|

काठमाडौं  : विद्यालय एक शान्तिक्षेत्र हो। विद्यालय र वडा कार्यालय सँगसँगै भएर रहन सक्दैन। यो उच्च पदाधिकारीलाई समेत थाहा भएकै कुरा हो तर थाहा हुँदा हुँदै पनि गौशालास्थित नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयको जग्गामा काठमाडौं महानगरपालिकाले वडा कार्यालय बनाउने भन्दै डोजर चलाएको छ।

काठमार्डौं महानगरपालिकाले विद्यालयको जग्गामा अतिक्रमण गरी वडा कार्यालय बनाउने भन्दै वैशाख ३१ गते डोजर चलाएको हो। उक्त जग्गामा महानगरको मेयर विद्यासुन्दर शाक्यले जेठ २ गते भवन शिल्यानास समेत गरेका छन् तर विद्यालयका प्राचार्य, शिक्षक, कर्मचारी कसैलाई पनि थाहा नै नदिई उक्त कार्य गरिएको विद्यालय परिवारको गुनासो छ।

विद्यालयका प्रध्यानध्यापक केशवप्रसाद अधिकारीले महानगरले डोजर लगाएर विद्यालयको जग्गा अतिक्रमण गर्दा समेत आफूलाई केही थाहा नभएको बताए। उनले भने, ‘विद्यालयको जग्गामा डोजर चलेपछि वडा कार्यालय बनाउन लागेको भन्ने त सुनियो तर हामीलाई कतैबाट आधिकारी पत्र आएको छैन, महानगरले हामीलाई कुनैपनि जानकारी गराएको छैन।’

नेपाल वेद विद्याश्रममा जस्तो नेपालका अन्य कुनै पनि विद्यालयमा पठनपाठन हुँदैन। प्राचीन समयदेखि संस्कृत भाषा पढाउँदै र संस्कृत भाषालाई जोगाउँदै आएको हुनाले यसको संरक्षण सबै मिलेर गर्नुपर्ने प्रा.अधिकारी बताउँछन्। विद्यालयको हाताभित्र वडा कार्यालय बनाएपछि उक्त कार्यालयमा जूनसुकै नियतका मानिस पनि आउन सक्छन्, विद्यालय नै शान्त र सुरक्षित वातावरणमा नभएपछि विद्यार्थीलाई हामी कसरी राम्रो शिक्षा दिन सक्छौ? उनको प्रश्न उठेको छ।

विद्यालयमा विद्यार्थीको लागि छात्रावासको समेत सुविधा छ। त्यही छात्रावासको पछाडी उत्तरतर्फको एक रोपनी जग्गा कब्जा गरेर महानगरले डोजर चलाएको थियो। विद्यालयको जग्गा कब्जा गरी महानगरले भवन बनाउनु उचित नभएको भन्दै विद्यालयले शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानमा उजुरी दिएको छ।

विद्यालयका कर्मचारी तथा विद्यार्थीले विरोध गर्दागर्दै पनि जग्गा अतिक्रमण गरी भवन शिलन्यास गरिएको विद्यालयका शिक्षक मनोज घिमिरे बताउँछन्। डोजर लगाउँदा विद्यालयमा आउने पानीको पाइप नै टुटेको छ, उनले भने, ‘पानीको पाइपसँगै टेलिकमको लाइन पनि काटिएको छ, अहिले हामी सञ्चारविहीन अवस्थामा बस्न बाध्य छौं।’ उनले यस विषयमा महानगरलाई पत्राचार गरिसकेको तर कुनै प्रतिक्रिया नआएको बताए।

विद्यालयमा अहिले केही समयको लागि अस्थायी पाइप जडान गरेर पानी उपलब्ध गराइएको छ। विद्यालयको जग्गामा कसैसँग सल्लाह नै नगरी भवनको लागि डोजर लगाउनु, विद्यार्थीले विरोध गर्दागर्दै पनि मेहरले भवनको शिलन्यास गर्नु अमानवीय र अभद्र व्यवहार भएको शिक्षक बताउँछन्। विद्यालय र वडा कार्यालय कुनै पनि अवस्थामा एकमत भएर बस्न नसक्ने हुँदा उक्त कार्यमाथि रोक लगाउनुपर्ने शिक्षकहरुको भनाइ छ।

विद्यालयलाई अर्को जग्‍गा दिन्छौँ : वडा अध्यक्ष डंगोल

विद्यालयको जग्गामा डोजर लगाएको विषयमा वडा नम्बर ८ का अध्यक्ष दिनेशकुमार डंगोलले विद्यालयलाई अर्को जग्‍गा दिने सहमति भएको बताए। थाहा खबरसँग उनले भने, 'उक्त विद्यालयको जग्गामा वडा कार्यालय बनाएबापत विद्यालयलाई अर्को जग्गा दिने सहमति भएको बताएको छ। उनले वडा कार्यालय र कोषको लेनदेनका क्रममा त्यस जग्गामा भवन निर्माण गर्न लागेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.