परिवारकै दोहोरो नागरिकता

|

विराटनगर : घुम्ती शिविरमार्फत २०६३ सालमा जन्मका आधारमा बाँडिएका अंगीकृत नागरिकताधारीका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने या नदिने भन्ने विषयमा बहस भइरहेको छ। 

दोस्रो जनआन्दोलनपछि १२ वर्षमा नेपालमा एक लाख ९० हजार सात सय २६ जनालाई जन्मको आधारमा नागरिकता बाँडेको गृहमन्त्रालयको तथ्याङ्कमा छ।तथ्याङ्क अनुसार सबैभन्दा बढी झापामा २६ हजार चार सय ३०, मोरङमा २२ हजार ७ सय ४३ र सुनसरीमा २१ हजार पाँच सय ६७ जनाले जन्मको आधारमा नागरिकता लिएका छन्। 

तर भारतीय नागरिक छगनलाल शर्माले शिविरमार्फत होइन, ४२ वर्षअघि वंशजको आधारमा नागरिकता लिएको देखिन्छ। त्यतिमात्रै होइन उनका छोरा र बुहारीसमेतले भारतको र नेपालको दोहोरो नागरिकता लिएका छन्। 

सुनसरी सदरमुकाम इनरुवा बजारमा सुरज फैन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए। उनको  नेपालको नागरिकता नम्बर ६२५६\२७१९ हो भने भारतीय मतदाता परिचयपत्र नम्बर आइएक्सक्यू\०३३०५१९ हो। उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वार्ड नम्बर २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुइतल्ले घर छ। उक्त घर उनकी श्रीमती स्वर्गीय सुशिलादेवीको नाममा छ। सुशीलादवीले पनि नेपालको नागरिकता लिएकी थिइन्। 

२०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका छगनलालले २०२९४ नम्बरको  मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ। छगनलालले २०१७ मा राजस्थानको बेकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा उनले मतदान गरेको समेत भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ। त्यस्तै १६७१९७१ नम्बर मतदाता परिचयपत्र लिएका उनले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेको देखिन्छ। उनले भारतको रासनकार्डको सुविधा लिनुका साथै नेपालमा वृद्धभत्ता समेत खाइरहेका छन्।

उनको मात्रै होइन उनका तीन छोरा र उनीहरुका श्रीमतीको समेत दोहोरो नागरिकता देखिएको छ। छगनलालका छोराहरूले पनि वंशजको नागरिकता लिएका छन्। 

जेठा छोरा रमेशकुमारले पनि भारतीय रासनकार्ड र नागरिकता लिएका छन्। २०००००८५३८५ नम्बरको रासनकार्ड लिएका उनले पनि मगनलाल रामावतको पसल नम्बर २०२९४बाट रासन लिने गरेको देखिएको छ। साथै  १५४४६८७ नम्बरको नेपालको मतदाता परिचयपत्र लिएका रमेशले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेको देखिन्छ। ०३३०५३७ नम्बरको भारतीय मतदाता नम्बर रहेको उनले भारतको निर्वाचनमा समेत भाग लिएको देखिन्छ।

छगनलालका अर्का छोरा सुरेशको पनि २०००००१०८३५८ नम्बरको रासन कार्ड छ। उनले भने २०२९५ नम्बरको चेतनदास आचार्यको पसलबाट रासन लिने गरेको देखिएको छ। निर्वाचन आयोग नेपालको वेवसाइटमा उनको मतदाता परिचयपत्र १५४४६८८ नम्बरमा देखिन्छ। नेपालको निर्वाचनमा भाग लिएका उनले भारतका निर्वाचनमा पनि मतदान गर्ने गरेको देखिन्छ। भारतीय निर्वाचन आयोगको वेबसाइटमा ०३३०५५५ नम्बरमा उनको नाम छ। 

त्यस्तै उनका कान्छा छोरा आषिशको पनि दोहोरो नागरिकता छ। ०३३०५७३ नम्बरको भारतीय मतदाता परिचयपत्र लिएका आषिशको १६७१९६७ नम्बरको नेपाली मतदाता परिचय पत्र छ। वैवाहिक अंगीकृत नागरिकता लिएका सुरेश र रमेशका श्रीमती वीणादेवी र गायत्रीदेवीले पनि भारतको नागरिकता त्यागेका छैनन्। 

नेपालको नागरिकता ऐन २०६४ मा कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाखरुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ। झुठो विवरण दिई नागरिकता प्राप्त गरेको प्रमाणित भई सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने पनि उल्लेख छ। 

यस्तै कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई लाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय, झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने\गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उक्त ऐनमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.