|
प्रतीकात्मक तस्विर

काठमाडौं : नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य संख्यामा बढ्दै गएको देखाएको छ।

राजधानी काठमाण्डौंमा आइतबार आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्तरक्रियामा महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले यस्तो बताएका हुन। उनले गाँजा चरेस सेवन लगायत सामाजिक विकृति, समाजिक सञ्जालको बढ्दो दुरुपयोग लगायत कारणले हिंसाजन्य घटनामा वृद्धि गरेको बताए। उनले हत्या, हिंसा र बलात्कारका घटना गत सालको भन्दा दोब्बर बृद्धि भएको बताए। उनले निर्मला पन्त प्रकरण पछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्ने लगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भए पनि त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको बताए।

प्रमुख सुवेदीले पछिल्लो समय पेशेवर अपराधीबाट हुने अपराध भन्दा सामाजिक विकृतिको कारणले श्रृजित अपराध बढेको बताए। उनले ५०० हत्याका घटनामा गरेको विश्लेषणमा  १५३ वटा घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाइएको बताए। सामाजिक सञ्जालको दुरुपयोगले पनि हत्या हिंसाका घटना बढाएको अध्ययनले देखाएको छ। उनले ४० प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण भएको पाइएको सार्वजनिक गरे।

सुवेदीकाअनुसार बलात्कारजन्य घटनाको प्रवृत्तिमा पनि फरक आएको छ। उनले पछिल्लो समय बलात्कारजन्य घटनामा ६४ प्रतिशत पीडित १८ वर्षभन्दा मुनिका बालिका भएको र उनीहरू घरपरिवार, नातागोता, छिमेकी , सहकर्मी , शिक्षक लगायतबाट नै बलात्कृत हुने गरेको बताए। उनकाअनुसार यसअघि १६ वर्षभन्दा माथिका उमेर समूहका बालिकामाथि बलात्कार दर बढ्दो थियो।

शान्ति सुरक्षा स्थापनाका लागि प्रहरी एक्लैले मात्रै केही गर्न नसक्ने भन्दै अपराधको प्रकृति र प्रवृत्ति हेरेर समुदायमा आधारित कार्यक्रम मार्फत जनचेतना फैलाउने काममा सहयोग गर्न सबै वर्ग र समुदायलाई सुवेदीको आह्वान थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.