|

सन् २०२० को ओलम्पिक नजिकिदै जाँदा जापानमाथि अनेकन टीकाटिप्पणी सुरु भएका छन्। जापानी ओलम्पिक कमिटीका प्रमुख सुनेकाजु ताकेदाले आफ्नो पदबाट राजीनामा दिएसँगै ओलम्पिक आयोजनालाई असर पर्न सक्ने आँकलन गरिएको छ।

सन् २०२० को ओलम्पिक आयोजना गर्ने जिम्मेवारी टोकियोलाई दिँदा घुस खुवाएको आरोप लागेपछि ताकेदाले पदबाट राजीनामा दिएका हुन्। फ्रान्सका एक अभियोजनकर्ताले ताकेदामाथि अनुसन्धान गरिरहेका छन्। ताकेदामाथि ओलम्पिक आयोजनाको जिम्मेवारी लिँदा २ मिलियन युरो घूस दिएको आरोप लागेको छ। सन् २०१३ मा स्पेनको म्याड्रिड र टर्कीको स्तानबुललाई पछि पार्दै जापानको टोकियोले आगामी ओलम्पिक खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको थियो।

पत्रकार सम्मेलन गर्दै ताकेदाले आफूले अनुचित कार्य नगरेको दाबी गरेका छन्। उनले भने, ‘मलाई लाग्दैन कि मैले कुनै गैरन्यायिक र अनुचित  काम गरेको छु।’ उनले ओलम्पिक आयोजनाको जिम्मेवारी दिने सम्बन्धमा आफू पुनः निर्वाचन गर्ने पक्षमा भने नरहेको स्पष्ट पारे। उनले आफू पदमा नरहे पनि ओलम्पिकका लागि पर्याप्त सहयोग गर्ने बताए। जापान सरकारले पनि टोकियोलाई जिम्मेवारी दिने कार्यमा कुनै पनि आर्थिक चलखेल नभएको दाबी गरेको छ।

ताकेदा अनुभवी ओलम्पिक अधिकारी हुन्। उनले सन् १९७२ र १९७६ मा सो जम्परका रूपमा ओलम्पिकमा सहभागिता जनाएका थिए। उनी सन् २००१ देखि नै जापानको ओलम्पिक कमिटीको अध्यक्ष रहेका थिए। आइअओसीले भने उनको निर्णयको स्वागत गर्दै अनुसन्धानमा सहयोग गरेकोमा धन्यवाद दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.