|

  • नमिन ढकाल-

इलाम : फिक्कलका राजु प्रधानलाई दिनभर फुर्सद छैन। बिहान सबेरैदेखि उनी कन्यामका विभिन्न स्थानमा पर्यटकलाई घोडामा राखेर डुलाइरहेका भेटिन्छन्। चियाबारीको सुन्दरता हेर्न कन्याममा आउने पर्यटक अचेल एकपटक घोडा नचढी फर्कंदैनन्। घोडा चढेर घुम्न पाउँदा पर्यटकको मुहारमा छुट्टै खुसी देखिन्छ। यता घोडावाल प्रधानको आम्दानीको गतिलो स्रोत पनि बनेको छ, घोडामा पर्यटक घुमाउने पेशा। 

फुर्सदको समय सदुपयोग हुनुका साथै दिनभरको मेहनतबाट राम्रो कमाइ हुने गरेको प्रधान बताउँछन्। उनले दिनभर घोडा डुलाउँदा १ हजारदेखि २ हजारसम्म कमाउँछन्। हरेक वर्ष कात्तिक पहिलो सातादेखि पुस अन्तिमसम्म घोडासँगै उनी कन्याममा पर्यटक डुलाउन व्यस्त हुन्छन्। बाह्रै महिना घोडा सञ्चालन हुने भएपनि मुख्यतया कार्तिकदेखि पुषसम्म पिकनिक खान तथा घुम्न आउनेको लर्को लाग्ने गरेको छ कन्याममा। 

घोडामा पर्यटकलाई घुमाउने काममा प्रधान एक्लै छैनन्। दैनिक हजारौँको संख्यामा आउने पर्यटकलाई डुलाउनका लागि ३५ वटा घोडाहरु छन्। ती सबै घोडाहरु सूर्योदय नगरपालिकामा दर्ता छन्। घोडावालाले वार्षिक रुपमा नगरपालिकालाई ६ हजार रुपैँया शुल्क बुझाउने गरेका छन्। कन्याममा घोडा चढेर फोटो खिचेको ५० रुपैया लिने गरिएको छ भने घोडा चढेर घुम्नेको लागि न्युनतम १ सय रुपैया शुल्क निर्धारण गरिएको छ। कन्यामका डाँडाकाँडा पुर्‍याउने, चियाबारी घुमाउने घोडावालाहरूले दूरीको हिसाबले शुल्क लिने गरेका छन्।

प्रधान मात्र होइनन्, सोमबहादुर तामाङ पनि पर्यटकलाई घोडामा घुमाउने काम गर्दै आएका छन्। उनले यही पेशा गरेर आफ्नो छोराछोरीलाई शिक्षादिक्षा दिएका छन् भने घडेरी समेत जोडेका छन्। तामाङले आफूले यसका लागि १ लाख ५० हजारमा घोडा खरिद गरेको बताए। ‘घोडाले सामान ढुवानी गर्न मद्दत पुर्‍याएको त छ नै’, उनी भन्छन्- ‘पर्यटक लोभ्याउने साधन बनेको छ।' 

पिकनिक खान कात्तिक पहिलो सातादेखि नै कन्याममा घुइँचो लाग्ने गरेको छ। यहाँ वनभोज खानकै लागि पोखरा, उदयपुर, धनुषा, दाङ, भोजपुर, पाल्पा, सुनसरी, मोरङ, कैलाली, झापा, मोरङ लगायत भारतको दार्जीलिङ, सिक्किम, जलपाइगुडी, मिरिक लगायतका ठाउँबाट पर्यटकहरु आउने गरेका छन्। ‘एकपटक नचढी कोही फर्केका छैनन्’, पश्चिम कैलालीदेखि दार्जीलिङसम्मका सयौं पर्यटकलाई घोडामा चढाएर घुमाइसकेका तामाङ भन्छन्- ‘घोडा पर्यटकको रोजाइ नै बनेको छ।’

धरानका भेषराज अधिकारीले जीवनमा पहिलोपटक घोडामा चढेर आनन्द लिए। ‘यातायात नचल्ने ठाउँमा उहिले भद्रभलाद्मी र प्रधानपञ्चहरु घोडामा सयर हुन्थे’, पिकनिक खान आएका अधिकारीले भने- ‘घोडामा चढ्दाको मजा बेग्लै हुँदोरहेछ।’

कन्याममा आउने पर्यटक व्यवस्थापन गरिरहेको आदिवासी जनजाति महासंघका अध्यक्ष अनिश याख्खाका अनुसार नेपालमा घोडाको प्रयोग केही वर्षमै घट्दै जाँदा यो जनावर लोप हुन थालेकोले संरक्षणका लागि पर्यटक घुमाउन प्रयोग गरिएको हो। ‘घोडाको संरक्षण गर्नुपर्छ भन्ने सन्देश पनि गएको छ’, याख्खा भन्छन्- ‘स्थानीयले रोजगारी पनि पाएका छन्।' 

उनका अनुसार कन्याममा दैनिक करिब १० हजारको हाराहारीमा पिकनिक खान पर्यटक आउँछन्। अधिकांश पर्यटकले घोडा चढ्ने गरेको उनी बताउँछन्। १० वर्षअघिबाट इलामको पर्यटकीय क्षेत्र कन्याममा घोडचढी संचालनमा आएपछि उल्लेख्य रुपमा पर्यटकहरु बढेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.