धार्मिक पर्यटकीय क्षेत्र मासिनेमा स्थानीय चिन्तित

|

संखुवासभा : भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि वरुण नदीको अस्तित्व खतरामा पर्ने भएको छ। मौलिक पहिचान बोकेको अलौकिक शक्तिसमेत रहेको भनिएको नदीको संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।  वरूण नदीबाट १ सय ३२ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न भन्दै एक सरकारी टोली वरुण पुगेको छ।

जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्न  भन्दै जलविद्युत् निर्माण कम्पनी एमपिक इनर्जी प्रालिको आयोजनामा गत मंसिर २२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न खोज्दासमेत स्थानीयले अवरोध गरेका छन्। स्थानीयले वरूण बचाउ सघंर्ष समितिसमेत गठन गरेर  प्रेस विज्ञप्ति जारी विद्युत् उत्पादनको विरोधमा उत्रिएको संघर्ष समितिका अध्यक्ष छिरुक भोटेले जानकारी दिए। अध्यक्ष भोटेले 'ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्व खलल पार्ने किसिमबाट भएका गतिविधिहरू कुनै हालतमा मान्य नहुने बताए। ऐतिहासिक मौलिक पहिचान बोकेको धार्मिक पर्यटकीय क्षेत्र वरूण नदीबाट बिजुली उत्पादन गर्न नदिइने भन्दै स्थानीयले विरोध गरेका छन्। वरुण नदीको आफ्नै मौलिक पहिचान रहेको भन्दै यो नदीबाट कुनै पनि हालतमा कुनै पनि किसिमको जलविद्युत आयोजना निर्माण गर्न नहुने स्थानीको  माग छ।

गोमुख गङ्गाको शिर वरूण नदी नै भएका कारण ८४ हजार पितृको उद्दारका लागि शिवजीले जटा फिँजाएर गङ्गाबाट सेचन लिएको स्थान वरुण नदी भएको समेत वेद पुराणमा पनि उल्लेख गरिएको छ।अहिले नदीमा उत्तर दक्षिण कोशी सडक निर्माणको क्रममा झरेको ढुङ्गा र बालुवाले नदी भरिएको छ। भक्तजनहरूले पूजा गर्ने पोखरीमा नै डोजर लगाइएको छ। यसरी पौराणिक महत्व बोकेको नदीको अहिले संरक्षण नहुँदा भोलि त्यसको अस्तित्व हराउने स्थानीय बताउँछन्।

वरुण नदीका विषयमा जानकार ताराबहादुर बुढाथोकीका अनुसार सत्य युगमा जलका देवता इन्द्रले संरक्षण गरेका ४ वटा दिक्पालमध्ये दोस्रो द्वारपालका रूपमा वरूणलाई लिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। नदीको पानीको रङसमेत अन्य नदीको भन्दा फरक अर्थात् नीलो रङको रहेको छ।

अहिले सो पानीको रङ भने विस्तारै पहिलेकै अवस्थामा फर्कन थालेको छ। सो नदीको किनारमा माघ १ गते लाग्ने मकर मेला, भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाबीचमा भेटघाट गर्ने मुख्य थलोको रूपमा लिइने गरेको छ। सो मेला र वरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले उत्तिकै महत्वका साथ हेर्ने हेर्ने गर्दछन्। अरुण र वरुण नदीलाई मामा र भान्जाको समेत संज्ञा दिएको पाइन्छ।

त्यसैगरी, भोटे सम्प्रदायमा वरूण ठेनेम्बा र हटिया ठेनेम्बा भनेर चिनिने २ वटा छाँगाहरू पनि सोही नदीमा रहेका छन्। यो नदीलाई पथ्थर चिरेको नदी भनेर समेत चिनिन्छ।  वरुण नदीमा माघ १ गतेका दिन मकर नुहाउने गरिन्छ। जिल्ला तथा जिल्ला बाहिरका दर्शनार्थीहरू सो नदीमा मकर नुहाउन पुग्ने गरेका छन्। माघे संक्रान्तिमा अरुण र वरुण नदीको संगम स्थलमा नुहाउने परम्परा अनुसार सो ठाउँमा मकर नुहाउने चलन पनि रही आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.