पेस्तोलसहित एकजना पक्राउ

|

भोजपुर : भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । जिल्लाको ट्याम्के-मैयुम गाँउपालिका-१ स्थित धोद्रे जंगलमा प्रहरी र विप्लवका कार्यकर्ताबीच मुठभेट भएको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुर र १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरीको गस्ती  टोली र विप्लवका कार्यकर्ताबीच मुठभेट भएको हो । त्यसक्रममा प्रहरीले गोली चलाएर विप्लवका एकजना कार्यकर्तालाई पेस्तोलसहित पक्राउ गरेको छ।

करिब १५ जनाको संख्यामा रहेका हतियारधारी विप्लवका कार्यकर्ता र प्रहरीबीच ज‌ंगलमा झडपको अवस्था भएको हो । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हतियारधारी समूहलाई रोक्न खोज्दा एकजनाले गोली चलाउन खोजेका थिए। 

अन्य हतियारधारी भागे पनि कम्मरमा भिरेको पेस्तोल निकालेर फायरिङ गर्न खोजेको प्रहरीले जनाएको छ। प्रहरीको तर्फबाट जवाफी फायरिङ गर्ने क्रममा भोजपुरको षडानन्द नगरपालिका-२ बस्ने ३२ वर्षीय तीर्थराज घिमिरेलाई पक्राउ गरिएको हो ।

प्रहरीले घिमिरेको बाँया खुट्टामा गोली हानेको छ । उनको साथबाट एकथान कटुवा पेस्तोल, त्यसमा लाग्‍ने गोली ५ थान, लामो बाइनाकुलर एक थान, डेटोनेटर ४ थान, डेटोनेटर कर्ड करिब २० मिटर र बारुद बरामद गरेको छ।

घिमिरेको साथबाट नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ती, पर्चा, पम्प्लेटसमेत बरामद भएको छ । उनलाई उपचारार्थ सदरमुकामतर्फ ल्याइँदैछ। भागेका अन्य हतियारधारीलाई खोजी तीब्र पारिएको प्रदेश कार्यालयको विज्ञप्तिमा उल्लेख छ। हतियार नै भिरेर स्थानीयलाई त्रसित बनाएको सूचना पाएपछि त्यहाँ जिल्ला र प्रदेश प्रहरी कार्यालको संयुक्त टोलीले गस्ती गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.