|

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालू आर्थिक वर्षका लागि विपन्न उपचार कोषमा नपुगेको बजेट खर्च नहुने कार्यक्रमबाट रकमान्तर गरी मिलाउने तयारी गरेको बताइएको छ।

कोषका लागि चालू आर्थिक वर्षमा छुट्याइएको बजेट पहिलो चौमासिकमै सकिएपछि विपन्न उपचार सेवाको लागि उपचार गर्दै आएका सूचीकृत अस्पतालहरूलाई  मन्त्रालयले अन्य कार्यक्रममा फ्रिज भएको बजेट रकमान्तर गर्न लागेको हो।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकाले जनाएको छ। महाशाखाअन्तर्गत रहेको विपन्न नागरिक औषधि उपचार सहायता कोषका फोकल पर्सन डा माधव लम्सालका अनुसार सो कार्य अगाडि बढिसकेकाले अब चाँडै अस्पतालहरूमा दिन बाँकी रहेको रकम दिनेसमेत बताए। उनले भने, ‘रकमान्तर गरेर अस्पतालहरूलाई दिन बाँकी रकम दिने कार्य अगाडि बढेको छ।‘

शाखाका अनुसार मंसिरदेखि फागुनसम्ममा ७८ करोड ७७ लाख  १९ हजार ७४६ नागरिकको नाम उपचार खर्च सूचीकृत अस्पताललाई भुक्तानी गर्न बाँकी छ। चालू आर्थिक वर्षको वैशाख, जेठ र असारका लागि थप एक अर्ब ९१ करोड १५ लाख २७ हजार २६५ बजेट अपुग रहेको छ। स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ।

सरकरारले विपन्न नागरिकलाई आठवटा कडा रोगको उपचारमा सहुलियत दिँदै आएको छ। ती कडा रोगमा मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकल सेल एनिमिया रहेका छन् । कोषले मिर्गौलाबाहेक अरू रोगको उपचार सूचीकृत अस्पतालमा गरेमा १ लाखसम्म सहुलियत दिने गरेको छ।

मिर्गौलामा भने डायलासिस नि:शुल्क, प्रत्यारोपणका लागि बढीमा ४ लाख ५० हजार र त्यसपछि औषधि उपचारका लागि नगद १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। गत मंसिरदेखि ती रोगको उपचार गरिरहेका सूचीकृत अस्पतालले रकम भुक्तानी पाएका छैनन्।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार सरकारले चालू आर्थिक वर्षको बजेटमा विपन्‍नलाई दिइने कडारोगको उपचार सहुलियतका लागि १ अर्व १० करोड ५४ लाख रुपैयाँ छुट्याएको थियो।

सरकारले सुरूमा विभिन्न आठ कडा र खर्चिला रोगको उपचारमा सहायतास्वरुप रकम दिँदै आएको थियो। तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले बढाएर ११ पुर्‍याएका थिए। विपन्न नागरिकको निस्शुल्क उपचार गर्न सूचीकृत देशभरका ६९ वटा अस्पतालबाट सेवा लिनसक्‍ने व्यवस्था छ।

  हाल देशभरका ४१ अस्पतालमा मिर्गौला, १० अस्पतालमा क्यान्सर, सिकलसेल एनिमिया, ९ अस्पतालमा मुटु, स्पाइनल इन्जुरी तथा हेड इन्जुरी, ५ अस्पतालमा अल्जाइमर्सका साथै पार्किन्सन्स रोगको उपचार सेवा दिने व्यवस्था छ।  मिर्गौला, मुटु, क्यान्सर, स्पाइनल तथा हेड इन्जुरी, अल्जाइमर्स, पार्किन्सन्स र सिकलसेल एनिमिया गरी आठ प्रकारका रोगको बिरामीलाई विपन्न नागरिक औषधि उपचार  कार्यक्रममार्फत नि:शुल्क उपचारको व्यवस्था सरकारले गरेको छ।

विपन्नहरूले सहायता रकम मिर्गौला डायलसिस मिर्गौला प्रत्यारोपण प्रत्यारोपणपश्चात् पाउँछन्। मुटुरोग, क्यान्सर, टाउको र स्पाइनलको चोटपटक अल्जाइमर तथा पार्किन्सस सिकलसेल एनिमिया  मिर्गौला डायलसिसका लागि एकपटकको २५ सय रुपैयाँका दरले दुई वर्षसम्म ५ लाख २० हजार सहयोग पाउन सकिन्छ।

यसैगरी, मिर्गौला प्रत्यारोपणका लागि २ लाख र प्रत्यारोपणपश्चात् औषधिका लागि एक वर्षसम्म एक लाख रुपैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ। मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक, अल्जाइमर पार्किन्सस, सिकलसेल एनिमिया रोगका लागि बढीमा एक लाख रुपैयाँसम्म उपचार सहायता प्राप्त गर्न सकिन्छ।

यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउन सकिन्छ। गत फागुन सम्ममा यो आर्थिक वर्षमा ३५ हजार ३ सय ६२ भन्दा बढीले विपन्न उपचार सेवा लिइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.