|

काठमाठौं : नेकपा केन्द्रीय सदस्य एवं सांस्कृतिक अभियन्ता मणि थापाले नेपाली समाजको रूपान्तरण अभियानमा प्रगतिशील प्रगतिवादी गीतसंगीतले ठूलो भूमिका निर्वाह गरेको बताएका छन्। उनले नेपालको सन्दर्भमा जनपक्षीय गीत, संगीत र साहित्यले सामाजिक रूपान्तरणका तहमा अत्यन्तै सशक्त हतियारको काम गरेको विचार व्यक्त गरका छन्।

आरआर क्याम्पसको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ३९३ औँ शृंखलाको सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीको सञ्चालनमा ‘नेपाली प्रगतिशील (जनपक्षीय) गीतसंगीतको प्रभावकारिता’ विषयमा दृष्टिकोण प्रस्तुतिमा उनले यस्तो बताएका हुन्।

गोष्ठीमा डम्बर पहाडी, डा. प्रदीप मैनाली, गोपाल नेपाल, भोलानाथ सुवेदी, मुकुन्द न्यौपने, ऋषिराम अर्याल, कणाद महर्षि, गणेश घिमिरे ‘मार्मिक’, कात्यायन, डा.भागवत आचार्य, भावना शर्मा, रामबहादुर पहाडी, मदन भण्डारी, एल.बी.भण्डारी, मातृका पौडेल, गोपाल मैनालीले आआफ्ना कविता, गजल, गीत, हाइकु, एलाक वाचन गरेका थिए।

वाचित सिर्जनामाथि टिप्पणी गर्दै प्रा. केशव सुवेदीले कवितामा आलोचना मात्र होइन अस्तित्वको खोजी गरिनुपर्ने बताए। 'समृद्धि बिलखबन्दमा परेको भन्ने सतही कुरा मात्र होइन के कस्ता आधारहरू रहेका छन् र के गरिनुपर्दछ भन्ने कुरामा पनि कवि सचेत भएर लेख्नुपर्दछ,' उनले भने, 'कविता सोझो होइन विम्ब र व्यञ्जनायुक्त हुनुपर्दछ।'

विशिष्ट अतिथि खगेन्द्र राईले साहित्य सन्ध्याले झण्डै चार दशकदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको बताए। सामाजिक सांस्कृतिक रूपान्तरणकै लागि जनसांस्कृतिक महासंघले जनसाहित्यिक मञ्च, नेपालको गठन गरेको बताउँदै सांस्कृतिक अभियान जनपक्षीय साहित्य, गीत, संगीतका माध्यमबाट मात्र सम्भव भएको धारणा राखे।

समारोहका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले हरेक महिनामा कुनै न कुनै समसामयिक विषयमा गम्भीर बहस गर्ने र कविता वाचन गर्ने विशेष समारोहको आयोजना गर्ने गरेको बताए। उनले देशको समग्र रूपान्तरण अभियानमा ठूलो योगदान गरेको ‘जनपक्षीय गीतसङ्गीतको प्रभावकारिता’ विषयमा परिचर्चा गर्ने र कविगोष्ठी गर्ने निर्णय गरेको बताए।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृंखलामा अभियन्ता मणि थापा प्रमुख अतिथि थिए भने विशिष्ट अतिथिमा नेकपा केन्द्रीय सदस्य एवं संस्कृति विभाग प्रमुख खगेन्द्र राई उपस्थित थिए। अतिथिहरूमा नेकपा संस्कृति विभागका सचिव प्रा.केशव सुवेदी, प्राडा. कृष्णप्रसाद घिमिरे, कणाद महर्षि, रामबहादुर पहाडीलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.