काठमाडौं-पोखरा निशुल्क बस सेवा

|
फाइल तस्बिर

पोखरा : जुन ३ मा पोखरा आउने फ्रान्सेली पर्यटकले नि:शुल्क खाने बस्ने सुविधा पाउने भएका छन्। संसारकै जेठो हिमालको नाम पाएको अन्नपूर्ण हिमाल (८०९१) को सफल आरोहण भएको दिनको सम्झनामा पोखराका पर्यटन व्‍यवसायीले फ्रान्सेली पर्यटकलाई यो सुविधा दिने भएका हुन्।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग सहितको टोलीले पहिलोपटक अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको सम्झनामा जुन ३ लाई अन्नपूर्ण आरोहण दिवसको रुपमा मनाइँदै आएको छ। जुन ३ मा मौरिस हर्जोगको टोलीले ८ हजार मिटर भन्दा अग्लो हिमाल पहिलो पटक आरोहण गरी विश्व कीर्तिमान रचेका थिए। 

अन्नपूर्ण हिमालको सफल आरोहण पछि नै पोखरा र अन्नपूर्ण सेरोफेरोमा पर्यटकको चहलपहल बढेकोले यस वर्ष जुन ३ मा पोखरा आउने फ्रान्सेली पर्यटकलाई खान बस्न निशुल्क ब्यवस्था गरिएको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भूजेलले जानकारी दिए। ‘टानले विगतका वर्षहरूदेखि नै जुन ३ लाई अन्नपूर्ण डे को रुपमा मनाउँदै आइरहेकै छ’ अध्यक्ष भूजेलले भने, ‘संसारकै १० औं अग्लो तर पहिलो पटक सफल आरोहण भएको दिनलाई हामीले विर्सिन हुँदैन भनेर हामीले यस पटक टुगेदर फर टुरिजम भन्ने नाराका साथ मनाउन लागेका हौँ।’

उनले जुन ३ मा काठमाडौँबाट पोखरा आउने फ्रान्सेली पर्यटकलाई निशूल्क बस सेवा तथा पोखरामा खाना र बास सेवा रहेको पनि बताए। ‘नाटाले त्यो दिन पोखरा आउने फ्रान्सेली पर्यटकलाई निशुल्क ल्याउँछ’ उनले भने, ‘पोखरा आएपछि स्वागत सत्कार गरी बासको लागि लगिन्छ।’ त्यस्तै जुन ३ मा हवाई यातायातको माध्यमबाट पोखरा आउने फ्रान्सेली पर्यटकले पनि नि:शुल्क खाने बस्ने सुविधा पाउनेछन्।

राहदानी हेरेर उनीहरूलाई बास बसाइने छ। त्यस्तै जुन ४ मा तिनै फ्रान्सेली पर्यटकलाई दिवा खाजाको ब्यवस्था रेवान पश्चिमाञ्चलले गर्ने छ। त्यस्तै अग्रिम बुकिङ गरेर जुन ३ मा पोखरा आउने फ्रान्सेलीले पनि यो सुविधा पाउनेछन्। टान पश्चिमाञ्चलले अन्नपूर्ण डेको पूर्व सन्ध्यामा कास्कीकै याङ्जाकोटमा रहेको होम स्टेमा विभिन्न कार्यक्रम गरेर उत्सव मनाउने छ।

यसबारे टान पश्चिमाञ्चलले पर्यटन बोर्डमार्फत फ्रान्सेली राजदूतावासमा पनि यसबारे जानकारी गराएर फ्रान्सेली पर्यटकलाई पोखरा आउने वातावरण बनाइने भूजेलले बताए। पछिल्लो समय पोखरा र अन्नपूर्ण पेरिफेरिमा फ्रान्सेली पर्यटकको बाक्लो उपस्थिति रहने गरेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.