|

अर्घाखाँची : बहराइनको एक कम्पनीमा लामो समयदेखि नौ नेपाली कामदार अलपत्र परेका छन्। आस्कोन नामक कम्पनीमा  ४ ५ वर्षदेखि काम गर्दै आएका नेपाली कामदारहरू नोकरी गुमाएर बराइनको सडकमा अलपत्र परेका हुन्। उनीहरूले ६\७ महिना यता तलब नपाएको बताइएको छ।  

चार वर्षअघि तनहुँको दमौली ९ बाट बहराइन पुगेका राजकुमार भुजेल घर्ती पीडितले टेलिफोनमा कुरा गर्दै आफूहरू लामो समयदेखि अलपत्र परेको जानकारी दिए। 'न दैनिक खानबस्ने व्यवस्था छ न त फर्किने खर्च नै', उनले भने। पाँच वर्षअघि त्यहाँ गएका पाल्पा भुवनपोखरी रोइना देवीका विष्णु दमाईले पनि आफूहरूसँग अहिले आफूहरूको हातमा एक पैसा नरहेको दुखेसो पोखे।

लामो समयदेखि अलपत्र परेपछि  केही आर्थिक सहयोग गर्दै आएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासको सहयोगले बिहान बेलुकाको छाक टार्न नपुगेपछि उनीहरू नेपालीले खोलेको संघ संस्थाको शरणमा पुगेका छन्। 

अलपत्र परेका नेपालीहरूलाई आफूहरूले सहयोग गर्दै आएको नेपाल ट्रेड युनियन महासंघ सपोर्ट ग्रुप बराइनका अध्यक्ष युवराज केसीले टेलिफोनमा बताए। अलपत्र परेकालाई नेपाली दूतावासको सम्पर्कमा राखिएको र उनीहरूलाई जति सक्दो छिटो नेपाल पठाउन पहल गरिएको उनले बताए। तत्कालका लागि बहराइनको आस्कोन र जीबी जेट कम्पनीमा काम गर्न नआउन पनि उनले आग्रह गरे।

प्रवासी एकता समाज मञ्चका संयोजक शालिकराम पन्त र गुल्मी सेवा समाजका अध्यक्ष भीम कुँवरको टोली पनि पीडितको समस्या बुझ्न र सहयोग गर्न त्यहाँ पुगेको थियो। अलपत्र परेका नेपालीलाई नेपाल फर्काउनका लागि  छिटो पहल गरिदिन नेपाली दूतावासलाई आग्रह गरेको अध्यक्ष पन्तले बताए।

केही महिनाअघि बहराइनकै जीबीजेट कम्पनीमा अलपत्र परेका ४० जना नेपाली मजदुरहरूलाई नेपाली दूतावासले नेपाल पठाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.