|

काठमाडौं : केही महिनाअघि डा. अरूण सायमी नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई 'दुई तिहाइको सरकारले ढाल्न नसकेपनि व्याक्टोरियाले ढाल्न सक्छ' भन्ने टिप्पणीले चर्चामा आए।

नेपालको इतिहासमा नारायण गोपाल, मनमोहन अधिकारीदेखि लिएर वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीसम्मको उपचार गर्ने चिकित्सकको रूपमा पनि उनी चर्चित छन्। उनी शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका संस्थापक अध्यक्षसमेत हुन्।

केही महिनाअघि सायमीको आत्मकथा 'मेरो जिवन-कथा'  सार्वजनिक भयो। डा. सायमीले बाल्यकालदेखि स्कुल, शिक्षा, राजनीतिक यात्रा, राजनीतिक व्यक्तित्वसंगको भेटघाट, संगत तथा २०६२/६३ को जनआन्दोलन र महाभूकम्प २०७२ का प्रंसग समेटेर आत्म कथा लेखेको बताउँछन्।

चिकित्सा पेशापछिको उनको  समय लेखनमै बित्छ। उनीसँग  कापी र कलम कहिल्यै छुट्दैन। उनी भन्छन्, 'लेखन लत रहेछ। नलेखिरहन सक्दिन्।'

साहित्यकार बसन्तकुमार शर्माको अनुरोधका कारण आत्म कथा लेखेको उनी स्वीकार्छन्। शर्माले सायमीका समकालीनहरू एकपछि अर्को गरी मृत्युवरण गरिरहेको अवस्थामा कुन दिन मर्ने हो ठेगान हुदैन। डाक्टर मरे पनि उसले आफ्नो जीवनमा के कस्ता आरोह अवरोहहरू पार गर्यो भन्ने कुरा पाठकले पढ्न पाउछँन्। यसका लागि पनि तपाइले किताब लेख्नै पर्छ भनेर अनुरोध गरेको फलस्वरूप आत्मकथा आएको सायमी बताउँछन्।

'मेरा समकालीन साथीहरू उपेन्द्र देवकोटा, विरू राणा, गोविन्द शर्मा, भानुचन्द्र शाहको मृत्यु भयो। जसले कहिल्यै आफ्नो कथा भन्न पाएनन्।' सायमी भन्छन्, 'मरेपछि त सक्किहाल्यो नि। आफू बाँच्दै आफ्नो कथा लेखिहाल्नु पर्ने रहेछ भन्ने लाग्यो।' आत्मकथामा आफ्ना जीवनमा गरिएका सही र गलत कार्यहरूलाई  नबिराई जस्ताको त्यस्तै लेख्नुपर्छ भन्ने मान्यता राखिन्छ। आफ्नो किताब भित्र आफुले भोगेको जीवन बारे सत्य रूपमा प्रस्तुत गरेको उनी बताउँछन्।

सकारात्क विषयवस्तु जस‍ले गर्दा किताब पढ्ने पाठकमा सकारात्मक प्रभाव पार्न सकोस् भन्ने मनसायका कारण उनले आफ्नो आत्म वृतान्त लेख्न अगाडि बढेको बताए।

पुस्तक विमोचनका दिन प्रधानमन्त्री ओलीले भनेका थिए, 'सायमीको आत्मवृतान्त लेख्ने उमेर भएको छैन।' आत्मवृत्तान्त लेख्ने उमेर चाहिँ कति हो त? मान्छेको मृत्यु जहिले पनि हुन सक्छ। आफूले भोगेको जीवन लेख्नलाई वृद्ध नै हुनुपर्ने भन्ने नभएको तर्क राख्छन् उनी।

उनले जिन्दगीको पहिलो उपन्यास १९ वर्षको उमेरमा नेपाल भाषाको 'हाकुटा' अर्थात कालो पुल लेखेका थिए। यसको आफ्नै रोचक प्रसंग रहेको छ। उनका पिता धुस्वाँ सायमीले २० वर्षको उपन्यास लेखेका थिए। बाबु भन्दा सधै एक कदम अगाडि हुनुपर्छ भन्ने सोच राख्ने हुनाले पनि आफूले हाकुटा लेखेको उनले बताए। 

नयाँ पुस्ता पुरानो पुस्ताभन्दा चलाख, गतिशील, मेहनती हुनुपर्ने तर्क राख्छन् उनी।  बच्चामा आफ्ना बाबुसँग नेपाली साहित्यकाहरू भुपि शेरचन, शंकर लामिछाने, सत्यमोहन जोशी लगायतका स्रष्टाहरूको जमघट बाक्लो हुन्थ्यो। नेपाली साहित्य क्षेत्रका व्यक्तित्वहरू आफ्नै घरमा देख्दा आफूलाई पनि केही लेख्नुपर्छ भन्ने जागिरहन्थ्यो। 

डा. सायमीका ११ वटा कृति प्रकाशित भइसकेका छन्। जसमध्ये छ वटा उपन्यास रहेका छन्। लेख रचना र कविता संग्रह गरी चार वटा पुस्तक रहेका छन्। एउटा लेखकले देश बदल्न सक्छ भन्ने लाग्छ उनलाई। जन आन्दोलनताका उनका आर्टिकलले पत्रिकाको पानाहरू भरिन्थे। उनी सम्झन्छन्, 'एउटा मात्र आर्टिकलले जनतामा छुट्टै तरङ ल्याउन सकिन्थ्यो।'

सायमीका पिताले उनको लेखनमाथि टिप्पणी गरिरहन्थे रे, 'तिमि गीत, कथा, कविता, उपन्यास लेख्छौं। तर तिम्रा आर्टिकलहरू दमदार हुन्छ।' बुबाको यस कुरामा उनी स्वयं पनि सहमत देखिन्छन्। आफूलाई पनि अन्य विधाभन्दा छिटपुट आर्टिकल नै सजिलो र दमदार हुने बताउँछन्। डाक्टरले बिरामीको मात्र  उपचार गर्छ। तर एउटा लेखकले सिगों राष्ट्रको  विसंगतीको चिरफार गर्न सक्छ। यसकारण आफुलाई लेखनमा रूचि रहेको पनि उनले बताए।

आफ्ना लेखनका स्रोतहरू भनेका आफ्नोमा आउने बिरामीको मनोविज्ञान, देशको राजनितिक आन्दोलन र तिनले प्राप्त गरेका उपलब्धी, संस्थागत हुन बाँकी तत्वहरू नै रहेको उनी स्वीकार्छन्। उनी भन्छन्, 'आफू जुन समाजमा हुर्किएका छौँ। हाम्रा विषयवस्तु पनि यीनै समाज भित्रका रहने गर्छन्।'

उनको पहिलो रेकर्डेड गीत

उनी ‌‌‌+2 पढ्न अमृत साइन्स गए। त्यसबेला देखि नै उनको रूचि साहित्यका अनेक विधामा थियो। त्यहाँ उनको साथी थिए, संगीतकार शम्भुजीत बास्कोटा। बास्कोटाले सायमीसँग भने रे, 'एक दुई वटा कविता ल्याउ म संगीत गर्छु।' सायमीले 'मर्दीको किनारा' उनको हातमा थमाइदिए। जहाँ केही कविताहरूलाई सायमीले समावेश गरेका थिए।

त्यसको केही दिनमा अभिनेता तथा निर्देशक रमेश बुढाथोकी सायमीलाई भेट्न आए। नेपाली चलचित्र छोराको लागि मागे। उनले दिए। उदितनारायण झा र दिपा झाको स्वरमा रहेको गीत 'वर्षा तिमी छम छम वर्षिदेउ न' भन्ने गीत बजारमा आयो। दर्शकले अत्यधिक मन पराइदिए।

त्यो गीतको चर्चाको उचाइसँगै बास्कोटाले अन्य गीतमा पनि संगीत भर्ने काम गरे। उनका गीत मध्ये नविन के भट्टराईको आवाजमा रहेको ए झरी नझरीदेउ यसरी भन्ने गीत सदावहार छ। उनलाई पनि यो गीत आफूले लेखेको मध्ये सबैभन्दा धेरै  मन पर्ने गीत हो। उनीसँग थाहाखबरको कुराकानी चलिरहदाँ बाहिर वर्षा भइरहेको थिइो। उनी भन्दै थिए, 'अहिले झरी परिरहेको छ। पक्कै कसैले यो झरीमा यो गीत गाउँदै पनि हिडिरहेको होला।'

उनको बाल्यकाल

उनी जन्मेको चार वर्षपछि बोल्न थालेका हुन्। उनका बाबुले भन्थे रे, 'पाँच वर्ष सम्म नबोलेको भए अल्बर्ट आइन्सटाइन हुने रहेछौ।'  जीवन र मृत्युलाई नजिकबाट देखेका छन् उनले। यो लेखनको लागि ठूलो स्रोत रहेको छ। 

उनको परिवार नै अध्ययनशील थियो। बाजे नेपालको पहिलो पिएचडि गरेको व्यक्ति। उनी चाहीँ  लाटो थिए। घरका सबैले उनलाई लाटो भनेर सम्बोधन गर्थे, जुन सम्बोधन उनलाई कहिल्यै मन परेन। उनी स्कुल जान्थे। गणित उनको राम्रो थियो। किनकी बाजेले उनलाई सिकाउँथे। अंग्रेजीमा उनी सधै फेल हुन्थे। एकदिन कक्षा ५ को परिक्षाको बेला बोर्डमा जोड गर भनेर भनिएको थियो। उनलाई जम्मा भन्ने थाहा थियो। जोड भन्ने आफूले नपढेको भन्दै परिक्षा छोडेर हिँडिदिए। उनी फेल भए। आफ्नो खानदानमा एसएलसी टप नगरेको कोही नभएकाले उनलाई सबैले यसले गरी खाँदैन भनेर ठकुवा गरिदिए। 

उनकी फुपुले भनिदिइन्, 'सायमीको परिवारमा नपढ्ने र लठुवा यही मात्र हुने भो।' यो कुराले उनलाई कयौं दिन झस्काइरह्यो। मन पोलिररह्यो। उनी परिक्षामा फेल भए पनि छ मा पढ्न जाने भए। तर त्यसका लागि शिक्षकले दिएको नेपाली वाक्यलाई अंग्रेजीमा उल्था गर्नु पर्ने थियो। 'त्यो गुलाफ रातो छ।'  भन्ने वाक्यलाई अंग्रेजीमा  उल्था गरे मात्र उनको छ कक्षाको ढोका खुल्ला हुन्थ्यो। उनले, 'थ्याट गुलाफ इज रेड' भनिदिए।

शिक्षकले उनलाई ५ कक्षामा नै राख्नुपर्ने अडान राखे। तर, उनले आफ्नो भाइ छमा पढिरहँदा आफु ५ मा नपढ्ने भनेर अड्डि लिए। उनको अड्डीको अगाडि केही लागेन। त्यसपछि आफूलाई परिवारले, फुपुले, स्कुलले गरेको व्यवहारको इख लिएर पढ्न थाले। त्यसपछि उनको प्रथम हुने सिलसिला सुरू भयो। हिजोका ति दिन सम्झँदै उनी भन्छन्, 'ति त केवल अभिभावकहरूले मलाई राम्रो गरिदियोस् भनेर दिएको उपमा रहेछ। मैले त्यही इखलाई उर्जामा बदलेँ।'

जिन्दगी जन्मेर मर्नु मात्रका लागि होइन। आफूले बाँचेको समाजमा आफूले कस्तो प्रभाव जमायो भन्ने ठूलो कुरा रहेको उनले बताए। यसका लागि लेखन पनि एक माध्यम रहेकाले पनि आफू साहित्य लेखनमा निरन्तर लागरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.