|

धनकुटा : अर्ग्यानिक चिया किसानहरुलाई प्रोत्साहित गर्नेे बनेको सरकारी योजनाअनुसारको सुविधा नपाएको धनकुटाका किसानले गुनासो गर्न थालेका छन्। सरकारले आठ वर्षअघि अर्ग्यानिक खेती गर्ने किसानलाई प्रोत्साहन गर्न सहुलियत ऋण दिने नीति ल्याएको थियो।

सरकारको घोषणापछि  रासायनिक मल र विषादी प्रयोग छोडेर अर्ग्यानिक चिया उत्पादनतर्फ लागेका किसानले लामो समयसम्म सुविधा नपाएको पाख्रीबास नगरपालिका–४ का चिया किसान गोविन्द थापाले गुनासो गरे। ‘ सुविधा नपाएपछि निरास भएका छौं,’ उनले भने, ‘सरकारले अर्ग्यानिक चिया उत्पादन गर्दा अर्ग्यानिक मल, सहुलियतमा ऋण सुविधा दिने भने पनि आठ वर्ष बितिसक्दा कुनै सुविधा उपलब्ध गराएको छैन।’

रासायनिक मल र विषादी प्रयोग गरिरहेको खेतीबाट अर्ग्यानिक खेतीमा जाँदा पाँच वर्षसम्म उत्पादन नहुने किसानहरुको भनाइ छ। यति लामोसम्म आम्दानीविना लगानी मात्र गर्नु पर्दा आफूहरु निराश भएको किसानहरुको भनाइ छ। 

लगानी मात्र हुने र आय नहुने भएपछि आर्थिक कठिनाइ आइपरेको उनीहरु बताउँछन्। चिया खेतीको आम्दानीले घर खर्च टार्दै आएका किसानहरुको आम्दानी नै बन्द भएपछि बैकल्पिक पेशा रोज्न बाध्य बनेको धनकुटा नगरपालिका–१ का नीलबहादुर घिमिरेले बताए। धनकुटामा रहेका तीन वटा चिया उद्योगले अर्ग्यानिक चिया पत्तीलाई रासायनिक खेतीबाट उत्पादित पत्तीको मूल्य दिँदा थप मारमा परेको किसानहरुको दुखेसो छ। सरकारले चिया किसानलाई सेवा सुबिधा दिने प्रावधान बनाए पनि दिन नसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड हिले शाखा कार्यालयले जनाएको छ।

धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरापलिकाका साथै छथर जोरपाटी गाउँपालिकाको चार हजार ५९३ हेक्टर क्षेत्रमा चियाखेती हुँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख सूर्यप्रसाद सापकोटाले बताए। धनकुटामा उत्पादित अर्ग्यानिक चिया भारत, अमेरिका, बेलायत, स्वीटजरल्याण्ड लगायतका मुलुकमा निर्यात हुने गरेको गुराँसे चिया उद्योगका व्यवस्थापक नवीन बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.