समाज

‘ओभर स्पीडले जन्ती बस दुर्घटना भयो’
SHARES

फागुन २८, २०७५

    हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२, धरमपानीमा भएको जन्ती बस दुर्घटनाका घाइतेहरुले तीब्र गतिका कारण बस दुर्घटना भएको बताएका छन्।

    दुर्घटनामा घाइते भएका कुमार परियारले बस धेरै स्पीडमा रहेको कारण दुर्घटना भएको बताए। ‘बस अली बढी नै स्पीडमा थियो।  चालकले स्पीडमा नै मोड्न खोज्दा दुर्घटना हुन पुग्यो। राम्रो बाटो भएको कारण बस स्पीडमा चलाइएको थियो,’ उनले भने, ‘हाम्रो बस अरु बिहेको बसभन्दा पछाडि थियो। हामी रमाईलो गर्दै आउँदै थियौ, एक्कासी मोड आयो, ड्राइभरले काट्न खोज्दा बस दुई बल्ड्याङ खाँदै सडकभन्दा २० मिटर तल रुखमा गएर अड्कियो। एकजनालाई बसले किच्यो, अर्को एकजना जिउँदै थिए, उनलाई बचाउने प्रयास गर्दा गर्दै सकिएन।’

    दुर्घटनाका अर्का घाइते रवीन्द्र न्यौपानेले पनि ओभर स्पीडको कारण दुर्घटना भएको बताए। ‘चाहिनेभन्दा बढी स्पीडमा बस कुदिरहेका थियो,’ उनले भने, ‘बाटो नयाँ भएको कारण हामीलाई डर लागिरहेको थियो।’ उनले आफूहरु सबैजना रमाइलो गरिरहेको कारण ड्राइभरलाई केही नभनेको बताए।

    भक्तपुरबाट हेटौंडाका लागि जन्ति बाकेर आएको बा.४ ख २२१७ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा घटना स्थलमा दुईजनको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसमा २८ जना सवार थिए। जसमध्ये १७ जना सामान्य घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ।

    गम्भीरमध्ये दुईजनालाई थप उपचारका लागि चितवनको भरतपुर रिफर गरिएको छ। सामान्य घाइते भएकाहरुको हेटौंडा अस्पताल र गम्भीर घाइते भनिएका ३ जनाको हेटौंडा–११, स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

    मृत्यु हुनेमा नुवाकोट घर भई हाल बालाजु बस्ने वर्ष २१ बर्षीय विकास धमला र काभ्रे ज्याम्दी घर भई भक्तपुर बोडे बस्ने ३० बर्षीय नवराज परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले तत्काल मृतकको सनाखत, घाइतेको उपचारमा केन्द्रित भएका कारण  दुर्घटनाको बारेमा अनुसन्धान गर्न नसकिएको बताए। 

सुवास विडारी

पत्रकार विडारी थाहाखबरका मकवानपुर संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]