जेटबोट व्यवसायी भन्छन्, ‘जल यातायातको लागि ढुंगा नै तगारो’

|

उदयपुर : साविकको सगरमाथा अञ्चालका प्रदेश तथा प्रतिनिधिसभा सदस्याहरूले सुनसरीको चतारादेखि उदयपुरको घुर्मीसँम्म जेटबोट सञ्चालन गर्न माग गरेका छन्। हाल जेटबोट सञ्चालन गर्दै आएका जेटबोट व्यवसायी र संसदहरूले गएको सोमबार विराटनगरमा सप्तकोशी नदीमा जेटबोट (पानीजहाज) सञ्चालन विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरी माग गरेका हुन्।

सोही कार्यक्रम उदयपुर, ओखलढुंगा, सोलुखम्बु, खोटाङका प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूले प्रदेश र संघीय सरकारलाई जल यातयातको मार्ग बनाउन माग गरेको प्रदेसभा सदस्य नारायण बुर्जा मगरले जानकारी दिए। ‘प्रदेश र संघीय संसदहरू हामी सबै बसेका थियौँ,’ उनले भने, ‘जला यातायातलाई चतरादेखि घुर्मीसम्म पुर्‍याउँदा उदयपुर, ओखलढुंगा, सोलुखम्बु, खोटाङका सर्वसाधरण सिधा यातायातबाट प्रदेश १ को राजधानीमा पुग्छन्।’

उदयपुरका प्रदेशसभा सदस्य विमल कार्कीको नेतृत्वमा सगरमाथा अञ्चलका प्रदेश तथा प्रतिनिधिसभा सदस्यहरूले प्रदेश १ का मुख्यमन्त्री, संघीय सरकारका प्रधानमन्त्रीलाई समेत ध्यानार्षण गराउने तयारी भएको बताए। प्रदेशसभा सदस्य कार्कीका अनुसार उदयपुरका ७ खोटाङका ३ ओखलढुंगाका २ र सोलुखम्बुका २ गरी १४ जना प्रदेश तथा प्रतिनिधिसभा सदस्यहरूले सुनसरीको चतरादेखि उदयपुरको कटारी घुर्मीसम्म जल यातायात सञ्चालन गर्न माग गर्ने निर्णय गरेका हुन्।

‘छोटो दूरीको जल यातायातबाट उदयपुर, ओखलढुंगा, सोलुखम्बु, खोटाङलाई प्रदेश राजधानीसँग जोडनको लागि प्रदेश र संघीय सरकारको ध्यान आर्कषण गर्ने निर्णय गरेका छौँ,’ कार्कीले भने।

गएको फागुन २६ गते प्रदेश १ सभामा शून्य समयमा उदयपुरका प्रदेशसभा सदस्या कार्कीले हाल सुनसरीको चतराबाट सञ्चालन भइरहेको जल यातायातलाई अझ व्यवस्थित बनाउँदै उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र भोजपुर जोड्ने घुर्मीसम्म विस्तार गर्नुपर्ने माग राखेका थिए। त्यसपछि सगरमाथा अञ्चलमा पर्ने चारै जिल्लाका प्रदेशसभाका सदस्यहरूको जल मार्गमा ध्यान केन्द्रित भएको थियो। ‘प्रदेश १ सरकारको नीति तथा कार्यक्रमा जल यातयातलाई व्यवस्थि गर्ने कार्यक्रम छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको बजेटमा जल यातायातको लागि बजेट छैन, कुनै शीर्षकबाट रकमान्तर गरेर जल यातायातको लागि डिपिआर गर्न माग गर्ने निर्णय गरेका छौँ।’

डिपिआरको लागि पहिला प्रदेश १ का मुख्य मन्त्रीको ध्यानार्कषण गराउने त्यसपछि संघीय सरकारका प्रधानमन्त्रीसमक्ष गएर माग राख्ने उनले बताए।

सोलुखम्बुका प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जल यातायातलाई आवश्यक पर्ने संरचना बनाउनको लागि अध्ययन गर्न प्रदेश र संघीय सरकारलाई ध्यानार्कषण गराउने तयारी भएको बताए। ‘ध्यानार्कषण गराउँदा सरकारले चासो नदिए दवाव समूह नै खडा गर्ने गरी जानु पर्छ,’ राजभण्डारीले भने, ‘मिर्चैया–घुर्मीसम्मको सडक बनाउनु भन्दासमेत अटेर गरेको सरकारले अहिले नै जल मार्गको अध्ययन गर्ला भन्ने विश्वास लागेको छैन, दवाव नै दिने गरीअघि बढ्ने तयारीमा छौँ।

'जलयातयातको लागि ढुंगानै तगारो’

संसदहरूले सुनसरीको चतरादेखि उदयपुरको घुर्मीसम्म जेटबोट सञ्चालन गर्न सरकारको ध्यानार्कषण गराउने तयारीका बेला सोही कार्यक्रममा भेला भएका जेटबाट व्यवसायीहरूले आफ्नै गुनासो पोखेका थिए। बराह क्षेत्र मरिन एन्ड रिसोर्ट प्रालिका सञ्चालनक नवीनकुमार पौडेलले जेटबोट सञ्चालन गर्न मुख्य समस्या ढुंगा रहेको बताएका छन्। उनले भने, ‘सप्तकोशी नदीमा पानी जहाज सञ्चालन धेरै समस्या छन, ठूला-ठूला ढुंगा नदीमा छन्, मुख्य तिनै समस्या हुन्।’

उनका अनुसार जेटबोटका लागि ज्यानमारा ढुंगा, बग्ने ढुंगा, छाल, नदीमा बहाब र पानीको समस्या हुन्। ‘नदी बग्दै आउने ढुंगा लागेर बोटको पंखा भाँचिने गरेको छ,’ उनले भने, ‘प्रदेश तथा संघीय सरकारले बलाष्टिन पड्काएर ढुंगा हटाउने काम गरे, बाँध बाँधेर पानीको सतह केही ठाँउमा गहिरो बनाउने काम गरे जेटबोट सञ्चालन सहज हुन्छ।’

सडकभन्दा सस्तो पैसाले जलमार्गा बनाउन सकिने भन्दै उनले भने, 'अरुण नदीबाट संखुवासभासम्म, तमोरबाट ताप्लेजुङको कावेलीसम्म, सुनकोसी नदी हुँदै घुर्मी, नेपालथोकदेखि दोलालघाटसम्म सञ्चालन गर्न सकिन्छ।’ प्रदेश तथा संघीय सरकारले नदीको बहाव मिलाउने र ढुंगा हटाउने अनि छहराहरू भत्काउने काम गरे जल यातायातको प्रशस्त सम्भावना रहेको जानकारी दिए।

उदयपुर, सुनसरी, धनकुटा हुँदै भोजपुरको त्रिवेणीस्थल सिम्लेसम्मको १६ किलोमिटरएक वर्षअघि देखि नै जल यातायातको रूपमा चिनिएको जेटबोट सञ्चालन हुँदै आएको छ। उक्त दूरी पार गर्न झण्डै २० मिनेट लाग्छ। २० सय जनासम्म यात्रुको क्षमता भएका जेटबोट सञ्चालनमा छन्। सडकबाट यात्रबाट ४५ मिनेटको समय लाग्ने चतारा बराहाक्षेत्रसम्मको यात्रामा जेटबोटबाट तीन मिनेट २५ सेकेण्डमा पुग्न सकिने भएको छ। तर, जेटबोटको भाडा महँगो भएको सर्वसाधरणको गुनासो छ। व्यवसायीका अनुसार हाल ६ वटा जेटबोट सञ्चालनमा छन्। ‘दिनप्रतिदिन जहाज अर्थात जेटबोट थपिदै गएका  छन,’ पौडेलले भने, ‘सरकारले जलमार्गको प्रशस्त बाटो खोलिदिनु पर्‍यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.