|

दाङ : खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङले घोराहीको एउटा आइस जुस सेन्टरकाे उत्पादनमा रोक लगाएको छ।

घोराही उपमहानगरपालिका १५ बाल मन्दिरनजिकै रहेको पशुपति आइत जुस सेन्टरले अखाद्य पदार्थबाट उत्पादन गरिरहेको कार्यालयले फेला पारेपछि उत्पादनमा रोक लगाएको हो। घोराही उपमहानगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक सीता सिग्देल न्यौपाने र खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत विवेक बन्जारासहित विभिन्न सरोकारवाला पक्षका प्रतिनिधिले शुक्रबार अनुगमन गरी उक्त आइस तथा जुस सेन्टरलाई उत्पादनमा रोक हो।

आइस तथा जुस उत्पादनमा अखाद्य वस्तु प्रयोग गरेको, धाराको पानी प्रशोधन नगरी प्रयोग गरेको र अप्रशोधित विधिबाट उत्पादनहरू गरिरहेको फेला परेपछि सुधारेर मात्रै व्यवसाय सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको हो। खिया लागेको भाँडोमा विभिन्न प्रकारमा आइसहरू उत्पादन गर्दै आएको सेन्टरलाई उद्योग नविकरण गर्न समेत टोलीले निर्देशन दिएको छ।

अनुगमन टोलीमा उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा, जिल्ला प्रशासन, जिल्ला प्रहरी, होटल व्यवसायीका प्रतिनिधिको सहभागिता रहेको थियो। गर्मी मौसममा बढी प्रयोग हुने चिसो पदार्थको प्रयोगमा ध्यान नदिँदा अखाद्य वस्तु खानु परेको अवस्थालाई सुधार्न अनुगमन गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत बन्जाराले जानकारी बताए। त्यसैगरी सरकारले घोराहीका होटल मालाइन र सिटी प्लाजालाई थ्री स्टारको प्रमाणपत्र दिएको छ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले घोराहीका १० वटा होटलको अबस्थाका बारेमा गरेर अनुगमनपछि अतिउत्तम श्रेणीमा मालाइन र सिटी प्लाजा परेका हुन्। मालाइन होटलका सञ्चालक ओविन्द्र महरालाई र होटल सिटी प्लाजा थ्री स्टारको लोगोसहित प्रमाणपत्र प्रदान दिएको छ। होटल तथा रेष्टुरेन्टहरूको चौतर्फी व्यवस्थापकीय पक्षलाई हेरेर स्तरीकरण गरिएको हो।

विभिन्न पक्षलाई समेटिएका ५० सूचकका आधारमा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा वर्गीकरण गरिने अधिकृत बन्जाराले बताए। ९० भन्दामाथि अंक ल्याउने अतिउत्तम, ८० देखी ८९ सम्म अंक ल्याउने उत्तम, ६५ देखि ७९ सम्म अंक ल्याउने सन्तोषजनक र ५० देखि ६४ अंक सम्म ल्याउनेलाई सामान्य अवस्थामा वर्गीकरण गरिने नीति रहेको छ।

होटल मालाइनले ९२ र सिटी प्लाजाले ९० अंक ल्याएका थिए। त्यसैगरी होटल डोको, भिंग्रेली भिलेज, ग्रिन भ्याली, मनकामना, माउण्ट एभरेष्ट, होटल म्याजिष्टिक र साइनो होटलको पनि अनुगमन गरिएको छ। अतिउत्तम हुन नसकेका होटल तथा रेष्टुरेन्टलाई सुधार गर्नका लागि निवेदन दिएर एक महिनाको समय दिने समेत व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.