|

काठमाडौं : सरकार छाड्ने निर्णयबाट एक्कासी हटेर एमालेसँग वैशाख २३ गते ९ बुँदे सहमति गरेको नेकपा माओवादी केन्द्रले फेरि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सरकार परिवर्तनको विषयमा छलफल थालेको छ। डेढ महिनासम्म ९ बुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्ट माओवादी केन्द्र कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा लागेको छ। 

सरकारमा बसिराख्ने वा छाड्ने भन्ने विषयमा छलफल गर्न माओवादी केन्द्रले शनिबार दिउँसो कार्यालय समितिको बैठक बोलाएको छ। स्रोतका अनुसार पार्टीका दोस्रो तहका नेताको दबाबका कारण अध्यक्ष प्रचण्डले सरकारबारे निर्णय लिने तयारी गरेका छन्। 

माओवादी केन्द्रका नेता जनार्दन शर्माले शनिबार बस्ने बैठकले ९ बुँदे सहमति र राष्ट्रिय सहमतिको सरकारका विषयमा पार्टीले गम्भीर निर्णय गर्ने बताउँछन्। ‘नौं बुँदे सहमति कार्यान्वयन नभए हामी बजेट पास हुन दिन्नौँ, यो विषयमा पार्टीको शनिबार बस्ने बैठकमा थप छलफल हुन्छ’ उनले थाहा खबरसँग भने ‘नौँ बुदे सहमति कार्यान्वयनका साथै राष्ट्रिय सहमतिको सरकार निम्ति हाम्रो पार्टीले गम्भीर निर्णय गर्छ।’ 

सरकार छाड्न ठिक्क परेको माओवादी केन्द्र वैशाख २३ गते नेकपा एमालेसँगको ९ बुँदे सहमति भएपछि सरकारमै रहेको थियो। ९ बुँदे सहमतिको बुँदा नम्बर ३ मा 'विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप संक्रमणकालिन न्यायसम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिनभित्र कानुन संशोेधनसहतिका प्रक्रिया अघि बढाउने' बुँदा उल्लेख भएपनि त्यस अनुसार काम हुन नसकेकोमा माओवादी असन्तुष्ट छ। 

‘९ बुँदे सहमति कार्यान्वयन गर्न हामीले जेठ मसान्तसम्मको समयसीमा दिएका थियौं तर उहाँहरुले पछि १५ असारसम्मको समयसीमा मागेपछि हामीले त्यतिन्जेलसम्म पर्खने कुरा भएको थियो’ माओवादी नेता वर्षमान पुनले भने, ‘द्वन्द्वकालीन मुद्दा, शान्तिप्रक्रिया लगायतका विषयलाई निकास दिनुका साथै संविधान कार्यान्यन र राष्ट्रिय एकता कायम गर्न राष्ट्रिय सहमतिको सरकार निर्माण हुन्छ यो हाम्रो पार्टीको एजेण्डा नै हो।’

त्यसैले द्वन्द्वकालीन मुद्दाका विषयमा कांग्रेससँग ‘नयाँ’ सहमति भएमा सरकार जतिसक्दो चाँडो बदल्ने कांग्रेस–माओवादीको तयारी छ। उच्च स्रोतका अनुसार प्रचण्ड र देउवाबीच आवश्यक सहमति जुटाउन माओवादी नेता वर्षमान पुन र कांग्रेस नेता विमलेन्द्र निधि सक्रिय रुपमा लागेका छन्। 

खुला रुपमा भने उनीहरुले यो विषय सार्वजनिक गरेका छैनन्। देउवाको निकट रहेका कांग्रेस नेता निधि अहिलेकै अवस्थामा माओवादी केन्द्रसँग सरकार परिवर्तनको विषयमा कुनै छलफल नहुने बताउँछन्। माओवादी सरकारबाट बाहिरिने स्पष्ट विश्वास नदिलाएसम्म छलफल नहुने उनको भनाइ छ।

‘माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाई खुला रुपमा सरकार परिवर्तनको छलफलमा जुटेमा हामी पनि छलफलमा बस्छौँ, एमालेसँगको गठबन्धन कायम रहे माओवादीसँग कुनै छलफल हुँदैन’ थाहा खबरसँग निधिले भने। स्रोतका अनुसार निधिले कांग्रेस सभापति देउवाको आधिकारिक धारणा बुझी माओवादीसम्म पुर्याँउने काम गरिरहेका छन्। 

कांग्रेस नेता निधि र माओवादी केन्द्रका नेता पुनले मधेसवादी दलहरुसँग पनि सरकार परिवर्तनको विषयमा छलफल गरिरहेका छन्। यसबीचमा प्रचण्ड र देउवाले पटक पटक भेट गरेका छन्। उनीहरुबीच अबको सरकारको नेतृत्वको विषयमा पनि कुराकानी भएको श्रोत बताउँछ। तर कसले नेतृत्व गर्ने भन्ने विषय प्रष्ट भइसकेको छैन। बिहीबार नेपालगञ्ज पुगेका प्रचण्डले जसको नाममा सहमति हुन्छ उसैले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने बताएका थिए। 

सत्ता गठबन्धनभित्र खटपट

सरकार बदल्न सत्तारुढ दल माओवादीको सक्रियता बढेपछि सत्ता गठबन्धनभित्र खटपट बढेको छ। माओवादीले ‘राष्ट्रिय सरकार’ को नाममा सरकार बदल्ने खेल खेलेको भन्दै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली माओवादीसँग रुष्ट छन्। एमाले–माओवादीका दोस्रो तहका नेताले तयार पारेको ‘ड्राफ्ट’ मा २३ वैशाखको मध्यरातमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए। त्यस क्रममा नीति तथा कार्यक्रम र बजेट पारित भएपछि सरकारको नेतृत्व माओवादीलाई दिने भद्र सहमति भएको भनिएपनि एमाले र प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.