|

हेटौँडा : सशस्त्र प्रहरीको (एपिएफ) क्लब दोस्रो भूगर्भ सिमेन्ट स्मृति हेटौँडा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

हेटौँडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको शुक्रबारको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपिएफ विजयी भएको हो। एपिएफको जीतमा निर्णायक गोल हरि कार्कीले गरे। उनले खेलको ३९ औँ मिनेटमा गोल गरेका हुन्।

हिमालयन शेर्पाका दुई डिफेन्डरलाई छक्याउँदै कार्कीले सुन्दर गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए। उनले नगद दश हजार रुपियाँ प्राप्त गरेका थिए।

खेलको पहिलो हाफ्को २० मिनेट भित्रमा सशस्त्रले करिब एक दर्जन प्रहार हिमालयन शेर्पाको पोष्टमा प्रहार गरेको थियो। हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले विफल पारेका थिए। उनले खेलभर आकर्षक बचावट गर्दै गोलअन्तरले साँघुरो पारेका थिए।

खेलको ३७ औँ मिनेटमा एपीएफका श्याम नेपालीको क्रसमा राजिव लोप्चन गरेको हेडलाई शेर्पाका गोलरक्षक किशोर गिरीले मुस्किलले बचाएका थिए। लोप्चनले खेलको पहिलो हाफ्मा प्राप्त दुईवटा सुन्दर मौकाको सदुपयोग गर्न नसक्दा एपीएफले खेलमा अग्रता लिन लामो समय कुर्नु परेको हो।

खेलको दोस्रो हाफ्मा शेर्पाले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि सशस्त्रको रक्षापंक्ति भने तोड्न सकेन। खेलभर हिमालयन शेर्पाले सशस्त्रको पोष्टमा एउटा पनि उत्कृष्ट प्रहार गर्न सकेन। शेर्पाका खेलाडी पहिलो हाफमा केही सुस्त देखिन्थे भने दोस्रो हाफ्मा आक्रमक भए पनि स्कोर भने गर्न सकेनन्।

खेलपश्चात् प्रतिक्रिया दिँदै सशस्त्रका प्रशिक्षक सुदीप श्रेष्ठले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट नभएको बताए। उनले खेलमा पहिलो हाफको तुलनामा दोस्रो हाफमा आफ्ना खेलाडीले खेल्न नसकेको र खेलाडीले प्राप्त मौकाको सदुपयोग गर्न नसकेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए।

हिमालयन शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले आफ्नो खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए। प्रशिक्षक पुडासैनीले माइभ्याली गोल्डकपको फाइनल खेल्ने वित्तिक हेटौंडा आएर खेल खेल्नुपर्दा टिमले उत्साजनक प्रदर्शन गर्न नसकेको बताए। उनले सशस्त्रको डिफेन्डले राम्रो खेलेको भन्दै प्रशंसा समेत गरे।

सेमिफाइनल प्रवेशका लागि एपिएफले विदेशी टोली दाफिन्सको सामाना गर्नेछ। प्रतियोगिताअन्तर्गत शनिबार नेपाल पुलिस र च्यासल युथ क्लबीच खेल हुनेछ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल चैत १६ गते शनिबार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.