|

रमेश रावल

कालिकोट : जिल्लाका १२ वटा गाविसमा उमेर नपुग्दै विवाह गर्नेको संख्या उच्च रहेको पाइएको छ। गाउँ बाल संरक्षण समितिको समन्वयमा किर्डाक नेपालले गरेको सर्वेक्षणमा यस्तो पाइएको हो।

विस २०७२ सालमा जिल्लाका लालु, माल्कोट, कुमालगाउँ, रुप्सा, कोटबाडा, रकु, मेहलमुडी, मु्रमा, राचुँली, दाहाँ, कालिका र पाखा गाविसमा भएका ३ सय ३२ वटा विवाहित जोडीमध्ये २ सय ३२ वटा विवाह उमेर नपुग्दै गरिएको सर्वेक्षणले देखाएको छ। 

नेपालको कानुनमा विवाह गर्नका लागि पुरुषको उमेर २० वर्ष र महिलाको उमेर १८ वर्ष ताकिएको भएपनि उमेर नपुग्दै विवाह गर्नेको संख्या उच्च रहेको गाउँ बालसंरक्षण समिति राचुँलीका खडकबहादुर शाहीले बताए। ‘जिल्लामा उमेर नपुग्दै विवाह गर्नेको संख्या उच्च रहेको छ’ उनले भने–‘सामाजिक चेतना लगाएतका कारणले सानै उमेर विवाह गर्नेको संख्या उच्च रहेको हो।’

उमेर नपुग्दै विवाह गर्नेमा सबैभन्दा बढी माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थी रहेको महिला तथा बालबालिका कार्यालय कालिकोट सुपरभाइजर गिता थापाले बताइन्। विद्यालय पढ्ने उमेरमा विवाह गर्दा कयौं समस्या आउने उनको भनाइ छ। ‘स्कुल जाने उमेरका धेरै विद्यार्थीले उमेर नपुग्दै विवाह गरेको पाइएको छ’ उनले भनिन्–‘यो एक प्रकारको जटिल समस्या हो।’

उमेर नपुग्दै विवाह गर्नेमा दलित समुदायका किशोरकिशोरी बढी रहेको तथ्याङ्कले देखाएको भन्दै महिला अधिकारकर्मी छायाँ सुनारले यस्ता विवाह रोक्न सम्बन्धित पक्षले समयमै कदम नचाले भोलिका दिनमा विकराल रुप लिने बताइन्। ‘विशेष गरेर गरिब र दलित समुदायमा उमेर नपुग्दै विवाह गर्ने चलन रहेको छ’ उनले भनिन्–‘समयमै सम्बन्धित पक्षले ध्यान नदिने हो भने भोलिका दिनमा समस्या झन जटिल बन्न सक्छ।’

बाल संरक्षण समितिले सर्वेक्षण गरेका १२ वटा गाविसमा दलित समुदायमा वर्षभरी १ सय ३१ को विवाह भएकामध्ये ९२ वटा विवाह उमेर नपुग्दै भएको भेटिएको छ।
कालिकोटमा बालबिवाह मुक्त घोषणा गरिएका गाविसमा पनि उमेर नपुग्दै विवाह गर्नेको संख्या पनि तिब्र रहेको किर्डाक, नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेले बताए। ‘जिल्लाका केही बालबिवाह मुक्त घोषणा गरिएका गाविसमा पनि उमेर नपुग्दै विवाह गर्नेको संख्या पनि उच्च रहेको पाइएको छ’ उनले भने –‘उमेर नपुग्दै हुने विवाहले समाजमा गलत संस्कारको विकास गरेको छ।’

उमेर नपुग्दै गरिने विवाहका कारणले महिलाहरुमा विभिन्न खाले रोग, बालबच्चामा कुपोषण, सम्बन्धबिच्छेदका घटना हुने गरेको जिल्ला अदालत कालिकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.