|

सोलुखुम्बु  : राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय प्रविधि र व्यावसायिक शिक्षा अवलम्बन गर्नुपर्नेमा जोड दिएकी छन्। सोलुखुम्बु बहुमुखी क्याम्पसले सञ्चालन गर्ने मेची-काली विश्व अभियानको शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुक आर्थिक सम्बृद्धिमा केन्द्रित रहेको परिपेक्षमा गुणस्तरीय प्राविधिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएकी हुन्।

राष्ट्रपति भण्डारीले नेपालको प्रतिष्ठा र सभ्यतासँग जोडिएका हिमश्रृंखला, हिमनदी, जैविक विभिधतालाई कायम राख्नु आजको आवश्यकता भएको बताइन्। जसको लागि जलवायु अनुकूलनको कार्यक्रमहरूलाई प्रभावकारी ढंगबाट सञ्चालन गरिनुपर्ने उनको भनाई छ।

सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा विभिन्न महत्वकांक्षी योजनासहित मेचीकाली विश्व अभियान सुरु गरेको हो। यस अवसरमा हेलिकोप्टरमार्फत पहिलोपटक सोलुखुम्बु आएकी राष्ट्रपति भण्डारीले विश्वसामु नेपाललाई परिचित गराउन शेर्पा समुदायको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसासमेत गरिन्। देशको महत्वपूर्ण पर्यटकीय गनतव्यसहित आरोहणका लागि शेर्पा आरोहीले खेलेको भूमिका देशले बिर्सन नसक्ने उनको भनाई छ।

क्याम्पसले पाँच सय जना विद्यार्थीलाई छात्राबाससहितको निःशुल्क प्राविधिक शिक्षा दिनुको लागि थालिएको अभियान निक्कै महत्वपूर्ण कदम भएको भन्दै सफलताको शुभकामना समेत दिइन्। पहिलो सगरमाथा आरोही सर एडमण्ड हिल्लारीको सपनालाई साकार पार्नको लागि पनि अभियानले सहयोग पुर्‍याउने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन्।

प्रदेश-१ का सामाजिक सुरक्षा मन्त्री जीवन घिमिरेले क्याम्पसले सुरु गरेको कार्यक्रम नमुना भएकाले प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताए। उनले भने, 'म अंकमा रकम तोक्दिन तर प्रदेश सरकारको तर्फबाट चाही उल्लेखनीय सहयोग रहने छ।'

क्याम्पस सञ्चालक समितिका अध्यक्ष आंरिता शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति तीर्थ खनिया, प्रदेश नम्बर १ का सामाजिक सुरक्षा मन्त्री जीवन घिमिरे, सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर) प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, उत्तम कुमार बस्नेत, महजोडीका नामले परिचित हास्य कलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना मनतव्य राख्ने सबैले कार्यक्रम महत्वपूर्ण भएकाले आआफ्नो स्थानबाट सहयोग गर्न तयार रहेको भन्दै सहयोगको लागि अन्यलाई अपिलसमेत गरेका छन्।

डेढ करोड सहयोग प्राप्त

क्याम्पसले सञ्चालन गरेको मेचीकाली विश्व अभियानमार्फत १ अर्ब संकलन गर्ने र पाँच सय विद्यार्थीलाई निःशुल्क छात्राबास सहितको उच्च प्राविधिक शिक्षा दिने लक्ष्य राखिएको छ। एक करोड नागरिकबाट प्रति व्यक्ति १ सयको दरले १ अर्ब संकलन गर्ने योजनाअनुसार शनिबार उद्घाटनको दिन १ करोड ४५ लाख सहयोग प्राप्त भएको क्याम्पस प्रमुख उद्धव कुमार शर्माले जानकारी दिए।

क्याम्पस प्रमुख शर्माका अनुसार सोलुदुधकुण्ड नगरपालिकाको तर्फबाट १ करोड आर्थिक सहयोगको प्रतिबद्धता प्राप्त भएको छ। यस्तै व्यक्तिगत रूपमा सबैभन्दा बढी समाज सेवी एवं नेपाली कांग्रेसका नेता प्रकाश सिं कार्कीले १० लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। क्याम्पसले सञ्चालन गर्ने कार्यक्रम निक्कै महत्वपूर्ण एवं उपयोगी भएको भन्दै सहयोग गरेको दाताको भनाई छ।

यस्तै दर्जन बढीले १ लाख सहयोग गरेका छन् भने १० हजारदेखि माथि सहयोग गर्नेहरू पनि प्रशस्त रहेका छन्। कार्यक्रममा शुभाकामना मतव्य राख्ने अधिकांश बक्ताले कार्यक्रम प्रभावकारी भएको भन्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मेची-काली विश्व अभियानको उद्देश्यहरू के के हुन्?

सोलुखुम्बु बहुमुखी क्याम्पसले मेची-काली विश्व अभियान २०७५२०८० को शनिबार एक औपचारीक कार्यक्रम गरि उद्घाटन नै गरिसकेको छ। क्याम्पसको माध्यमद्वारा नेपाललाई विश्वमा चिनाउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिने क्याम्पस प्रमुख उद्धवकुमार शर्माले जानकारी दिए।

क्याम्पस स्थापना भएको २५ वर्ष पुगेको अवसरमा आयोजित रजत महोत्सवका अवसरमा अभियानको उद्घाटन गरिएको हो। क्याम्पस प्रमुख शर्माका अनुसार आगामी ५ वर्षभित्र ५ लाख नागरिक, ५ हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरू र कम्तिमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराएर विश्वको सबैभन्दा बढी जनसहभागीतामा सञ्चालित क्याम्पसको रूपमा गिनिज बुकमा नाम लेखाउने समेतको लक्ष्य रहेको छ।

पाँच वर्षसम्म आर्थिक संकलन गर्ने छैटौ वर्षदेखि पूर्वधार निर्माणदेखि विभिन्न संकायको कक्षा सञ्चालन गरिने बताइएको छ। 'प्रत्येक जिल्लाका गरिब जेहेन्दार तथा पिछडिएका वर्ग मध्येबाट एक जना छात्र र एक जना छात्रा लाई निःशुल्क शिक्षा प्रदान गरिन्छ',  क्याम्पस प्रमुख उद्धव शर्माले भने, '७७ जिल्लाबाट गरिब तथा जेहेन्दार १ छात्र र १ छात्रा गरी १५४ जना र तीन वर्षे कार्यक्रमका लागि ४६२ तथा विभिन्न राष्ट्रका २५ जना र अति पिछाडिएका समुदायबाट १३ जना गरी ५ सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्नेछौँ।'

जिल्लाको पहिलो क्याम्पसमा अहिले नेपाली, स्वास्थ्य र इपीएममा एमएड सम्मको पढाई हुन्छ। यस्तै कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन, साविक ३ हाल ४ वर्षे बिएड १ विर्षे बिएडमा शिक्षा, ३ वर्षे बिए मानवीकी, ४ वर्षे बिबिएस व्यवस्थापन संकायका पढाई हुन्छ। यहाँ अहिलेपनि सोलुखुम्बु, खोटाङ, ओखलढुंगा लगाएत जिल्लाका विद्यार्थीले अध्ययन गर्ने गरेका छन्।

संकलन भएको एक अर्ब खर्च हुँदैन !

पाँच सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्दा वार्षिक ७ करोड खर्च लाग्ने क्याम्पसको अनुमान छ। क्याम्पसका अनुसार ६ करोड क्याण्टिन खर्च, १ करोड तलबभत्ता र अन्य विद्यार्थीले तिरेको शुल्कबाहेक व्याजबाट मात्र वार्षिक ७ करोड खर्च हुनेछ।

'उक्त खर्च धान्नको लागि अभियानबाट संकलित १ अर्ब रुपैयाँ १२ प्रतिशतसम्म व्याज दिने बैंकमा अक्षय कोषको रुपमा जम्मा गर्छौंक्याम्पस प्रमुख शर्माले भने, 'आयकर कटाउँदा वार्षिक १० प्रतिशतले १० करोड व्याज प्राप्त हुन्छ, खर्च अनुमान ७ करोड यसरी हेर्दा ३ करोड त हाम्रो कोषमा जम्मा हुन्छ।'

१ अर्ब रुपैयाँ संकलनको लागि १ सयदेखि १० लाखसम्मको आर्थिक सहयोग प्याकेज ल्याइएको छ। अभियान सुरु भएको ६ वर्षदेखि सम्पूर्ण कार्यक्रम लागू हुने बताइएको छ।

बिस वर्षमा गरिबीको अन्त्य

कार्यक्रम सुरु भएको २० वर्षमा सोलुखुम्बु जिल्लामा एक घर एक दक्ष प्राविधिक उत्पादन गर्ने लक्ष्य राखिएको छ। क्याम्पस प्रमुख शर्माले भने, 'हाम्रो उदेश्य अनुसार ५ हजार विद्यार्थीलाई सोलुखुम्बु ल्याउने हो। यसलाई हेर्दा यहाँको हरेक कृष उत्पादन बढाउन आवश्यक छ।'

कार्यक्रम लागू भएपछि कम्तिमा ३ देखि ४ सय कर्मचारी आवश्यक पर्ने क्याम्पसले अनुमान गरेको छ। 'अध्ययनका लागि सबै जिल्लाका हुन्छन् तर रोजगारीको लागि योग्यता पुगेका भए जिल्लालाई पहिलो प्राथमीकता दिन्छौँ' शर्माले भने, '२० वर्षपछि हामी जिल्लामा रहेको गरिबि निर्मुल पार्छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.