहिले ब्याटिङ सुधारिएको बताउँछन्। 

नेपालले गएको अगस्‍टमा नेदरल्याण्डसँग पहिलो पटक दुई म्याचको एकदिवशीय शृंखला खेलेको थियो। शृंखला बराबरीमा टुंगियो। पहिलो एकदिवसीय भने नेपालले युएईसंग खेलेको थियो। जुन खेलमा नेपाल पराजित भएको थियो। त्यसैले विगतका कमजोरी सच्चाउँदैं नेपालले एकदिवशीय शृंखलामा आफूलाई प्रस्तुत गर्नेछ। युएईसंगको शृंखला नेपालले अन्तर्राष्टिय क्षेत्रमा आफूलाई सावित गर्ने मौकाका रुपमा लिएको छ। नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रियस्तरमा चिनाउन शृंखला महत्वपूर्ण भएको बताए। 

नेपाली क्रिकेट आइसीसीको प्रतिबन्धमा छ। तर उसले नेपाली खेलाडीकै प्रदर्शनका कारण व्यवस्थापकिय क्षेत्रमा सहयोग गरिरहेको छ। आन्तरिक प्रतियोगिता नभएका कारण नेपाली क्रिकेटरले राम्रो अवसर पाउन सकिरहेका छैनन्। आन्तरिक प्रयोगिता नभए पनि नेपाली क्रिकेटर संघर्ष गरिरहेका छन्। नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले आन्तरिक विवादका बीचमा नेपाली क्रिकेट  टोलीले गरेको प्रगति राम्रो भएको बताए। विवाद  समाधानका लागि सबै क्षेत्रबाट पहल गर्न आवश्यक हुन्छ।

आन्तरिक विवादका कारण नेपाली क्रिकेट आइसीसीको प्रतिबन्धमा छ। नेपाल क्रिकेट संघ क्यानको विवाद अदालतमा लामो समयदेखि अड्किएको छ। नेपाल सरकार पनि क्रिकेटप्रति जिम्मेवार बन्न सकेको छैन्। सीमित साधन स्रोतकाबीच नेपाली क्रिकेटरहरुले खेल्नुपरिरहेको छ। अहिलेसम्म अन्तर्राष्ट्रियस्तरको एउटा पनि रंगशाला बन्न सकेको छैन। नेपाल सरकार र क्रिकेटको विकासमा लागेका व्यक्ति जिम्मेवार बनेर विवाद समाधान गर्न जरुरी छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.