खुला भएका कुनै हिमालमा आरोहण हुन सकेन

|

पोखरा : विश्वकै सातौँ सुन्दर हिमालको सूचीमा रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माछापुच्छ्रे हिमाल (६९९३ मिटर) आरोहणको लागि खोल्ने तयारी सुरु भएको छ। गाउँपालिकाले गाउँकार्यपालिकाको बैठकबाट निर्णय पारित गरेर पर्यटन मन्त्रालयमा पठाएको पत्रको आधारमा थप अध्ययन गरी पर्यटन विभागले यसबारे प्रक्रिया अघि बढाएको हो।

मौसुफ सरकारले आदेश दिइबक्स्यो, अनि बन्द भयो

तत्कालीन सरकारले २०२० साल फागुन ५ गतेबाट आरोहणमा रोक लगाएको थियो। स्थानीयहरुले  माछापुच्छ्रे हिमाल भगवान् शिवको अर्को रूप रहेको भन्दै तत्कालीन सरकारलाई आरोहण रोक्न आग्रह गरेका थिए। हामी गुरुङ मगरहरुले माछापुच्छ्रेलाई भगवान् शिवको प्रतिमूर्तिको रूपमा मान्छ र पूजाआजा गर्छ,’ माछापुच्छ्रेका लालबहादुर गुरुङले भने, ‘भगवानलाई त कुल्चन भएन, फोहोर पार्न भएन त्यै भएर गाउँलेले आरोहण गर्न नदिन भनेर सरकारलाई भन्यो। मौसुफ सरकारले पनि त्यै अनुसारको हुकुम गरिबक्स्यो।

तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले गाउँलेहरूको आग्रहको सुनुवाई गर्दै आरोहण बन्द गर्न लगाएको लालबहादुरले सम्झे। यस बीचमा केही विदेशी आरोहीले हिमाल आरोहणको प्रयास गरे पनि धेरै आरोहणले राम्रो समाचार दिएनन्।

अब विकास र समृद्धिको लागि आरोहण : गाउँपालिकाका प्रमुख

गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले माछापुच्छ्रेको आरोहण खुल्ला गर्दा स्थानीयहरूलाई फाइदा पुग्ने बताउँछन्। यहाँको आर्थिक समृद्धिको मुख्य आधार भनेकै पर्यटन हो,’ उनले भने, ‘यस क्षेत्रमा अहिले पनि विदेशी तथा स्वदेशी पर्यटक नआउने हैनन्। तर, अहिलेको गतिविधिले मात्र यहाँको आर्थिक समृद्धि नहुने भएकोले हिमाल आरोहण खुल्ला गर्नका लागि हामीले निवेदन लेखेरै आग्रह गरेका थियौँ। रिप्लाई पोजेटिभ नै आएको छ।

उनले विज्ञानको युगमा प्रवेश गरिसकेको भन्दै परम्परा पनि सोहीअनुसार परिवर्तन भएको भन्दै हिमाल आरोहण खुल्ला गर्न माग गरेको बताए। विश्वकै सातौँ सुन्दर हिमाल आरोहण गर्न चाहने कति होलान्,’ उनी भन्छन्, ‘हामीले आफ्नो सम्पदाको भरपुर उपयोग गरौँ हानी होइन फाइदाको काम गरौँ भन्ने सोँच राखेर यसो गरेका हौँ।’ 

गाउँले खुसी छैनन्

माछापुच्छ्रे हिमाल आरोहणका लागि फुकुवा गर्ने तयारीप्रति स्थानीयहरू खुसी छैनन्। यस्तो राम्रो हुँदैन भन्यो भने तँ विकास विरोधी भनि हाल्छन्,’ माछापुच्छ्रेका एक स्थानीयले नाम उल्लेख नगर्न भन्दै भने, ‘यो हिमाल खोल्दैमा यहाँका जनतालाई के हुन्छ। सीमित केहि मान्छे मोटाउला त्यै त हो। भगवान्‍लाई खुसी पार्न जान्नु पर्छ। अहिलेको काम गाउँपालिका प्रमुख र पर्यटन व्यवसायीबाहेक अरूले लाभ लिने खालको हुँदै होइन।

के भन्छन्, पोखराका पर्यटन व्यवसायी

पोखराका पर्यटन व्यवसायीहरू पनि माछापुच्छ्रेलाई अहिलेकै अवस्थामा राखिराख्न आरोहण अनुमति दिन नहुने तर्क राख्छन्। पोखराका अधिकांश व्यवसायीहरू विरोध गरेको भनाई नामसहित नराख्न आग्रहसमेत गर्छन्। माछापुच्छ्रेलाई अहिलेकै अवस्थामा छोड्नु पर्छ,’ एक व्यवसायीले भने, ‘माछापुच्छ्रे आरोहण खुल्ला गरेको केही समय मान्छे धेरै नै आउलान तर, यसको महत्त्व र गरिमा भने घट्छ-घट्छ।

खुल्ला गरिएका सबैमा आरोहण हुन सकेन

नेपालमा अहिले जम्मा ४७६ वटा हिमश्रृंखलामा आरोहण खुल्ला गरिएको छ। तीमध्ये जम्मा ४२५ वटा हिमालमा मात्र आरोहणको प्रयास भएको छ। योमध्ये पनि २२५  हिमालमा मात्र आरोहण सफल भएको छ। आरोहण रुचाउनेहरूलाई अन्य थुप्रै हिमालहरू रहेको ट्रेकिङ व्यवसायीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.