|

दमौली : विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय गाभिएका छन्।

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नम्बर १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नम्बर ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण प्राथमिक विद्यालय गाभिएका हुन्।

व्यास नगरपालिका शिक्षा शाखाका अधिकृत रामेश्वर लामिछानेका अनुसार छाब्दीबाराहीलाई केशवटार माध्यमिक विद्यालयमा, भवानीलाई महेन्द्रज्योति माध्यमिक विद्यालयमा र अन्य विद्यालयलाई नजिकको बाल विकास केन्द्रमा गाभिएको छ।

विद्यालयमा १० भन्दा कम विद्यार्थी रहेका विद्यालयलाई नजिकको विद्यालयमा 'मर्ज' गरिएको उनले बताए। 'नगरपालिकाको नगर शिक्षा नियमावली र विद्यालय व्यवस्थापन समितिको सहमतिमा विद्यालय समायोजन गरिएको हो', उनले भने।

व्यास नगर शिक्षा ऐन, २०७५ को परिच्छेद २ मा तोकिएको पूर्वाधार पूरा नभएको, अधिकांश कक्षामा १० भन्दा कम विद्यार्थी सङ्ख्या भएको, दुई वा सोभन्दा बढी विद्यालयको परिसर एकापसमा जोडिएको, दुई वा सोभन्दा बढी विद्यालयबीचको पैदलदूरी ३० मिनेटभन्दा कम रहेको र दुई वा सोभन्दा बढी विद्यालयका व्यवस्थापन समितिले विद्यालय गाभ्न संयुक्त निवेदन दिएको खण्डमा विद्यालय समायोजन गर्न सक्ने प्रावधान छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.