राष्ट्रपतिले आज उद्घाटन गर्ने

|

काठमाडौं : नेपाली सेनाको मुख्यालय जंगी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ।

गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढंगबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो। विसं २०७३ जेठ २४ गते निर्माण सुरु भएको उक्त भवन दुई वर्ष १० महिनाको अवधिमा तयार गरिएको हो।

उक्त भवन निर्माणका लागि दैनिक ४०० को संख्यामा जनशक्ति अहोरात्र खटिएका थिए। नयाँ भवनबाट दैनिक रूपमा एक हजार सैनिक जनशक्तिले कार्यसम्पादन गर्नसक्ने आयोजना प्रमुख उपरथी योगन्द्रबहादुर खाँणले जानकारी दिए।

सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत् सरकारले तीन अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको थियो। भूकम्प प्रतिरोधात्मक उक्त भवनमा क्यूविकलसहित ४३० कोठा रहेको उनले जानकारी दिए।

भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ ओटा कार्यालय सन्चालन हुनेछन। अलग–अलग सातओटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लोे छ।

सैनिक मुख्यालयको संगठन संरचनाअनुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नवनिर्मित जंगी अड्डा भवनको मंगलबार सैनिक मुख्यालयमा आयोजना हुने विशेष समारोहकाबीच उद्घाटन गर्नेछिन्।

आवश्यकताअनुसार छाना छतमा हेलिकोप्टर अवतरण गराउन मिल्ने गरी निर्माण गरिएको उक्त भवनमा विभिन्न बैठक कक्षसहित ५०० व्यक्ति अटाउने क्षमताको सम्मेलनकक्षसमेत छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट जंगीअड्डासहित नेपाली सेनाका एक हजार १०९ भौतिक संरचना क्षति भएका थिए।

भूकम्पपछि खुम्चेर काम गर्नुपरे पनि छोटो समयमै उच्च गुणस्तरीय ढंगबाट मुख्यालय भवन निर्माण भएपछि जंगीअड्डामा रहने नेपाली सेनाको जनशक्तिलाई काममा सहज हुनेछ।

नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अंग हो। नेपालको संविधानको धारा २६७ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखन्डता, स्वाधिनता र राष्ट्रियहितको रक्षाका लागि संविधान प्रतिबद्ध समावेशी नेपाली सेनाको व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.