|

पर्वत :  जलजला गाउँपालिकाको उपल्लो भूभागमा हुरीबताससँगैको असिनापानीले आलु खेतीमा क्षति पुर्‍याएको छ। शुक्रबार साँझ परेको असिना पानीले जलजला गाउँपालिकाको बनौ, नाग्लिवाङ, धाइरिङ, शालिजा, लेकफाँट लगायतका वडाहरूको उपल्लो भेगमा आलुखेतीमा क्षति पुगेको हो।

झण्डै एक घण्टा परेको असिना करिब चार इञ्च बाक्लो गरी जमेको थियो। माघ १३ गते पहिलोपटक परेको हिउँले आलु खेती फस्टाउने आशामा रहेका कृषक त्यसपछि लगातार हिउँ र पछिल्लो पटक असिना समेत परेपछि मारमा परेका छन्।

‘पहिलोपटक हिउँ पर्दा आलु उत्पादन बढ्ने आशा थियो’, बनौँका स्थानीय आलु उत्पादक कृषक भिम फकामीले भने, ‘त्यसपछि माघको २४ गते परेको हिउँ र अहिलेको असिनाले आलुलाई ढपक्कै पुरेको छ।’ 

पर्वतको उच्च भागमा आलुको व्यावसायिक खेती हुँदै आएको छ। आलुको व्यवसायिक खेती गरेका कृषकहरूलाई असिनाका कारण आलु कुहिने चिन्ताले पिरोलेको छ। शुरुमा परेको हिउँले सिञ्चित हुन नपाएको खेतीका लागि राम्रै फाइदा गरे पनि त्यसपछिको हिउँ र असिनाले खेती नराम्रो सँग प्रभावित हुने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले बताए।

हिमपातकै कारण चिसोले आलुका विरुवा ओइलिएका र असिनाले झनै समस्या बनाएको बनौका अर्का कृषक चक्रबहादुर पुनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.