|

बैतडी : विभिन्न घटना तथा दुर्घटनामा परी बैतडीमा एक हप्ताको अवधिमा १० जनाको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी  पाँचजनाको सवारी दुर्घटनामा मृत्यु भएको  बैतडीका प्रहरी प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए। यस्तै, तीनजनाको आगोमा जलेर मृत्यु भएको छ भने दुईजनाले आत्महत्या गरेका छन्। जेठ ४ गते शनिबारदेखि जेठ ९ गते बिहीबारसम्मको प्रहरी तथ्यांकले उक्त संख्यामा मृत्यु भएको हो।

बिहीबार गुडिरहेको जिपबाट हाम फाल्दा पञ्चेश्वर गाउँपालिका ६ का ४० वर्षीय राज कोलीको मृत्यु भएको हो। बिहीबार बेलुका गिरेगडाबाट देहीमाण्डौंतर्फ आइरहेको म१ज ११९ नम्बरको जिपको पछाडी सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइडदिन जिप ब्याक गर्दा हाम फालेको बताइएको छ।

जेठ ८ गते राति आगोमा जलेर  पुर्चौडी नगरपालिका ५ कुवाकोटका  ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको मृत्यु भएको छ।  पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका र राती टहरोमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। 

जेठ ६ गते रूखमा झुण्डिएर दशरथचन्द नगरपालिका १ गुरुखोलाकी २२ वर्षीया रञ्जु भट्टले आत्महत्या गरेको प्रहरीले जनाएको छ।  

जेठ ५ गते  दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा जिप दुर्घटनामा  दशरथचन्द नगरपालिका वडा नं १० बाराकोटका अन्दाजी ६० वर्षीय हिराबल्ल भट्ट, उनका सहोदर भाइ अन्दाजी ५३ वर्षीय लालमणी भट्ट, सोही ठाउँका अन्दाजी ५० वर्षीय नारुली भट्टको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका  दशरथचन्द नगरपालिकाका १० कै ४५ वर्षीय प्रकाश भट्टको उपचारका क्रममा मृत्यु भएको थियो। 

आत्महत्या गर्ने बढ्दै

जेठ ४ गते  विष सेवन गरी पाटन नगरपालिका १० हतासका ७५ वर्षीय प्रमानन्द भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यसैबीच, जेठ १ गतेदेखिको तथ्यांक हेर्ने हो भने बैतडीमा ११ जनाको मृत्यु भएको छ।  जेठ १ गते मेलौली नगरपालिका ७ बनालीकी १९ वर्षीया सावित्री चन्द पनि झुण्डिएकी अवस्थामा फेला परेकी थिइन्। 

यो तथ्यांकलाई हेर्दा बैतडीमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढी छ। सवारी दुर्घटना बढीजसो चालककै लापरबाहीले हुने गरेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक नियममा कडाइ तथा प्रहरीले चालकलाई सचेतना कक्षा दिँदै आएको भए पनि सवारी दुर्घटनामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलको भनाइ छ।

यसका साथै आत्महत्याका घटना पनि बढी देखिएका छन्।  व्यक्तिगत कारण, मानसिक समस्या, सञ्चार प्रविधिको दुरुपयोग लगायतका कारणले आत्महत्याका घटना बढ्दै गएका प्रहरीको भनाइ छ। 

आत्महत्याको घटना वृद्धि भएकोले प्रहरीले जिल्लाका विभिन्न विद्यालयका सचेतनाका कार्यक्रम सञ्चालन गर्नुका प्रहरी युनिटहरूबाट पनि जनचेतना जगाउने कार्य जारी राखेको प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.