|

उदयपुर : जिल्ला अस्पताल गाईघाट तीन महिनादेखि अस्तव्यस्त बनेको छ। आकस्मिक सेवाका रूपमा लिइने जिल्ला अस्पताल उदयपुर गाईघाट प्रसूति सेवाविहीन बनेको छ, भने दरबन्दी अनुसारका डाक्टर नहुँदा सेवाग्राही मारमा परेका छन्।

अस्पतामा कार्यरत प्रसूति सेवासम्बन्धी डाक्टर सरुवा भएर गएपछि जिल्ला अस्पतालमा तीन महिनादेखि प्रसूति सेवाविहीन बनेको छ। जिल्ला अस्पतालका प्रमुख डाक्टर विष्णुबहादुर बस्नेतले प्रसूतिसम्बन्धी चिकित्सक पवन साह तीन दिनअघि सरुवा भएर गएपछि कोही पनि नआएको बताए। ‘भएका चिकित्सकहरुलाई पनि सरकारलेनै सरुवा गरेर पठाउँछ,’ उनले भने, ‘मागेको मागेकै छु, तीन महिना भयो प्रसूति सेवा सञ्चालन गर्न सकेको छैन।’

यता, बालिबालिका सेवा पनि ठप्प भएको छ। प्रसूतिसम्बन्धी बिरामीले उपचारको लागि एम्बुलेन्समा दशौँ हजार खर्च गरेर धरान तथा विराटनगर जान बाध्य भएका छन्। दैनिक उदयपुरको पहाडी क्षेत्र, खोटाङ लगायतका उपचार केन्द्र रहेको जिल्ला अस्पतालमा प्रसूति सेवा ठप्प भएपछि सर्वसाधारण मारमा परेको बताउँछन्।

चिकित्सक सरुवा हुनेबित्तिकै आफूले प्रदेश सरकारका सम्बन्धित मन्त्रीलाई तुरुन्त अर्को डाक्टर व्यवस्था गरिदिन अनुरोध गरे पनि अहिलेसम्म व्यवस्था हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारले बताए। ‘जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरूमो पूर्ति गर्न प्रदेश र संघीय सरकारलाई माग गरेको छु,’ उनले भने, ‘माथिल्लो निकायबाट पाठउँदैन, त्यसैकारण बेलाबेला अस्पतालका सेवा ठप्प हुने गरेको छ।’

दरबन्दीका डाक्टर नहुँदा गाईघाटमा महिनौँदेखि सेवा प्रभावित भएको छ। डाक्टर नहुँदा जिल्ला अस्पतालमा प्रसूति लगायतका अन्य सेवा अहिले बन्द भएको अस्पताला प्रशासनले जानकारी दिएको छ।

प्रमुख डाक्टर बस्नेतका अनुसार ५० शय्याको अस्पतालमा विशेषज्ञसहित १६ डाक्टर दरबन्दी छ। करारमा रहेका डाक्टर करार अवधि सकेर फर्किने आउने क्रममा भए पनि उनीहरूले भरपर्दो सेवा दिन सकिरहेका छैनन्। अस्पतालमा ११ औं तह प्रमुख कन्सल्टेन्ट १, विशेषज्ञ ९, मेडिकल अफिसर ४ जना र अन्य प्राविधिक र कर्मचारी गरी ५९ जनाको दरबन्दी भए पनि अधिकांश नभएको अस्पताल प्रमुख बस्नेतले जानकारी दिए।

दरबन्दी धेरै भए पनि अस्पतालमा बसेर काम गर्ने एकजना पनि विशेषज्ञ चिकित्सक छैनन्। अस्पताल केवल मेडिकल अधिकृत त्यो पनि अध्ययन सकेर प्राक्टिकल (सिकाइ अभ्यास) गर्न आउने चिकित्सकको भरमा चल्ने गरे पनि अहिले ठप्प छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.